
नेपाली कांग्रेसको भविष्य र वर्तमान नेतृत्वको अवस्था आज एक गम्भीर बहसको विषय बनेको छ । पार्टीको आगामी महाधिवेशनको मिति तोक्ने कुरा हालसम्म कुनै निष्कर्षमा पुगेको छैन । अहिले कांग्रेसभित्र एकातर्फ, संस्थापन पक्ष जसले महाधिवेशन वैशाख महिनामा मात्र गर्नुपर्ने अडान राखेको छ भने अर्कोतर्फ, इतर पक्ष जसले यसलाई पुसको तेस्रो हप्ता अघि नै सम्पन्न गर्नुपर्ने माग गरिरहेको छ । यसबिचमा पार्टीको नेतृत्वका बिचको संघर्ष र असहमतिहरू थप जटिल बनेका छन् ।
संस्थापन पक्षले महाधिवेशनलाई चुनावको परिणाममा असर नपर्ने गरी ढिलो गर्नुपर्ने जिकिर गरिरहेको छ, कारण कि महाधिवेशनको समय र संशाधन चुनावी तयारीसँग समन्वय गर्न कठिन हुनेछ । यसले पार्टीमा नयाँ आन्तरिक चुनावको प्रतिस्पर्धालाई तीव्र बनाउने र चुनावी रणनीतिमा बाधा पुग्ने डर व्यक्त गरेको छ । अर्को तर्फ, इतर पक्षले भने पार्टीको नीति र नेतृत्वको बद्लावको आवश्यकता र महत्वको कुरा उठाउँदै विशेष महाधिवेशनको पक्षमा अडान लिइरहेको छ । सँगै, महाधिवेशन चुनाव अगाडि नै सम्पन्न गर्नुपर्ने अडान इतर पक्षको छ ।
नेपाली कांग्रेसको हालको नेतृत्व एक तरहले पार्टीको संस्थापन र परम्परागत संरचनामा अडिग छ, तर बदलिँदो परिप्रेक्ष्य र जेनजी आन्दोलनको प्रभावले पार्टीको अस्तित्व र भविष्यको बारेमा गम्भीर प्रश्न उठाइरहेको छ । पार्टीका पुराना नेताहरू विशेषगरी शेरबहादुर देउवा र उनको समर्थकहरूले पार्टीमा पुराना संरचनालाई कायम राख्न चाहिरहेका छन् । यसले पार्टीका नवजात नेता र कार्यकर्तासँग टकराबको अवस्था सिर्जना गरेको छ । गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेता नयाँ विचार र शैलीका साथ पार्टीको नेतृत्वमा आइसकेका छन् । उनीहरूलाई मात्र पार्टीको भविष्य देखिन्छ भन्ने धारणा धेरै कार्यकर्तामा बलियो छ, जसले पार्टीको पुरानो नेतृत्वसँग संघर्ष गरेको छ ।
यस्ता युवा नेताहरू जसले जनताको असन्तुष्टि र आक्रोशलाई बुझेर आफ्नो नेतृत्व प्रस्तुत गरेका छन्, पार्टीको स्थायित्व र प्रगतिको प्रतीक बनेका छन् । गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेता मात्र होइन, अन्य उदीयमान नेताहरूलाई पनि नेतृत्वको अवसर दिने कुरा पार्टीको सन्देश र उद्देश्यमा परिमार्जन गर्न आवश्यक देखिन्छ । यी युवा नेता र कार्यकर्ताले आफ्नो बलमा पार्टीको शीर्ष तहसम्मको यात्रा तय गरेका छन् र आज जनताको माझ लोकप्रिय भएका छन् ।
आजको आवश्यकता भनेको कांग्रेसलाई समयसापेक्ष बनाउनु हो, जसले गौरवमय इतिहासलाई अझ मजबुत बनाउन सक्छ । यद्यपि, पार्टीको पुरानो नेतृत्व अझै पनि आफ्नो पदीय अधिकार र सत्ता कायम राख्न चाहन्छ, जसका कारण महाधिवेशनको मिति र पार्टीको आगामी रणनीतिका बारेमा गम्भीर असहमतिहरू देखिएको हो ।
सहमतिका आधारमा चुनावको टिकट वितरण र समानुपातिक चयनमा पार्टीको नीति र संरचनामा सुधार ल्याउने कुरा गगन थापा र अन्य युवा नेताहरूको विचारमा प्रमुख छ । कुनै पनि पार्टीको सफलता केवल आन्तरिक नेतृत्व परिवर्तनमा मात्र नभएर, यसले जनताको मनमा विश्वास र भरोसा जित्न सक्नुमा पनि निर्भर गर्दछ । यसका लागि पार्टीको नेता र कार्यकर्ताले आफ्नो पुराना असहमति र स्वार्थको परिधि हटाएर एकजुट हुनुपर्छ । महाधिवेशनको मिति निर्धारित गर्न ढिलाइ नगरी समयमै चुनावी तयारीमा जुट्न आवश्यक छ ।
यदि नेपाली कांग्रेस पुरानो नेतृत्वको सीमित ढाँचामा मात्र बाँधिएर महाधिवेशन गर्छ र पार्टीको नीति र नेतृत्वमा परिवर्तनको इच्छा व्यक्त गर्दैन भने यो पार्टी इतिहासको अंश मात्र बन्ने निश्चित छ । यो परिवर्तन र समायोजनको समय हो । कांग्रेसलाई आफ्नो अस्तित्व बचाइराख्न र पुनः राष्ट्रको नेतृत्व गर्ने पार्टीको रूपमा आफूलाई साबित गर्न नयाँ नेतृत्व र नयाँ सोच अनिवार्य छ ।
नेपाली कांग्रेसको भविष्य भनेको नेतृत्व र नीति परिवर्तनमा निर्भर गर्दछ । गगन थापा र विश्वप्रकाश शर्मा जस्ता युवा नेताहरूको नेतृत्वमा कांग्रेसलाई अझ राम्रो र प्रगतिशील पार्टीको रूपमा प्रस्तुत गर्न सकिन्छ । उनीहरूलाई नेतृत्वको अवसर दिनाले मात्र कांग्रेसको भविष्य उज्ज्वल हुनेछ । यदि पुरानो नेतृत्वको कमजोर र प्रतिक्रियाशील मानसिकताले पार्टीलाई नियन्त्रण गर्न चाहन्छ भने पार्टी भविष्यमा संघर्ष र अपमानको सिकार बन्न सक्छ ।
कांग्रेसको नेतृत्व परिवर्तनमा चुनौतीपूर्ण कदम चाल्नु पर्ने समय अहिले नै हो । युवा नेता र नयाँ विचारलाई नेतृत्वमा ल्याउनु कांग्रेसको पुरानो संरचनालाई बदल्ने र पार्टीलाई आगामी चुनौतीहरूसँग जुध्न सक्षम बनाउने कदम हुनेछ । पार्टीको भविष्य अब चाडै महाधिवेशनको मिति र नेतृत्वमा हुने परिवर्तनको आधारमा तय हुनेछ ।
यसको प्रमुख कुरा भनेको नेतृत्वको पुस्तान्तरण, पार्टीको नीति र संरचनामा आधुनिक सोचको समावेश गर्नु हो । कांग्रेसका नेतृत्वमा रहेका पुराना नेताहरूलाई अब पार्टीलाई भविष्यका लागि तैयार बनाउन गगन–विश्वजस्ता युवा नेता र विचारकहरूको साथ दिनु आवश्यक छ ।