२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

अमेरिकाबाट कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

Nada
२०८३ कार्तिक ११ गते १२:२५
Shares
अमेरिकाबाट कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौँ : अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको एक किलो ३३८ ग्राम लागुऔषध गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गाँजा बरामद गर्नुका साथै त्यसको ओसारपसारमा संलग्न रहेको आरोपमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

ब्युरोले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक १० गते अमेरिकाबाट कुरियरमार्फत कागजातको आवरणमा ल्याइएको गाँजा प्रहरीले नियन्त्रित वितरण विधि प्रयोग गरी बरामद गरेको थियो । उक्त विधिमार्फत लागु औषधको ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको गुजरात राज्यस्थित अहमदाबादको आनन्द फ्लाट, वेजापुर ठेगाना भएका २३ वर्षीय भवरसिंह र गुजरातकै अहमदाबादस्थित अर्किड एप्पलवुड्स टाउनसिपका ३३ वर्षीय वन्दित पटेल रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट एक किलो ३३८ ग्राम लागुऔषध गाँजा र दुई थान मोबाइल फोन बरामद गरेको जनाएको छ ।

ब्युरोका अनुसार लागुऔषध ओसारपसारसम्बन्धी विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो । अनुसन्धानका क्रममा अमेरिकाबाट कुरियरमार्फत पठाइएको सामग्रीमा कागजातको आवरण प्रयोग गरी गाँजा ल्याइएको पाइएको हो ।

त्यसपछि प्रहरीले नियन्त्रित वितरण विधि अपनाएर लागुऔषध बरामद गर्नुका साथै त्यससँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिहरूको संलग्नता, लागुऔषध पठाउने तथा प्राप्त गर्ने पक्ष र ओसारपसारसँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

सम्बन्धित खबर