२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

नागढुंगाबाट ५३ लाख बराबरको भन्सार छलीको सामान बरामद, बस चालक पक्राउ

Nada
२०८३ भदौ ५ गते १४:४८
Shares
नागढुंगाबाट ५३ लाख बराबरको भन्सार छलीको सामान बरामद, बस चालक पक्राउ

काठमाडौँ : प्रहरीले नागढुंगाबाट भन्सार छली गरी ल्याइएको आरोपमा करिब ५३ लाख रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको छ । सामान ओसारपसारमा संलग्न रहेको आरोपमा बस चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ncell

प्रहरीका अनुसार २०८३ भदौ ४ गते अपराह्न करिब ४:४५ बजे चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगा चेक प्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले दिल्लीबाट काठमाडौँ आउँदै गरेको बा प्र.०३-००१ ख ३५३६ नम्बरको बस जाँच गरेको थियो ।

जाँचका क्रममा बसको पछाडिको भित्री भागमा गोप्य रूपमा भण्डारण गर्ने स्थान बनाएर लुकाइछिपाइ ल्याइएका बिल तथा बीजक नभएका विभिन्न कम्पनीका मोबाइल, ल्यापटप, टेम्पर ग्लास, कपडा र जुत्ता फेला परेको प्रहरीले जनाएको छ ।

बरामद सामानको प्रारम्भिक मूल्य करिब ५३ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । घटनामा बस चालक उदयपुरको साविक सोरुङ छबिसे-७, हाल कटारी नगरपालिका-११ घर भएका ३४ वर्षीय पविन्दर राना मगरलाई नियन्त्रणमा लिइएको छ ।

बरामद सामग्रीमा विभिन्न ब्रान्डका कुल २७१ थान मोबाइल रहेका छन् । तीमध्ये आइफोन २१, सामसुङ ४९, भिभो ७५, मोटोरोलो १९, रेडमी ३९, वनप्लस १३, ओप्पो ३४, पोको ७, इन्फिनिक्स ३, आइगू ३, पोभा २, टेक्नो ३, लाभा १, नार्जो १, नोकिया १, पावर २, हुवावे १, गुगल १ तथा नाम नखुलेका २ थान मोबाइल छन् ।

त्यसैगरी ६ थान ल्यापटप र त्यसका पाँच थान चार्जर, एक बट्टा प्रोटिन तथा ५१३ थान टेम्पर ग्लास पनि बरामद गरिएको छ । कपडातर्फ १७ थान साडी, २१ थान जिन्स पाइन्ट र ३७ थान कुर्ता सुरुवाल रहेका छन् । साथै १५ जोर जुत्ता समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएका चालक तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप प्रक्रिया सम्बन्धित भन्सार कार्यालयबाट अघि बढ्नेछ ।

ताजा खबर

सम्बन्धित खबर