२०८२ मंसिर ७ गते आइतवार / Nov 23 , 2025 , Sunday
२०८२ मंसिर ७ गते आइतवार
Ads

तारमुक्त हुँदै काठमाडौंका सडक

shivam cement
सपना बोहरा
२०८२ मंसिर ७ गते ०६:३०
Shares
तारमुक्त हुँदै काठमाडौंका सडक

काठमाडौं : काठमाडौं उपत्यकाका सडकहरू भद्रगोल अवस्थामा छरिएका विद्युतीय तारबाट मुक्त हुँदै गएका छन् ।  पोलमा जथाभावी बटारिएका तारले कुरूप देखिएको काठमाडौंका विभिन्न स्थान पछिल्लो समय तारमुक्त हुँदै गएको हो ।  

तारमुक्त भएसँगै सहरको सौन्दर्यमा छुट्टै रौनक देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सहर सफाइ अभियान’ चलाएको थियो ।  

उज्यालो सहर अभियानअन्तर्गत प्राधिकरणले काठमाडौंसहित ललितपुर, भक्तपुरका मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) सञ्चालनमा ल्याएको छ । 

स्मार्ट लाइट जडान योजनाअनुसार काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत टेकु, त्रिपुरेश्वर, सुन्धारा, जमल, लैनचौर, नयाँ बजार, गल्खुपाखा, सोह्रखुट्टे, नयाँ बजार, लाजिम्पाट, थापाथली, रातोपुल, धोबीखोला कोरिडोरमा स्मार्ट लाइट जडान भएको छ । 

त्यस्तै, विष्णुमती क्षेत्रमा कोरिडोर, सेतोपुल, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, बागबजार, रत्नपार्क, नागपोखरी, नक्साल, टंगाल, गैरीधारा, ठमेल, न्युरोड, तिनकुने, एयरपोर्ट, गौशाला, मित्रपार्क, चाबहिल, चुच्चेपाटी, महांकाल, कोटेश्वर, जडीबुटीलगायतका क्षेत्रका केहीबाहेक अधिकांश ठाउँहरूमा स्मार्ट  लाइट जडान भएको नेपाल विद्युत् प्रधिकरणले जनाएको छ ।

परियोजनाले त्यसमध्ये २ सय ८० किलो मिटरमध्ये २ सय ७६ किलोमिटरमा उच्च भोल्टेज जडान गरेको जनाएको छ । त्यस्तै, ३ सय ८२ किलोमिटरमध्ये ३ सय ५९ किलोमिटरमा कम भोल्टेज लाइट जडान गरेको छ । प्राधिकरणका प्रमुख सुमन श्रेष्ठका अनुसार न्युरोड, जुद्ध शालिकदेखि इन्द्रचोक, चुच्चेपाटीदेखि महांकाल हुँदै रामहिटीसम्म उच्च र कम भोल्टेजको लाइट सञ्चालनमा आएको छ ।

त्यस्तै कोटश्वर चोकदेखि जडीबुटी पेट्रोल पम्पसम्म सडक विस्तारका लागि उच्च भोल्टेजको लाइट सञ्चालनमा आएको छ । धाप ड्यामका लागि भने चिसापानीदेखि ड्यामसम्म, धोबी खोला कोरिडोरको केही एरिया, लैनचौरदेखि पानी पोखरी, लैनचौरदेखि गौरीधारा, लैनचौदेखि बालाजुसम्म, नयाँ बजार खुसिबु क्षेत्र, चाबहिलदेखि चुच्चेपाटीसम्म, टेकुदेखि त्रिपुरेश्वर, विष्णुमती कोरिडोर क्षेत्रमा सञ्चालनमा आएको परियोजनाले जनाएको छ । 

ललितपुर–भक्तपुरअन्तर्गत अरणीको हाइओदेखि बिपी राजमार्गसम्म ७० प्रतिशत कामसम्म भइसकेको ललितपुर–भक्तपुर दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख सुमन श्रेष्ठले जानकारी दिएका छन् । चालु आर्थिक वर्ष असार मसान्तसम्म काम सम्पन्न भइसक्ने उनले बताए । यस क्षेत्रमा भने योजना सम्झौता भएको पाँच वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन । 

काठमाडौं उपत्यका खरिबोट, भक्तपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको छ । कृतिपुर कोटेश्वर, बानेश्वर, बालाजु, जोरपाटी महाराजगन्ज, रत्नपार्क क्षेत्रका १ सय १० किलो मिटर सडकमा स्मार्ट जडान बत्ती सञ्चालनमा ल्याएको छ । 

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

पालिकाहरूको ६० प्रतिशत र प्राधिकरणको ४० प्रतिशत लगानी अनुपातमा स्मार्ट लाइट जडान भइरहेको छ । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा सडक बत्ती जोडिरहेको छ ।

प्राधिकरणका अनुसार हालसम्म ९६ प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । 

सुरक्षित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्नु, वितरण प्रणालीको स्तरोन्नति गर्नु, प्रविधिको प्रयोग गरी सेवा सुधार गर्नु तथा उपभोक्ताको गुनासो समाधान गर्न स्मार्ट लाइट जडाज गरेको छ । स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत् प्राधिकरणमै राखिएको छ । कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रूपमा बल्ने र निभ्ने भएकाले विद्युत् खपत पनि कम हुने प्राधिकरणले जनाएको छ ।

आयोजनाका प्रमुख श्रेष्ठका अनुसार सडकमा सोलार वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिने र मध्यरातमा कम र साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् । स्मार्ट लाइट जडानका क्रममा सडकमा भएका पोल तथा तार चाँडै नै व्यवस्थित गर्ने प्राधिकरणले जनाएको छ । 

ADV

सम्बन्धित खबर