
काठमाडौं : मानव तस्करीमा संलग्न गिरोहले मौसमी कामदार भन्दै नेपालीलाई लगेर पूर्वी युरोपका विभिन्न मुलुकमा शरणार्थी प्रक्रियामा फसाउने प्रवृत्ति बढेको छ ।
स्लोभाकिया, लात्भिया, साइप्रस, ग्रिस, माल्दोभालगायतका मुलुकमा कृषि र बगैंचाको काम, वन, जंगल संरक्षण, स्ट्रबेरी टिप्ने र पर्यटन क्षेत्रमा काम गर्ने विदेशी कामदारहरूलाई ६ देखि ९ महिना अवधिको सिजनल वर्किङ भिसा दिने गरिएको छ ।
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै गरिएको आप्रवासनमा कडाइपछि मानव तस्कर गिरोहले नेपालीलाई युरोपको सपना बेचेर शरणार्थी बनाउने गरिएको स्रोतले बताएको छ । नेपालीलाई विभिन्न बहानामा शरणार्थी हैसियतमा आवेदन दिन लगाउने प्रवृत्तिले नेपाली राष्ट्रिय पहिचान नै बद्नाम गराउने गरिएको बताइएको छ ।
हाल सिजन वर्करको भिसामा जाने र भिसा सकिएपछि उपयुुक्त बहाना बनाएर शरणार्थीको हैसियत प्राप्त गर्न चाहने प्रवृत्तिले नेपालबाट संस्थागत रूपमा जाने कामदारको हकमा दीर्घकालीन रूपले नकारात्मक असर पार्नसक्ने धेरैको बुझाइ छ । ती मुलुकको कानुनी व्यवस्था अनुसार शरणार्थी बन्न आवेदन दिएपछि प्रक्रिया टुंगिन लगभग एक डेढ वर्ष लाग्छ ।
आवेदन स्वीकृत भएपछि जीविकोपार्जनका लागि काम गर्न पाइने भएकाले मानव तस्करी गिरोहले त्यसैलाई हतियार बनाएर जसरी पनि युरोपेली मुलुक जान चाहने युवायुवतीलाई निशाना बनाइरहेको समाचार स्रोतको भनाइ छ । नेपाली राजदूतावास र कूटनैतिक नियोगहरूले विगत २८ महिनादेखि युरोपेली मुलुकको मागपत्र प्रमाणीकरण गरेका छैनन् ।
मागपत्र प्रमाणीकरण नगर्दा संस्थागत रूपमा युरोपेली मुलुकहरूमा कामदार पठाउने प्रक्रिया सफल हुन नसकेको, बिचौलिया र गिरोहहरू मोटाइरहेकोे र नेपाली कामदार असुरक्षित भइरहेको देखिएको छ ।
मागपत्र मात्रै प्रमाणीकरण सहज भए कामकै लागि शरणार्थी हुनुपर्ने बाध्यताको अन्त्य हुने कतिपयको भनाइ छ । मागपत्र प्रमाणीकरण नहुँदा रकम असुलेर शरणार्थी हुन प्रेरित गर्ने नेपाली बिचौलियाहरूको सक्रियता थप बढ्ने र काम खोजिदिनेलगायतका काम गरिदिने आश्वासनमा ठग्ने बिचौलिया मोटाइरहने देखिएको छ ।