
काठमाडौँ : रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ ।
पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले जानकारी दिएका छन् ।
मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन । निर्माणमा ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि २०७९ सालमा पुन: ठेक्का आह्वान गरिएको थियो ।
तर, नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेन । पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुनु र पर्याप्त बजेट विनियोजन नहुनु निर्माणमा ढिलाइ हुनुका प्रमुख कारण रहेको मन्त्री लम्सालले बताएका छन् ।
समस्या पहिचानपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरेर निर्माणलाई गति दिइएको उनको भनाइ छ ।
हाल पुलका मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भइसकेको छ । एप्रोच रोड र रिभर ट्रेनिङको काम भने जारी रहेको मन्त्री लम्सालले जानकारी दिएका छन् ।
लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको लालबकैया पुलको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुने तथा क्षेत्रीय यातायातमा सुधार आउने अपेक्षा गरिएको छ ।