२०८२ मंसिर ३ गते बुधवार / Nov 19 , 2025 , Wednesday
२०८२ मंसिर ३ गते बुधवार
Ads

बालाचतुर्दशीको सांस्कृतिक महत्व

shivam cement
विश्वनाथ खरेल
२०८२ मंसिर ३ गते ०६:००
Shares
बालाचतुर्दशीको सांस्कृतिक महत्व

प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीमा मनाइने बालाचतुर्दशी नेपाली समाजमा अत्यन्त महत्वपूर्ण र मौलिक पर्वका रूपमा स्थापित भएको छ । बालाचतुर्दशीको पशुपतिनाथसँगको सम्बन्ध हिमवत्खण्ड, नेपाल माहात्म्य र शिवपुराणजस्ता ग्रन्थमा उल्लेखित छ । हिमवत्खण्डको ४२औं अध्यायमा वर्णनअनुसार, भगवान् शिव मृगरूप धारण गरी जहाँजहाँ विहार, भोजन, निद्रा तथा विचरण गर्नुभयो, ती सबै स्थान पुण्यक्षेत्र भए । ती स्थानमा सप्तधान्य (शतबिज) छर्दा–एक गेडा धान छर्दाको फल एक रत्ति सुवर्ण दान गरेबराबर हुन्छ भनी हरिणेश्वर शिवले आकाशमार्गबाट बताएको उल्लेख पाइन्छ । यही कारणले बालाचतुर्दशीको पशुपतिक्षेत्रसँगको सम्बन्ध अत्यन्त पवित्र मानिन्छ ।

शतबिज छर्ने परम्परा प्रायः दिवंगत आफन्तहरूको चीरशान्ति, कल्याण र पुण्य प्राप्तिको कामनासहित गरिन्छ । तीन वर्षसम्म लगातार शतबिज छर्ने र तेस्रो वर्षमा ‘चर्तुष्ठी’ गरी होम गर्ने परम्परा आजसम्म प्रचलित छ । जनश्रुतिअनुसार, भगवान् शिव मृगरूप धारण गरी कैलाशबाट श्लेष्मान्तक वनमा आई धेरै वर्ष बिते । देवी पार्वतीलगायत देवदेवी उनलाई नदेखेर चिन्तित भए । दिव्यदृष्टिबाट हेर्दा–शिव मृगरूपी भएर पशुपतिक्षेत्रको वनमा विचरण गरिरहनुभएको थाहा भयो । शिवरूपी मृगलाई चिन्न देवी पार्वतीले विभिन्न बिउ छर्नुभयो । केही समयपछि बिउ उम्रिएर हरियो घाँस भयो । घाँसको लोभमा आएका मृगहरूमध्ये शिवलाई चिन्न सजिलो भयो । यही प्रसंगबाट सरु भएको शतबिज छर्ने परम्परा कालान्तरमा जीवन–संस्कृति बन्यो र आजसम्म अविच्छिन्न रहँदै आएको छ ।

शतबिज के हो ?

शतबिजमा सामान्यतः सात प्रकारका अन्न–बिज तथा कन्दमूलहरू पर्दछन्–

गहुँ, सस्र्यु (काँटेदार गहुँ), मकै, जौ, धान, बयर, अमला, साथै अन्य फलफूल तथा कन्दमूलका साना टुक्राहरू । नेपालका विभिन्न भागहरू र भारतबाट समेत तीर्थालुहरू पशुपतिनाथमा आएर शतबिज छर्ने गर्दछन् । त्रयोदशीका दिन तीर्थालुहरू पशुपति क्षेत्रमा रातभर महादीप बालेर बस्छन् र भोलिपल्ट बिहान शतबिज छर्दै मृगस्थली–कैलाश क्षेत्रमा प्रदक्षिणा गर्छन् ।
दूरदराज जान नसक्नेहरू नजिकका शिवालय वा तीर्थस्थलमा जाग्रम बसेर शिवपूजा गरी शतबिज छर्ने परम्परा पनि समाजमा रहेको छ । शतबिज छरेपछि खीर, फलाहार, दही, चिउरा, पुलाऊ आदि भोजन गरी खैजडी, मादल आदिका धुनमा भजन–कीर्तन गर्ने चलन छ । समाजमा शतबिज छर्ने मुख्यतया दुई धारणा पाइन्छन्– दिवंगत पितृहरूको स्मृतिमा शतबिज छर्नेहरू र पुण्य प्राप्तिको आशा राखेर शतबिज छर्नेहरू ।

