
काठमाडौं : गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दलीय आस्थाका आधारमा व्यवहार गर्ने गरेको गैरआवासीय संघ राष्ट्रिय समन्वय समिति दक्षिण कोरियाले आरोप लगाएको छ ।
दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई ज्ञापनपत्र बुझाउँदै संघले राजदूत डा. तुम्बाहाम्फेले एमाले निकट नेपालीहरूलाई पहुँच दिएको जिकिर गरेको छ ।
सोलस्थित नेपाली दूतावासमा शुक्रबार भएको मन्त्री खरेलको दूतावास भ्रमणको अवसरमा कोरियामा रहेका नेपालीका समस्या समेटेर संघले ज्ञापनपत्र बुझाएको थियो । तत्कालीन गठबन्धन सरकारको कार्यकालमा डा. तुम्बाहाम्फे एमालेको कोटाबाट दक्षिण कोरियाको राजदूत नियुक्त भएकी हुन् । वर्तमान सरकारले तत्कालीन सरकारले नियुक्त गरेका ११ देशका राजदूत फिर्ता बोलाउककदा पनि डा. तुम्बाहाम्फेलाई भने बोलाएको छैन ।
दूतावास भ्रमणका क्रममा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपालीरूको अभिभावक बनेर काम गर्न दूतावासका अधिकारीलाई आग्रह गरे ।
राजदूत डा. तुम्बाहाम्फेले सीमित कर्मचारी, गैरआवासीय नेपाल संघ (एनआरएनए)को विवादका कारण प्रभावकारी काम गर्न नसकिएको र विवादमा ल्याउन खोजिएको भन्दै नेपाल र नेपालीको हक, हितमा काम गर्न आफू प्रतिबद्ध रहेको बताइन् ।
सोही अवसरमा सञ्चारमन्त्री खरेलले दक्षिण कोरियाको सियोलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को हवाई उडान सञ्चालनका लागि पहल गर्न पनि दूतावासको ध्यानाकर्षण गराए । उनले कोरियामा रोजगारीका लागि आएका नेपालीले मानसिक स्वास्थ्यका कारण भोगिरहेका विभिन्न खाले समस्या समाधानका लागि पहल गर्न पनि आग्रह गरे ।
सञ्चारमन्त्री खरेलले दूतावासमा दरबन्दीअनुसार थप जनशक्ति पठाउन पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनले जेनजी प्रदर्शनपछि स्थिरता कायम भई देश लयमा फर्किएको र निर्वाचनउन्मुख भएको सन्देश दूतावास र कूटनीतिक नियोगले प्रवाह गर्नुपर्नेमा जोड दिए ।
दक्षिण कोरियाको सियोलमा आयोजना भएको ११औं ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते त्यहाँ गएका हुन् ।