२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

बीओपी नजिकै माछा फर्मका कामदारमाथि छुरा प्रहार, प्रहरीमाथि घटना मिलाउन दबाब दिएको आरोप

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ भदौ २३ गते १४:५३
Shares
बीओपी नजिकै माछा फर्मका कामदारमाथि छुरा प्रहार, प्रहरीमाथि घटना मिलाउन दबाब दिएको आरोप

रौतहट : परोहा नगरपालिका–९, रामपुर खापमा माछा पालन फर्ममा कार्यरत एक कामदारमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाइएको घटना सार्वजनिक भएको छ । घटना सोमबार राति करिब ९ः३० बजे भएको हो ।

ncell

स्थानीयका अनुसार माछा फर्ममा कार्यरत दिपेश पासवानमाथि रामपुर टोलका २/३ जना युवाले धारिलो हतियार (छुरा) प्रहार गरेका थिए । आक्रमणबाट घाइते पासवानको स्थानीय अस्पतालमा उपचार गरिएको र उपचारपछि उनी घर फर्किएको बताइएको छ ।

घटना भएको स्थान सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बीओपी) रामपुर खापबाट करिब १० मिटरको दूरीमा रहेको बताइएको छ । सुरक्षाकर्मीको पोस्ट नजिकै गम्भीर प्रकृतिको घटना हुँदासमेत आफूहरूलाई घटनाबारे जानकारी नभएको जवाफ सुरक्षा निकायबाट आएको स्थानीयको भनाइ छ ।

घटनाबारे सुरक्षा निकायको भूमिकाप्रति स्थानीयले प्रश्न उठाएका छन्। बीओपी नजिकै आपराधिक घटना हुनु र तत्काल सुरक्षा तथा कानुनी प्रक्रिया अघि नबढ्नुले क्षेत्रको सुरक्षा व्यवस्थामाथि आशंका उत्पन्न भएको उनीहरूको आरोप छ ।

घटनापछि पीडित पक्षले संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रहरी चौकी रामपुर खापमा लिखित निवेदन दर्ता गराउन खोजेको बताइएको छ । तर प्रहरीले कानुनी प्रक्रिया अघि बढाउनुको सट्टा पीडित पक्षलाई नै दबाब दिँदै घटना मिलाउन र मेलमिलाप गर्न आग्रह गरेको आरोप लगाइएको छ ।

पीडित पक्षमाथि धाकधम्कीसमेत दिइएको आरोप स्थानीयले लगाएका छन् । यद्यपि, प्रहरीले यस विषयमा आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरिसकेको छैन ।

स्थानीय बासिन्दाले घटनामा संलग्न भनिएका केही युवाहरू लामो समयदेखि लागूऔषध सेवन तथा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। उनीहरूका अनुसार विगतमा समेत सो समूहसँग जोडिएका विभिन्न आपराधिक घटना भएका थिए ।

स्थानीय निर्वाचन तथा आम निर्वाचनका समयमा दुईवटा मोटरसाइकलमा आगजनी गरिएको घटनामा समेत सोही समूहको संलग्नता रहेको स्थानीयको दाबी छ । विगतका घटनामा राजनीतिक वा अन्य दबाबका कारण कारबाही नभएको भन्दै स्थानीयले अहिले आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको मनोबल बढेको आरोप लगाएका छन् ।

रामपुर खाप क्षेत्रमा पटक–पटक यस्ता घटना दोहोरिन थालेपछि स्थानीय बासिन्दामा सुरक्षाको चिन्ता बढेको छ । दिउँसो तथा रातिको समयमा आवतजावत गर्नसमेत डराउनुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ ।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन् । माग सम्बोधन नभए सशक्त विरोधका कार्यक्रम अघि बढाउने चेतावनीसमेत उनीहरूले दिएका छन् ।

घटनाबारे सम्बन्धित प्रहरी तथा सशस्त्र प्रहरी निकायको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन बाँकी रहेको छ ।

uae

ताजा खबर

सम्बन्धित खबर