
काठमाडौं : अकबर खानको नेतृत्वमा रहेको ‘राष्ट्र निर्माण दल नेपाल’ बिहीबार औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।
दर्तासँगै दल अब संगठन विस्तार, वैचारिक अभियान र वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ केन्द्रित हुँदै औपचारिक यात्रा सुरु गर्न तयार भएको उपाध्यक्ष खगेन्द्रप्रसाद ढकालले जानकारी दिए ।
दर्ता भएपछि बिहीबार अपराह्न सिनामंगलस्थित केन्द्रीय सम्पर्क कार्यालयमा दलको पहिलो केन्द्रीय समिति बैठक बसेको छ । बैठकले संगठन विस्तार, आगामी निर्वाचन तयारी र घोषणा–सभाबारे महत्वपूर्ण निर्णयहरू गरेको प्रवक्ता अफराज मन्सुरले बताए । दलले ३६ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ, जसमा विभिन्न प्रदेश, समुदाय र युवा पुस्ताको सहभागिता समेटिएको छ । दलमा काठमाडौंबाट अकबर खान अध्यक्ष, झापाका खगेन्द्रप्रसाद ढकाल उपाध्यक्ष, सुनसरीका गुरुदेवराम महासचिव र सिरहाकी युवा नेतृ शाबाना मुमताज सचिव रहेका छन् ।
प्रवक्ता मन्सुरका अनुसार देशभरबाट विशेष गरी जेन–जेड समूहका युवाहरू तीव्र गतिमा दलतर्फ आकर्षित भइरहेका छन् । बिहीबार मात्र सुनसरी, मोरङ, कपिलवस्तु, सप्तरी, धनुषा, रौतहट, पर्सा, कास्की र काठमाडौंसहित विभिन्न जिल्लाबाट पाँच सयभन्दा बढी युवाले सदस्यता लिएको दलले दाबी गरेको छ ।
दर्तासँगै केही दिनभित्र नै काठमाडौंमा विशाल घोषणा–सभा गर्ने तयारी गरिएको छ । उक्त सभामा राष्ट्र निर्माण दल नेपालको वैचारिक कार्यदिशा, नीति–कार्यक्रम, आर्थिक–सामाजिक दृष्टिकोण तथा राष्ट्रिय पुनर्निर्माणको दीर्घकालीन रोडम्याप सार्वजनिक गरिनेछ । दलले यसलाई आफ्नो ऐतिहासिक प्रारम्भिक कदमका रूपमा लिएको छ ।
दलले ‘गोलो घेराभित्र पानीको बोतल’ लाई आधिकारिक चुनाव चिन्हका रूपमा दर्ता गराएको छ । सचिव शाबाना मुमताजले दल अब मूलधारको राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरी सुशासन, राष्ट्रिय मेलमिलाप, राजनीतिक स्थिरता र नेपाली मौलिकतामा आधारित आधुनिक व्यवस्था निर्माण गर्ने राष्ट्रिय शक्ति बन्ने लक्ष्यका साथ अघि बढेको बताइन् । दल दर्ता भएसँगै मंसिरको अन्तिम सातातिर आयोजना हुने घोषणा–सभामार्फत राष्ट्रव्यापी परिचय र वैचारिक स्पष्टता प्रस्तुत गर्न टोली तयारी अवस्थामा छ ।