२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

वैदेशिक रोजगारीमा जानेहरू जो लाइसेन्सको पर्खाइमा छन्

shivam cement
२०८२ मंसिर ५ गते ०६:२०
Shares
वैदेशिक रोजगारीमा जानेहरू जो लाइसेन्सको पर्खाइमा छन्

काठमाडौं : नुवाकोटका सन्दीप लामा । जो एक सातापछि दुबई जाने तयारीमा छन् । उनी चालकका रूपमा वैदेशिक रोजगारी जान लागेका हुन् । तर विडम्बना लाइसेन्स पास गरेको महिनौंसम्म चालक अनुमतिपत्र हातमा परेको छैन । ‘ड्राइभिङ’का दुबईमा नेपाली सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) अनिवार्य छ । त्यसकै लागि यातायात कार्यालय धाउन लागेको महिना दिन बित्यो । तर काम बनेको छैन ।  

नेपालबाट ड्राइभिङ स्मार्ट लाइसेन्स लिएर गएपछि त्यहाँको सवारी चालकको अनुमतिपत्र सहजै पाइने बताउँछन् लामा । ‘नेपालबाट स्मार्ट लाइसेन्स लिएपछि रोड पासको मात्रै ट्रायल दिनुपर्छ,’ उनले भने, ‘नत्र दुबईको लाइसेन्स पाउन ३ देखि ४ लाख रुपैयाँ खर्च गर्नुपर्छ ।’ 

त्यस्तै, समस्या छ पोखरा लेखनाथ–६ विजयपुरका अनिल रानाभाटको । उनको शनिबार कुवेत जाने टिकट तयार भइसकेको छ । उनी पनि ड्राइभिङका लागि जाँदै छन् । स्मार्ट लाइसेन्सको लागि कार्यालय धाउँदा धाउँदै कुवेत जाने दिन नजिकिसक्यो तर उनले स्मार्ट लाइसेन्स पाएका छैनन् । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा यातायात कार्यालयमा आगजनी भएको थियो । त्यसको मार वैदेशिक रोजगार र अध्ययन गर्न जाने विद्यार्थीहरूले खेपिरहेका छन् । स्मार्ट लाइसेन्सका लागि यातायात कार्यालयमा लामा र रानाभाट जस्तै सयौं युवाको भीड लाग्ने गरेको छ । लाइसेन्स उपलब्ध गराउन यातायात कार्यालयले ढिलासुस्ती गर्दै आएको उनीहरूको गुनासो छ । 

तर यातायात कार्यालय भने वैदेशिक रोजगारीमा जानेलाई आकस्मिक सेवाप्रवाह गर्दै आएको बताउँदै आएको छ । जेनजी आन्दोलनको क्रममा कार्यालयमा आगजनीपछि खुला ठाउँमा पाल टाँगेर सेवाप्रवाह गरिरहेको यातायात व्यवस्था कार्यालयका निर्देशक केशव खतिवडाले बताए । ‘आपतकालीन स्मार्ट लाइसन्सका लागि दैनिक ५ सयको हाराहारीमा सुरक्षण मुद्रण केन्द्रलाई पठाउने गरेका छौं,’ उनले भने, ‘प्रविधिमा आएको समस्याले ढिलाइ हुनु स्वाभाविक हो । तर हामी हरदम कोसिस गरिरकेका छौं ।’

जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोडले यातायात कार्यालयको आवश्यक प्रविधि जलेर नष्ट भएको छ भने ४ अर्बभन्दा बढीको क्षति भएको खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यालयले साबिककै सेवाप्रवाह गर्न अझै ३ देखि ५ महिना लाग्नेछ । 

आगजनीबाट २५ हजार जलेर नष्ट भएका छन् भने ३ हजार लाइसेन्स सुरक्षित फेला परेको कार्यालयले जनाएको छ । सुरक्षण मुद्रण कार्यालयले भने यातायात कार्यालयबाट डाटा लिन समस्या भएकाले केही दिन ढिला हुन सक्ने बताएको छ । कार्यालयको सिस्टम सुधार भए शुक्रबाट छपाइ हुने केन्द्रले बताएको छ । 

ADV

सम्बन्धित खबर