
काठमाडौं : राहदानी बनाइदिने भन्दै बिचौलियाको काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राहदानी विभाग त्रिपुरेश्वरको मूल गेट बाहिर सेवाग्राहीलाई छिटोछरितो राहदानी बनाइदिने भन्दै विभिन्न प्रलोभन देखाइ अतिरिक्त रकम लिइ दुःख हैरानी दिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको बताएको छ ।
सेवाग्राहीलाई मात्रै नभएर राहदानी विभागका कर्मचारीको कामकारबाहीमा समेत अवरोध पुर्याएको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा सर्लाही हरिवन घर भइ हाल काठमाडौंको सामाखुसी बस्ने भाग्य नारायण साह, सिन्धुपाल्चोक चौतारा घर भइ हाल काठमाडौं बस्ने मिक्टे लामा, धादिङ नेत्रावती घर भइ हाल काठमाडौं बस्दै आएका वीरेन्द्र थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले छिटो राहदानी बनाइदिने प्रलोभन पारेर ठगी गर्नेहरू प्रहरीको निगरानीमा रहेको बताएका छन् ।
मध्यान्ह दैनिकले आइतबारको अंकमा ‘रोजगारी न राहदानी !’ शीर्षकमा राहदानी बनाउने कार्यमा बिचौलियाको बिगबिगीसम्बन्धी समाचार प्रकाशन गरेको थियो ।
विभागले टेन्डर प्रक्रियामा ढिलाइ भएको भन्दै फागुन ११ सम्म अत्यावश्यक पर्ने सेवाग्राहीहरूले मात्रै राहदानीका लागि आवेदन गर्न आग्रह गरेको छ । राहदानी विभागले अनलाइनमार्फत वितरण गर्ने एप्वइन्टमेन्ट स्लट सीमित समूहको कब्जामा पर्दा सर्वसाधारण मर्कामा परेका छन् ।
विभागले सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक दैनिक राहदानी बनाउन साँझ ५ बजे एक हजार एप्वइन्टमेन्ट स्लट वितरण गर्ने गरेको छ । विभागले वितरण गरेका एक हजार एप्वइन्टमेन्ट स्लट बढीमा पाँच सेकेन्डमा कब्जा हुने गरेको अधिकांशको भनाइ छ ।
हाल जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी बनाउँदा वा राहदानी नवीकरण गर्दा पाँच हजार, एकैदिन द्रुत सेवामा राहदानी विभाग काठमाडौंबाट राहदानी लिँदा १५ हजार, आवेदन बुझाइ शुल्क बुझाएको भोलिपल्ट लिन १२ हजार, शुल्क बुझाएको तेस्रो दिनमा लिन १० हजार लाग्ने गरेको छ । पुरानो राहदानी हराएको वा राहदानीमा क्षति पुगी नयाँ बनाउनुपर्ने अवस्थामा थप दस्तुर ५ हजार लाग्ने गरेको छ ।
तर एप्वइन्टमेन्ट स्लटमा पहुँच पाउन नसक्नेले राहदानीका लागि त्यसको दोब्बर र कतिपय अवस्थामा बिचौलियाको मागअनुसारको रकम खर्च गर्नुपरेको सेवाग्राहीको भनाइ छ । विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन पनि आग्रह गरेको छ ।