
काठमाडौं : ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशको विभिन्न जिल्लाका स्वास्थ्यचौकीलाई बेबी वार्मर मेसिन (न्यानो नानी) प्रदान गरेको छ । नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउन आवश्यक हुने बेबी वार्मर मेसिन प्रदान गरेको हो ।
सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुनिश्चित गर्ने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउँदै आएको जनाएको छ । बैंकको पहलमा बझाङ जिल्लाको मष्टा गाउँपालिका–२ स्थित मष्टा स्वास्थ्यचौकी र खप्तडछान्ना गाउँपालिका–५ स्थित कालुखेती स्वास्थ्यचौकीमा बेबी वार्मर जडान गरिएको हो ।
साथै, बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ३ स्थित पुर्भुता आधारभूत स्वास्थ्य सेवा केन्द्र र अछाम जिल्लाको रामारोशन गाउँपालिका–६ स्थित भाटाकाटियाँ स्वास्थ्यचौकीमा बेबी वार्मर जडान गरिएको बैंकले जनाएको छ ।