२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

Nada
२०८३ असोज २३ गते १६:०७
Shares
दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

काठमाडौं : दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय भएको छ ।

ncell

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको ६८औं बैठकले दुई वटा अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय गरेको हो । 

बैठकले १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रूपैयाँ लागतको नार खोला अर्धजलाशययुक्त जलविद्युत् परियोजना (५८.९ मेगावाट) र १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रूपैयाँ लागतको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४६.७२ मेगावाट)को लगानी स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले अरुण–३ जलविद्युत् परियोजना (९०० मेगावाट)ले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन गर्ने र माथिल्लो कर्णाली जलविद्युत् परियोजना (९०० मेगावाट)का सम्बन्धमा परियोजना विकास सम्झौताको प्रावधान बमोजिम तत्काल निर्माण अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको समेत गरेको छ ।

बैठकले स्वीकृत परियोजनाको कार्यान्वयन तथा लगानीकर्तालाई प्रदान गरिने सेवामा सहजीकरण र प्रभावकारी कार्यसम्पादनका लागि लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बोर्डद्वारा आह्वान नगरिएका प्रस्तावहरू आवश्यकतानुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराई अगाडि बढाउने गरी आवश्यक कानूनी प्रबन्ध गर्न कार्यालयलाई निर्देशन दिने, कृत्रिम बुद्धिमत्तालगायत नवीनतम सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनाका लगानी प्रस्ताव प्राप्त भएमा नेपालको नवीकरणीय ऊर्जाको उपयोग तथा रोजगारी सृजना एवं आर्थिक विकासमा पुर्‍याउने योगदान समेतलाई मध्यनजर गरी उक्त प्रकृतिका परियोजना विकासलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

बैठकमा अर्थमन्त्री एवम् बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत याङकी उक्यावलगायतका बोर्डका सदस्यहरु एवं उच्च पदस्थ अधिकारीहरू उपस्थित थिए ।

ताजा खबर

सम्बन्धित खबर