मार्ग कृष्ण त्रयोदशीका दिन पशुपतिनाथलाई विशेष गरगहना–एकमुखे रुद्राक्ष, नागमणि आदि–ढुकुटीबाट निकालेर शोभायमान गराइन्छ । औंसीका दिन ती पुनः भण्डारमा राखिन्छन् । बालाचतुर्दशीको रात अन्तिम ‘कएन्या’ शतबिज छर्ने कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबिज छर्ने परम्परा पूरा भएको मानिन्छ । यसै रातदेखि चैत्र कृष्ण चतुर्दशीसम्म पशुपतिनाथलाई तातो पानीले स्नान गराउने चलन छ । बाग्मती नदीमा स्नान गरी– ‘सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् । मृगस्थली परिभ्रम्य पुनर्जन्म न विद्यते ।।’ भन्ने मन्त्र उच्चारण गर्दै शतबिज छर्ने परम्परा विशेष महत्वपूर्ण मानिन्छ ।

बौद्ध समुदायको सहभागिता

बौद्ध अनुगामीहरू यस दिन स्वयम्भूमा शतबिज छर्न जान्छन् । लामा, शेर्पा, तामाङ, गुरुङ आदि जनजातिहरू पितृहरूको नाममा अन्न–फलफूल छर्ने गर्छन् । यसै दिन उपत्यकाका अन्य महत्वपूर्ण मन्दिरहरूमा समेत दर्शनार्थीहरूको भीड लाग्छ । त्रयोदशीको साँझदेखि नै पशुपति–कैलाश क्षेत्रमा मेलाको वातावरण सिर्जना हुन्छ । पसलेहरूले शतबिजलगायत वस्तुहरूको बजार सजाउँछन् । रात पर्नासाथ धार्मिक अनुष्ठान आरम्भ हुन्छ । कसैले महादीप बालेर पितृका नाममा रातभर यसको संरक्षण गर्छन्, कसैले मादल तालमा नाच्छन्, कोही भजन–कीर्तन गरेर रातको जाडोलाई सहन्छन् । साँझको कैलाश चौर असंख्य दियोको उज्यालोले चम्किन्छ, जस्तै अन्धकार चिरेर प्रकाश मार्ग देखाइरहेझैं लाग्छ । भोलिपल्ट बिहान महादीप बाग्मतीमा सेलाउँदै नुहाएर पशुपतिनाथको पूजा गरेर शतबिज छर्ने कार्य सम्पन्न गरिन्छ ।

निष्कर्ष

हाम्रो समाजमा परम्परा र धार्मिक संस्कारले विशेष स्थान ओगटेको छ । तीमध्ये शतबिज छर्ने परम्परा अत्यन्त महत्वपूर्ण मानिन्छ । विश्वास छ–त्रयोदशीको रात पशुपति क्षेत्रमा बालिएको दीपको प्रकाशले मार्गविहीन भट्किएका जीवात्मालाई पितृलोकको बाटो देखाउँछ, मृगस्थलीमा छरेको प्रत्येक अन्नगोरस एक तोला सुन दानको पुण्य तुल्य हुन्छ । यसरी हेर्दा बालाचतुर्दशी नेपाली संस्कृति र हिन्दू आस्थाको गहिरो प्रतीक बनेको छ । धार्मिक विश्वास, पितृ–श्रद्धा र परम्परागत आस्थाबाट प्रेरित यो पर्व आज पनि उस्तै उल्लास र भक्तिभावका साथ मनाइन्छ ।

ADV

सम्बन्धित खबर