
क्वालालम्पुर, मलेसिया : मलेसियाले अवैधानिक अवस्थामा रहेका विदेशीलाई घरफिर्ती कार्यक्रम खुला गरेको छ । अवैधानिक अवस्थामा बसेका नेपालीहरू मलेसियाको अध्यागमन कार्यालयमा ५ सय २० रिंगेट जरिमाना तिरेर घर फर्किन पाउने छन् ।
त्यसअघि उनीहरूले राहदानी नभएको भए नेपाली राजदूतावासबाट ट्राभल्स डकुमेन्ट लिएर आफैंले जहाज टिकटको व्यवस्था गर्नुपर्ने छ । अवैधानिक भइ बसेकालाई माइग्रेन्ट रिटर्न प्रोग्राम २.० अन्तर्गत क्वालालम्पुरसँगै शाहआलम, केलेनाजया, पेलाबुहान क्लाङ वा काजाङस्थित अध्यागमन कार्यालयमा उपस्थित भएर बिना कारबाही आफ्नै देश फर्कन अध्यागमन विन्दु तोकेको मलेसियाले बताएको छ ।
हाल मलेसिया प्रहरीले अवैधानिक अवस्थामा बसेका विदेशी नागरिकहरूको धरपकड तीव्र पारेको छ । त्यसक्रममा पक्राउ परेका विदेशीले मलेसियामा अधिक समय बसेको तथ्य लुकाउन कुनै पनि प्रवेश–निकास स्ट्याम्प नभएको नयाँ पासपोर्ट प्रयोग गरिरहेको पत्ता लागेको बताइएको छ ।
मलेसियाली अध्यागमन विभाग सेलांगोरको टोलीले बिहीबार राति पेटालिङ्जायास्थित दामानसारा पेरदाना, पेलांगी दामानसारालगायत स्थानमा अवैधानिक विदेशी पक्राउ गर्न छापामारी गर्ने क्रममा यस्तो कुरा पत्ता लागेको जनाएको हो ।
सेलांगोर अध्यागमन विभागका निर्देशक खैरुल अमिनुस कमरुद्दिनका अनुसार केही विदेशीले पुरानो पासपोर्ट हराएको वा म्याद सकिएको भन्दै नयाँ पासपोर्ट बनाएका छन्, तर प्रयोग नगरी राखेको भेटिएको छ ।