२०८२ मंसिर १ गते सोमवार / Nov 17 , 2025 , Monday
२०८२ मंसिर १ गते सोमवार
Ads

एनपिएलमा काठमाडौंको विजयी सुरुवात

shivam cement
२०८२ मंसिर १ गते १९:१९
Shares
एनपिएलमा काठमाडौंको विजयी सुरुवात

काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा काठमाडौं गोर्खाजले विजयी सुरुवात गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटको उज्यालो र प्यारापिटमा १० हजारभन्दा बढी दर्शकको उत्साहबीच सम्पन्न उद्घाटन खेलमा काठमाडौंले साबिक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हरायो ।

जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । काठमाडौंका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रनको प्रभावशाली इनिङ खेले । आकाश त्रिपाठीले ४५ बलमा ३९ रन जोडेर पारीलाई टिकाए । मिलिन्द कुमारले १९ तथा जोन सिम्पसनले १३ रनको योगदान दिए । आदिल अन्सारीले ४ बलमा १ छक्का प्रहार गर्दै नटआउट ८ रन बनाए । जनकपुरका किशोर महतो, अनिलकुमार साह, ललित राजवंशी, निकोल लोफ्टी–इटन र सञ्जय कृष्णमूर्तिले समान १–१ विकेट हात पारे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेटको क्षतिमा १३० रनको साधारण योगफल खडा गरेको थियो । जनकपुरका ओपनर आसिफ शेखले उत्कृष्ट प्रहारसँगै ४१ बलमा ६ चौका र १ छक्काको मद्दतमा ५४ रन बनाए । तर अन्य ब्याटरले साथ नदिनाले जनकपुर मध्यमै दबाबमा पर्‍यो ।

मयन यादवले २९ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन जोडेर टोलीलाई सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । लाहिरु समाराकुनले पनि २१ बलमा २२ रन थपे ।

काठमाडौंका मिलिन्द कुमार बलिङतर्फ चम्किए । उनले चार ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिए । शहाब आलम, सन्तोष यादव र करण केसीले समान १–१ विकेट जोडे ।

एनपिएलको इतिहासमै पहिलो पटक पूर्ण रूपमा फ्लडलाइटमा खेल आयोजना गरिएको थियो । दर्शकको अभूतपूर्व उपस्थितिबीचको यो खेलले दोस्रो संस्करणको वातावरण झनै उत्साहपूर्ण बनाएको छ ।

एनपिएलमा मंगलबार दुई खेल हुँदैछन् । पौने १२ बजे सुरु हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । अपराह्न चार बजे विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ ।

ADV

सम्बन्धित खबर