२०८२ मंसिर ६ गते शनिवार / Nov 22 , 2025 , Saturday
२०८२ मंसिर ६ गते शनिवार
Ads

नाइजेरियामा ३ सय १५ शिक्षक र विद्यार्थी अपहरण 

shivam cement
२०८२ मंसिर ६ गते १६:५१
Shares
नाइजेरियामा ३ सय १५ शिक्षक र विद्यार्थी अपहरण 

काठमाडौं : अफ्रिकाको सबैभन्दा बढी जनसंख्या भएको मुलुक नाइजेरियामा हालसालै विद्यालयहरूलाई लक्षित गरी भइरहेका निरन्तर अपहरण घटनाले सुरक्षा जोखिम झनै गम्भीर बन्दै गएको छ । 

गत एक हप्तामा दोस्रो पटक सामूहिक विद्यालय अपहरण भएको प्रकरणमा कुल ३ सय १५ जना विद्यार्थी तथा शिक्षक अपहरणमा परेको तथ्यांक पुष्टि भएको नाइजेरियाको क्रिश्चियन एसोसिएसनले शनिबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

मध्य नाइजेरियाको नाइजर राज्यस्थित सेन्ट मेरी स्कूलमा शुक्रबार बिहानै सशस्त्र बन्दुकधारीहरूको समूह छिरेर ठूलो संख्यामा विद्यार्थी तथा शिक्षकलाई अपहरण गरेको बताइन्छ । यसअघि छिमेकी केब्बी राज्यको एक माध्यमिक विद्यालयमा पनि यिनै समूहले आक्रमण गरी २५ जना बालिकालाई अपहरण गरेका थिए ।

क्रिश्चियन एसोसिएसनका अनुसार ‘प्रमाणीकरण अभ्यास सम्पन्न भएपछि’ नयाँ विवरण सार्वजनिक गरिएको हो, जसअनुसार ‘अपहरण गरिएका पीडितहरूको कुल संख्या अहिले ३०३ विद्यार्थी र १२ शिक्षक गरी ३१५ पुगेको’ उल्लेख छ । विद्यालयमा भर्ना भएका ६२९ विद्यार्थीमध्ये करिब आधा अपहरणमा परेका हुन्, जसले अभिभावक र स्थानीय समुदायलाई त्रसित पारेको छ ।

क्षेत्रीय असुरक्षा बढेपछि कात्सिना र पठार राज्यका अधिकारीहरूले सबै विद्यालय अस्थायी रूपमा बन्द गर्न आदेश दिएका छन् । नाइजर राज्य सरकारले समेत धेरै विद्यालय बन्द गर्दै कडा सुरक्षा सतर्कता अपनाएको छ । यता, राष्ट्रिय संकट गहिरिँदै गएपछि राष्ट्रपति बोला टिनुबुले जोहानेसबर्गमा हुँदै गरेको जी–२० शिखर सम्मेलनसहित अन्तर्राष्ट्रिय कार्यक्रमहरू रद्द गरी देशभित्रै बस्ने निर्णय गरेका छन् ।

नाइजेरियामा इसाई समुदायमाथि निशाना बनाइएका हिंसात्मक घटनामा पनि वृद्धि भएको स्थानीय समूहहरूले उल्लेख गरेका छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा कट्टरपन्थी इस्लामवादीहरूद्वारा इसाईहरूको हत्या भइरहेको दाबी गर्दै सैन्य हस्तक्षेपको चेतावनी दिएको केही दिनमै देशको पश्चिमी क्षेत्रमा दुईवटा चर्चमाथि आक्रमण हुँदा दुई जनाको मृत्यु भएको र समान समयमा दुई नयाँ अपहरण अभियान भएको रिपोर्ट प्राप्त भएको छ ।

नाइजेरियामा विद्यालय लक्षित अपहरणको इतिहास झनै पीडादायी छ । करिब एक दशकअघि उत्तरी बोर्नो राज्यको चिबोकमा बोको हराम जिहादीहरूले करिब ३०० बालिकालाई अपहरण गरेको घटना आज पनि नाइजेरियाली जनमानसमा गहिरो घाउका रूपमा रहेको छ । तीमध्ये केही बालिका अझैसम्म पनि हराइरहेका छन्, जसले वर्तमान घटनालाई झनै भयावह बनाएको छ ।

ADV

सम्बन्धित खबर