२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

२१ किलो सुनसहित पक्राउ परेका तीन जना सार्वजनिक

Nada
२०८३ असोज २३ गते १५:१०
Shares
२१ किलो सुनसहित पक्राउ परेका तीन जना सार्वजनिक

काठमाडौं : काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी सुनसहित तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेरे सार्वजनिक गरेको छ । अवैध रूपमा सुनको कारोबार, ओसारपसार तथा प्रशोधन भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

ncell

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो । प्रहरीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको ‘अपरेसन ब्राभो गोल्फ’ अन्तर्गत बुढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एक घरमा छापा मारेको थियो ।

पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन् । उनीहरू चीनका विभिन्न प्रान्तका बासिन्दा रहेको र हाल बुढानीलकण्ठ क्षेत्रमा बस्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले घर भाडामा लिएर सुन प्रशोधन गर्ने काम गर्दै आएका थिए । छापा मार्ने क्रममा उक्त घरबाट सुन गाल्न तथा प्रशोधन गर्न प्रयोग गरिने मेसिन र उपकरणसमेत बरामद गरिएको छ ।

बरामद सुनमध्ये १० किलोभन्दा बढी तयारी अवस्थामा रहेको र १० किलोभन्दा बढी अर्धतयारी अवस्थामा रहेको प्रहरीले जनाएको छ । अर्धतयारी अवस्थामा रहेको सुन प्लास्टिकमा राखिएको थियो । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गराउँदा बरामद धातु सुन नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बरामद सुनको कुल तौल २१ किलो ७५०.६८ ग्राम रहेको छ । असोज २२ गतेको बजार मूल्यका आधारमा उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा कायम गरिएको छ ।

सुनसँगै प्रहरीले त्यसको ओसारपसारमा प्रयोग भएको गाडी, सुन प्रशोधनमा प्रयोग गरिने मेसिन तथा अन्य उपकरण, नगद र विभिन्न कागजातसमेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । बरामद सुनको स्रोत, कारोबारको प्रकृति तथा यसमा अन्य व्यक्ति वा समूहको संलग्नता रहे–नरहेको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर