२०८२ मंसिर ५ गते शुक्रवार / Nov 21 , 2025 , Friday
२०८२ मंसिर ५ गते शुक्रवार
Ads

सुरक्षा चुनौतीको विम्ब सिमरा घटना

shivam cement
जीवन शर्मा
२०८२ मंसिर ५ गते ०६:३०
Shares
सुरक्षा चुनौतीको विम्ब सिमरा घटना

काठमाडौं : जेनजी आन्दोलन भएको साढे दुई महिना नपुग्दै राज्यको सुरक्षा संयन्त्रमाथि फेरि त्रास बढेको छ । मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध भएको आन्दोलन सेलाउन नपाउँदै बुधबार सिमरा फेरि अर्को प्रदर्शन भएको छ । सो घटनाले सरकार, सुरक्षा संयन्त्र र राजनीतिक दललाई झस्काएको छ ।  

जेनजी मधेश प्रदेशका युवाहरू र नेकपा एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताबीच भएको झडपले अशान्त बनेको सिमरा बिहीबारसम्म लयमा फर्किएन । सो घटनाले भदौ २३ र २४ को आन्दोलनको झल्को दिएको सुरक्षा अधिकारी बताउँछन् । जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकार फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन गराउने तयारीमा जुटेको छ । तर चुनावका मुख्य सरोकारवाला राजनीतिक दल अझै चुनाव हुनेमा ढुक्क छैनन् । सिमरामा एकाएक तनाव, झडप र कर्फ्युको अवस्था निम्तियो ।  

बिहीबारसम्म स्थिति सामान्य नभएपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ । जेनजी प्रदर्शनकारीले आफ्ना युवालाई कुटपिट गर्नेलाई नियन्त्रणमा लिन माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले नौ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । यस क्रममा प्रहरीले भने दुई वडाध्यक्षलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्दिन अन्सारी छन् । 

निर्वाचनका लागि सरकारले सुरक्षाको वातावरण बनाउन नसकेको दलहरूले आरोप लगाउँदै गर्दा भएको बारा घटनाले दलहरूको संशयलाई थप बल पुगेको सुरक्षा विश्लेषक बताउँछन् । पछिल्लो बारा घटनाको पूर्व आँकलन र सुरक्षाको पूर्व सर्तकतामा कमजोरी भएको नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले टिप्पणी गरे । चुनावको सरगर्मी बढ्दै जाँदा राज्यले भयरहित वातावरण बनाउन संयमित भएर लाग्नुपर्ने उनले बताए । खनालले मध्यान्हसँग भने, ‘चुनावी क्रियाकलापका लागि भयरहित वातावरण सिर्जना गर्नु सरकारको जिम्मेवारी हो । राज्यका संयन्त्रहरूले बेलैमा सुरक्षा संवेदनशीलता ख्याल गरेर अनियन्त्रित हुनबाट रोक्नुपर्छ ।’ मुलुकमा आएको असहज परिस्थितिको कारणबारे सरकार र सम्बन्धित निकायहरूले समयमै बुझेर त्यसको व्यवस्थापनामा लाग्नुपर्ने उनको सुझाव छ । जेनजीको भावना अवमूल्यन गर्नु ठिक नभएको भन्दै उनले भने ‘पुराना राजनीतिक दलहरूले जेनजीको भावनालाई अवमूल्यन गरेको देखिन्छ । असंगठित छ भन्ने नाममा जेनजीको भावना अवमूल्यन गर्नु विल्कुल ठिक होइन । फेरि पनि यस्ता घटना घट्न सक्ने आँकलन गरेर समयमै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आफूहरूले सुझाव दिँदै आएकाले सरकारले त्यसलाई गम्भीरताका साथ लिनुपर्ने खनालले बताए ।  

