
काठमाडौं : गत बिहीबार पनि दाङका अनिल चौधरीले राहदानीका लागि अनलाइन एप्वइन्टमेन्ट पाउन सकेनन् । वैदेशिक रोजगारीका लागि अत्यावश्यक राहदानी बनाउनका लागि एक साता अगाडि काठमाडौं आएका चौधरीले अनलाइन एप्वइन्टमेन्टका लागि प्रयास नगरेको दिन छैन । एजेन्टले राम्रो अफर आएको र छिटोभन्दा छिटो राहदानी नदिए अफर छुट्ने बताएपछि उनी चिन्तामा छन् ।
मंसिर २ गते एक गैरसरकारी संस्थाको कार्यक्रममा थाइल्यान्ड जानुपर्ने जानकी दुलालले पनि राहदानीका लागि अनलाइन एप्लिकेसन दिन प्रयास गरेकोे एक साता भयो । उनले विभागको एप्वइन्टमेन्ट स्लटमा पहुँच पु¥याउन सकेकी छैनन् । एप्वइन्टमेन्ट स्लटमा पहुँच पुर्याउन प्रत्येक दिन गरेको प्रयास असफल भएपछि उनी दिक्दार छन् । उनले भनिन्, ‘जुनसुकै सरकार आएपनि केही नहुने रहेछ । चाहिएको बेला केही नपाइने ।’
चौधरी र दुलालमात्रै होइन, नयाँ राहदानी बनाउने र नवीकरण गर्नुपर्नेहरूले हाल यस्तै सास्ती व्यहोर्नु परेको छ । आज नभएको काम भोलि हुन्छ त ? त्यसको पनि एकिन नभएपछि उनीहरू हतास र आक्रोसित देखिन्छन् ।
राहदानी विभागले अनलाइनमार्फत वितरण गर्ने एप्वइन्टमेन्ट स्लट सीमित समूहको कब्जामा पर्दा चौधरी र दुलालजस्ता सर्वसाधारण मर्कामा परेका छन् । विभागले सार्वजनिक बिदाको अघिल्लो दिन बाहेक दैनिक राहदानी बनाउन साँझ ५ बजे एक हजार एप्वइन्टमेन्ट स्लट वितरण गर्ने गरेको छ ।
विभागको सेवा लिन असफल भएकाहरू विभागले वितरण गरेका एक हजार एप्वइन्टमेन्ट स्लट बढीमा पाँच सेकेन्डमा कब्जा हुने गरेको बताउँछन् । त्यसलगत्तै विभागले ‘वी आर करेन्ट्ली एक्स्पेरिएन्सिङ हाइ ट्राफिक भोलुम’ भनेर म्यासेज आउने गरेको पीडितहरूको भनाइ छ ।
हाल जिल्ला प्रशासन कार्यालयबाट नयाँ राहदानी बनाउँदा वा राहदानी नवीकरण गर्दा ५ हजार, एकैदिन द्रुत सेवामा राहदानी विभाग काठमाडौंबाट राहदानी लिँदा १५ हजार, आवेदन बुझाइ शुल्क बुझाएको भोलिपल्ट लिन १२ हजार, शुल्क बुझाएको तेस्रो दिनमा लिन १० हजार रुपैयाँ लाग्ने गरेको छ ।
पुरानो राहदानी हराएको वा राहदानीमा क्षति पुगेर नयाँ बनाउनुपर्ने अवस्थामा थप दस्तुर ५ हजार रुपैयाँ लाग्ने गरेको छ । तर एप्वइन्टमेन्ट स्लटमा पहुँच पाउन नसक्नेले राहदानीका लागि त्यसको दोब्बर र कतिपय अवस्थामा बिचौलियाको मागअनुसारको रकम खर्च गर्नुपरेको सेवाग्राहीको भनाइ छ ।
इन्टरनेट फ्रिक्वेन्सी कमजोर भएका दुरदराज ग्रामीण क्षेत्रबाट राहदानी विभागमा नयाँ राहदानी बनाउने तथा नवीकरण गर्न एप्वइन्टमेन्ट स्लटमा पहुँच पाउन असम्भव प्रायः बनेको पनि सेवाग्राहीको गुनासो छ ।
राहदानी विभागले भने विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउन महिनामा खरिद सम्झौता गरिसकेको र उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेबाट मात्रै राहदानी सेवा सुरु हुने गरी नयाँ पूर्वाधार तथा प्रणाली निर्माणसम्बन्धी कार्य भइरहेको बताएको छ । नयाँ आपूर्तिकर्ता र हालको आपूर्तिकर्ताबीच हुने प्रणाली आदानप्रदान ‘ह्यान्ड ओभर र टेक ओभर’को संक्रमणकालीन अवस्था र सेवाग्राहीको मागको तुलनामा राहदानी पुस्तिकाको संख्या सीमित भएकाले सन्तुलन मिलाउन नसकिएको विभागले बताएको छ ।
विभागले फागुन ११ सम्म अत्यावश्यक पर्ने सेवाग्राहीहरूलाई मात्रै राहदानीका लागि आवेदन गर्न आग्रह गरेकोे छ ।
विभागले राहदानीका विषयमा अनधिकृत व्यक्तिको भर नपर्न र त्यस्ता व्यक्तिबाट हुन सक्ने ठगीबाट सावधान रहन पनि आग्रह गरेको छ । तर राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरू विभाग वरिपरि अड्डा जमाएर बसेका बिचौलियाकै भर पर्नुको विकल्प नभएको बताउँछन् ।