२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

५ किलो २५० ग्राम गाँजासहित एक युवक पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असोज १० गते १५:१५
Shares
५ किलो २५० ग्राम गाँजासहित एक युवक पक्राउ

रौतहट : जिल्लाको यमुनामाई गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । 

ncell

अस्थायी प्रहरी पोष्ट बमनहरको प्रहरी टोलीले जाँचका क्रममा ५ किलो २५० ग्राम गाँजा, भारतीय नम्बर प्लेटको मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका–१, पिपरा टोल निवासी रामबिनोद साहका करिब २६ वर्षीय छोरा पुजन साह रहेका छन् ।

शंकास्पद अवस्थामा भेटिएपछि चेकजाँच
प्रहरीका अनुसार शनिबार अपराह्न करिब १ बजे यमुनामाई गाउँपालिका–४ स्थित सरुअठाबाट झुलुङ्गे पुलतर्फ जाने सडकखण्डमा बीआर ३० टी ५०९१ नम्बरको ग्ल्यामर मोटरसाइकल रोकी राखिएको अवस्थामा फेला परेको थियो ।

उक्त स्थानमा गस्तीमा रहेको अस्थायी प्रहरी पोष्ट बमनहरका प्रहरी सहायक निरीक्षक सञ्जीवकुमार सिंहको कमान्डमा रहेको प्रहरी टोलीलाई देखेपछि चालकले शंकास्पद गतिविधि गरेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले मोटरसाइकल चालकको खानतलासी तथा चेकजाँच गरेको थियो ।

खानतलासीका क्रममा चालक पुजन साहले बोकेको कालो रङको झोलाभित्र प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा कुल ५ किलो २५० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

गाँजा बरामद भएपछि प्रहरीले ओसारपसारमा प्रयोग गरिएको बीआर ३० टी ५०९१ नम्बरको मोटरसाइकलसहित साहलाई तत्काल नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिइएका साहलाई बरामद गाँजा र मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त गौतमले घटनाको पुष्टि गर्दै पक्राउ परेका साहविरुद्ध लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रहरीले गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजान लागिएको थियो भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर