
रौतहट : रौतहटको चन्द्रनिगाहपुर क्षेत्रमा प्रहरीले विशेष अपरेसनका क्रममा ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल बरामद गरेको छ । शुक्रबार राति गरिएको चेकजाँचका बेला एक मोटरसाइकल छाडेर तस्कर फरार भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति करिब ८ बजेतिर चन्द्रनिगाहपुरस्थित चपुर चोकबाट बजारतर्फ गइरहेको ना २५ प ६२८ नम्बरको कालो पल्सर मोटरसाइकललाई शंकाको आधारमा रोकिन संकेत गरिएको थियो । प्रहरी देखेपछि चालकले गति कम गर्दै मोटरसाइकलको लेगार्डमा झुण्ड्याइएको झोला सडकमै फालिदिएर अँध्यारोलाई उपयोग गर्दै फरार भएका थिए ।
प्रहरीको तत्काल पछ्याए पनि ती युवा उम्किन सफल भएका थिए । पछि झोला खोल्दा ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ । मोटरसाइकल नम्बर प्लेटका आधारमा धनीको विवरण संकलन, फरार व्यक्तिको पहिचान तथा तस्करी सञ्जाल पत्ता लगाउन जिल्लाभर खोजी अभियान तीव्र बनाइएको छ ।