२०८२ कार्तिक २९ गते शनिवार / Nov 15 , 2025 , Saturday
२०८२ कार्तिक २९ गते शनिवार
Ads

गौरका सुनसान क्षेत्र बने ड्रग्स जोन

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ कार्तिक २९ गते १२:४८
Shares
गौरका सुनसान क्षेत्र बने ड्रग्स जोन

रौतहट :​ जिल्लाको सदरमुकाम गौर नगरपालिका पछिल्लो समयमा लागूपदार्थको सेवन तथा ओसारपसारको केन्द्र बन्दै गएको छ । यस भयावह अवस्थाले विशेषगरी विद्यार्थी र युवा पुस्तालाई नराम्ररी गाँजेको छ । स्थानीय बासिन्दा र अभिभावकहरूका अनुसार गाँजा, चुरोट, भेपिङ, वाटरगन, र इन्जेक्सनमार्फत नशालु पदार्थको प्रयोग बढेको छ, जसले समाज र नयाँ पुस्ताको भविष्यमाथि गम्भीर खतरा पैदा गरेको छ ।

​एकाग्रता तोड्दै ड्रग्स जोनहरू
​गौरका केही निश्चित स्थानहरू शान्त र एकान्त भएका कारण दुर्व्यसनीहरूको अड्डा बन्न पुगेका छन् । स्थानीयका अनुसार यी क्षेत्रहरूमा युवाहरू लागूपदार्थ सेवन सुई इन्जेक्सन प्रयोग गाँजा र चुरोट सेवन जस्ता अवाञ्छित गतिविधिमा संलग्न हुने गरेका छन् ।

दुर्व्यसनीहरूको अड्डा - ​केराको बगैँचा,  गौर जुद्ध माध्यमिक विद्यालय (B. School) को होस्टेल क्षेत्र, बनेश्वर मन्दिर वरिपरि बसपार्कबाट पूर्वतर्फ झुलुङे पुल जाने बाटोका सुनसान ठाउँहरू छन् ।  केही व्यक्तिहरूले गोप्य अङ्गमा समेत इन्जेक्सनमार्फत लागूपदार्थ प्रयोग गर्ने गरेको अवस्था देखिएको छ । यस किसिमको जोखिमपूर्ण प्रयोगले उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई नराम्ररी बिगारिरहेको छ ।

सदरमुकाम ​गौर नगरपालिका भारतको बैरगनिया सिमानासँग जोडिएको र खुला नाका ओपन बोर्डर भएकाले लागूपदार्थ सजिलै नेपाल भित्रिने अवस्था बनेको हो । सीमावर्ती सुरक्षा निकायहरूको सक्रियताका बाबजुद पनि यो समस्या नियन्त्रणबाहिर जाँदैछ । भारतबाट हुने लागुऔषधको सहज आपूर्तिले गर्दा स्थानीय युवाहरूको पहुँच यसमा बढ्दै गएको छ, जसले गर्दा यो संकट झन् गहिरिएको छ ।

​​यस भयावह सामाजिक समस्यालाई मध्यनजर गर्दै स्थानीयहरूले अभिभावक, विद्यालय प्रशासन, जनप्रतिनिधि, जिल्ला प्रहरी कार्यालय रौतहट र सीमावर्ती सुरक्षा निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरूले तत्काल प्रभावकारी कदम चालिँदै युवा पुस्तालाई नशाको गर्तबाट बचाउन आग्रह गरेका छन् ।

​यस विषयमा विद्यालय स्तरमा सचेतना कार्यक्रम, सुरक्षा निकायबाट निगरानी वृद्धि, र लागूपदार्थ आपूर्तिको स्रोतमाथि कडा नियन्त्रण आवश्यक देखिएको छ। अन्यथा यो संकटले समग्र जिल्लाको सामाजिक संरचना र भावी पुस्ताको भविष्यलाई नै धरापमा पार्ने निश्चित छ ।

ADV

सम्बन्धित खबर