
काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भंगालस्थित एउटा घरमा प्रहरीले छापा मार्दा चीनदेखि नेपालसम्म जोडिएको सुनको शंकास्पद सञ्जाल खुलेको छ । घर भाडामा लिने व्यक्ति चीन पुगिसकेका थिए । घरमा पक्राउ परेका चिनियाँ नागरिकले भने चीनबाटै चाबी ल्याएका थिए ।
अवैध रूपमा सुनको कारोबार, प्रशोधन र ओसारपसार भइरहेको विशेष सूचना पाएपछि प्रहरीले उक्त घरमा निगरानी बढाएको थियो । घरमा शंकास्पद गतिविधि देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । महिनौंदेखि निगरानीमा रहेको घरमा प्रहरीले बुधबार छापा मारेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, चीनको जियाङ्सु र गुआङडोङ क्षेत्रसँग सम्बन्ध भएका २७ वर्षीय चिनियाँ नागरिक हान फेई उक्त घरमा बस्दै आएका थिए । उनी पक्राउ परेपछि अनुसन्धानका क्रममा चीनदेखि नेपालसम्म चाबी हस्तान्तरण र आवतजावतको शृंखला खुलेको हो ।
चिनियाँ नागरिक सु क्यानले गत साउन ८ गते घरधनीलाई मासिक तीन लाख ३० हजार रुपैयाँका दरले चार महिनाको अग्रिम भाडा एकैपटक १३ लाख २० हजार रुपैयाँ बुझाएर घर भाडामा लिएका थिए । अग्रिम भाडा बुझाएको करिब एक महिनापछि साउन ३० गते उनी चीन गएको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि उनी नेपाल फर्किएको देखिएको छैन ।
चीन पुगेपछि सु क्यानले उक्त घरको चाबी अर्का चिनियाँ नागरिक झेन जियालाई दिएका थिए । झेन जियाले असोज १० गते हान फेई र अर्का चिनियाँ नागरिक झाउ लोङकिङलाई चाबी बुझाउँदै नेपाल पठाएको अनुसन्धानबाट खुलेको छ । चाबी लिएर हान फेई र झाउ लोङकिङ असोज ११ गते नेपाल आइपुगेका थिए ।
चीनको ग्वाङ्झाउमा बस्ने झेन जियाले सन्देश आदानप्रदान गर्ने चिनियाँ माध्यम विच्याटमार्फत नेपालमा रहेका समूहका सदस्यलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन दिने गरेको प्रहरीको भनाइ छ । सुन कारोबारीलाई सुन पुर्याउन जाँदै गर्दा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
२१ किलोभन्दा बढी सुन बरामद
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पक्राउ परेका चिनियाँ नागरिकलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा २७ वर्षीय हान फेई, ४७ वर्षीय झोउ लोङछिन र ३७ वर्षीय वाङ जियानझेन छन् ।
प्रहरीका अनुसार, विशेष सूचनाका आधारमा निगरानी बढाएर माथिल्लो भंगालस्थित घरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । घर भाडामा लिएर अवैध रूपमा सुनको कारोबार, प्रशोधन तथा ओसारपसार भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । प्रहरीले यस कारबाहीलाई ‘ब्राभो गल्फ अभियान’ नाम दिएको थियो ।
प्रहरीले उनीहरू बस्दै आएको कोठाबाट सुनका टुक्रा तथा बिस्कुट आकारका ढिक्का, नगद, सुन ओसारपसारमा प्रयोग गरिएको गाडी, सुन पगाल्ने तथा प्रशोधन गर्ने मेसिन र उपकरणसहित विभिन्न कागजात बरामद गरेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको परीक्षण तथा प्रमाणीकरण विवरणअनुसार, बरामद सुनमध्ये १० किलो १९७.९३ ग्राम तयारी अवस्थामा र १० किलो ४५२.७५ ग्राम अर्धतयारी अवस्थामा छ । बरामद सुनको कुल तौल २१ हजार ७५०.६८ ग्राम अर्थात् २१ किलो ७५०.६८ ग्राम रहेको छ । यसको हालको बजार मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ चार पैसा हुने प्रहरीले जनाएको छ ।
कारोबारको स्रोत अझै खुल्न बाँकी
पक्राउ परेका चिनियाँ नागरिक नेपाल आएको करिब १२ दिनमै प्रहरीले छापा मारेको थियो । यति छोटो अवधिमा २१ किलोभन्दा बढी सुन र प्रशोधनका उपकरण घरमा कसरी पुगे ? सुन कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने तयारी थियो ? नगद कारोबार कसरी भइरहेको थियो ? चीनमा रहेका अन्य व्यक्तिको भूमिका के थियो ? यी प्रश्नको उत्तर खुल्न बाँकी छ । घटनाबारे अनुसन्धान भइरहेको र नियन्त्रणमा लिइएका चिनियाँ नागरिकले अनुसन्धानमा सहयोग नगरेको वरिष्ठ प्रहरी उपरीक्षक खड्काले बताए ।