यस घटनाले सरकारले घोषणा गरेको चुनावी सुरक्षामा थप चुनौती थपेको छ । बुधबार युवा संघ नेपालले परवानीपुरमा मधेस प्रदेशस्तरीय कार्यक्रम राखेको थियो । पूर्वनिर्धारित कार्यक्रममा भाग लिन एमालेका महासचिव शंकर पोखरेलसहित नेताहरू सिमरा जाने काठमाडौं विमानस्थलबाट प्लेन चढ्नै लाग्दा सिमरामा एकाएक झडप भएको थियो । स्थानीय जेनजी समूहका संयोजकले भदौ २३ र २४ गतेका मृतक तथा घाइतेहरूले न्याय नपाएको विषयमा सरकारलाई सचेत गराउन भन्दै बिहान करिब १०.३० बजे सिमरा विमानस्थल गेटमा  जम्मा हुन आह्वान गरेका थिए । मंसिर २ र ३ गते फेसबुकमार्फत संयोजक शिव यादवले गरेको आह्वानअनुसार जेनजी युवाहरू सिमरा चोकमा जम्मा भएर नेताहरूलाई रोक्ने प्रयास गर्दा दुई पक्ष असामान्य परिस्थिति सिर्जना भएको हो । यही विषयलाई लिएर बिहीबार पनि दिनभरजसो सिमराक्षेत्र पुरै अशान्त बनेपछि स्थानीय प्रशासनले कर्फ्यू लगाएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले बताए ।

बाराको घटना दुई दिनसम्म साम्य नभएको विषयमा राष्ट्रिय सुरक्षा परिषद्को समेत ध्यानाकर्षण भएको छ । बिहीबार सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर बाराको सिमरामा उत्पन्न तनाव, एमालेले काठमाडौंमा गर्न लागेको जनप्रदर्शनलगायत विषयमा छलफल गरेको छ । यसैगरी दुर्गाप्रसाई समूहले ७ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरेको छ । प्रसाईलाई भने सरकारले पक्राउ गरी म्याद थप गरेर हिरासतमा राखेको छ । एमालेले मंसिर ६ गते काठमाडौंमा बृहत् प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । उक्त प्रदर्शनमा हुन सक्ने सम्भावित घटना प्रहरीले सूक्ष्म अध्ययन गर्दै आएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) अबिनारायण काफ्लेले बताए । ‘एमालेले गर्न लागेको प्रदर्शनका सम्बन्धमा हामीले सुरक्षा संवेदनशीलतालाई ख्याल गरेर चुस्त व्यवस्थापनको तयारीमा छौं । मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे सूक्ष्म अध्ययन र विश्लेषण गरेर सुरक्षा योजना तयारीमा नेपाल प्रहरी लागेको छ ।’ 

मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे बुझ्न र थप रणनीति अपनाउन प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा संयन्त्रलाई निर्देशन दिएकी छन् । बिहीबारको सुरक्षा परिषद् बैठकमा अर्थमन्त्री, गृहमन्त्री एवं सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए ।  

बारा घटनाका सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक तथा वैचारिक मत भिन्नता भए पनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्न नहुने बताएका छन् । ‘निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन र राजनीतिक दल र नेतालाई निर्वाध रूपमा हिँडडुल गर्न, सभा समारोह आयोजना गर्न सकिने वातावरण निर्माण गर्नु सरकारको जिम्मेवारी हो,’ उनले भने ।  राष्ट्रिय मानवअधिकार आयोगले समेत शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन सरकारलाई आग्रह गरेको छ । लोकतन्त्रमा हरेक राजनीतिक दललाई आफ्ना कार्यक्रम गर्न पाउने, विचार तथा व्यक्तिप्रति असहमति राख्ने र शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने अधिकार भए पनि सिमरामा यी दुवै अधिकारको अभ्यासमा गम्भीरता नदेखिएको विश्लेषण भइरहेको छ ।

चुनावमा सेना परिचालन गरिने

सरकारले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावमा नेपाली सेना परिचालन गर्ने तयारी गरेको छ । बिहीबार बसेको राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गरेको हो । त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने परिषद्ले निर्णय लिएको सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले बताए । ‘सिंहदरबारस्थित कार्यालयमा बसेको ४१ औं बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ,’ अर्यालले भने । 

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचाल गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको उनले बताए ।  प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषद्का सदस्यहरू अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिवसहितको बैठक बसेको थियो ।

ADV

सम्बन्धित खबर