
काठमाडौं : जेनजी आन्दोलनपछि लगानीकर्तामा मनोबल घटिरहेको अवस्थामा अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सले नेपालमा लगानीको वातावरण स्थिर रहेको देखाएको छ । दुई महिनाअघि भएको आन्दोलनले लगानीको वातावरण बिग्रिने चिन्ता थपिएको अवस्थामा क्रेडिट रेटिङ स्थिर हुँदा अन्तर्राष्ट्रिय लगानीकर्तामा लगानीको आशा जागाउन सक्ने देखिएको छ ।
नेपालले सन् २०२५ का लागि अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ संस्था फिच रेटिङ्सबाट ‘डबल बी माइनस’ प्राप्त गरेको छ । गत वर्ष नेपालले पहिलोपटक भएको सार्वभौम रेटिङमा ‘डबलबी माइनस’ रेटिङ पाएको थियो । नेपालमा बढ्दो विदेशी सञ्चिति, कम वैदेशिक ऋण, लगानीको क्षेत्रमा देखिएको सम्भावनालगायत कारणले नेपालको रेटिङ बलियो देखिएको हो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले गत वर्ष जस्तै अहिले पनि ‘डबल बी माइनस’ आउनु नेपालका लागि राम्रो भएको बताउँछन् । ‘लगानीकर्तामा आत्मविश्वास गुमेका बेलामा यो रेटिङले ऊर्जा प्रदान गर्छ । यसले विदेशी लगानीकर्तालाई लगानीको रिक्स कम रहेको सन्देश विश्वभर जान्छ,’ उनले भने ।
फिच रेटिङले पछिल्ला महिनामा देखिएका सामाजिक–राजनीतिक चुनौती, वर्षाजन्य प्राकृतिक विपत्ति र विश्वव्यापी आर्थिक सुस्तताजस्ता परिस्थितिका बाबजुद पनि समष्टिगत आर्थिक स्थायित्व स्थिर रहेको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयको भनाइ छ ।
नयाँ सरकारले अपनाएको वित्तीय अनुशासन, राजस्व व्यवस्थापनमा सुधार, खर्च प्राथमिकता निर्धारण र रणनीतिक परियोजना अवरोधबिनै निरन्तरता दिने नीति अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वास बलियो देखिएको अर्थ मन्त्रालयको भनाइ छ ।
आन्दोलपछि पनि नेपालको लगानीको सकारात्मक वातावरण रहेको सन्देशले वैदेशिक लगानी भित्र्याउन सहज बन्ने छ । यस्तै, अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग सहकार्य विस्तारका लागि समेत ‘डबल बी माइनस’ले सहयोग पुग्न अपेक्षा गरिएको छ । रेटिङमा स्थितता आउँदा आगामी दिनमा ऊर्जा, पर्यटन, कृषि र आइटी क्षेत्रमा लगानी ल्याउन सहज हुने डा. दिलनाथ दंगाल बताउँछन् । उनले भने, ‘अर्थतन्त्रमा दीर्घकालीन लगानी कन्ट्री रेटिङको महत्वपूर्ण भूमिका हुन्छ । तर समयमै निर्वाचनको हुन नसकेन भने रेटिङले मात्र नेपालमा लगानी आउने देखिँदैन ।’
क्रेडिट रेटिङका लागि फिच रेटिङ्सले ट्रिपल ‘ए’लाई सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो सी र डीसम्मको रेटिङमा राख्ने गरेको छ । बिबिबी माइनसदेखि माथिको रेटिङलाई लगानीका लागि राम्रो मानिन्छ । त्यसभन्दा सी र डी रेटिङलाई उच्च जोखिम मुलुकका रूपमा विश्लेषण गर्ने गरिएको छ ।