
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरेको छ । छनोट भएका १ सय ७१ मध्ये राजधानीका तीन जिल्लामा १ सय ४२ र राजधानी बाहिरका ७४ जिल्लामा २९ वटा स्वास्थ्य संस्था रहेका छन् ।
विशेषज्ञ समितिबाट अनुगमन प्रतिवेदन अध्ययन भई सिफारिस भएका स्वास्थ्य संस्थाहरूलाई सूचीकरण गर्ने मन्त्रीस्तरबाट कात्तिक ३० गते निर्णय भएको हो । हाल प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयको नेतृत्व लिएकी छन् ।
मन्त्रालयले जारी गरेको नयाँ कार्यविधिको मापदण्ड पूरा गर्ने १ सय ७१ वटा स्वास्थ्य संस्थालाई सूचीकरण गरिएको हो । मन्त्रालयले यसपटक मापदण्ड पूरा नगरेका २९ वटा स्वास्थ्य संस्थालाई सूचीकरणबाट हटाएको बताएको छ । उनीहरूले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने छैनन् ।
स्वास्थ्य मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव दीपेन्द्ररमण सिंह नेतृत्वको कार्यदलले पेस गरेको मापदण्डअनुसारको प्रतिवेदनको आधारमा मन्त्रालयले स्वास्थ्य परीक्षणका मापदण्ड थप गरेर उपकरण पनि थप गरेपछि मन्त्रालयले अनुगमन गरेको थियो ।
श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरले सूचीकृत स्वास्थ्य संस्थाले पहिलेको भन्दा प्रमाणिक स्वास्थ परीक्षण प्रतिवेदन दिने अपेक्षा गरिएको भन्दै स्वास्थ संस्था चिकित्सक र श्रमिक सबैलाई जिम्मेवार बनाइएको बताए ।
नयाँ कार्यविधिको सूचीकृत संस्थाले हेपाटाइटिस बी र सी, मलेरिया, सुगर, टाइफाइडसहित रक्त परीक्षण गर्दा सिबिसी, इएसआर, प्लेटलेट, क्षयरोग परीक्षण गर्दा छातीको एक्स–रे, मांसपेशी र हड्डीका समस्या, क्यान्सर, मधुमेह, मुटुरोग, म्यान्टोक्स परीक्षण, स्पुटम एएफबी, मिर्गौला परीक्षण गर्दा सिरम युरिया, क्रियाटिनिन श्वासप्रश्वास, छालाका रोगसमेत परीक्षण गर्नुपर्ने प्रावधान छ ।