
इपो, मलेसिया : मलेसियाको पेराक राज्यस्थित तान्जुङ रामबुटान नजिकै रहेको एक आदिवासी गाउँको नदी किनारमा दुई जना पुरुष मृत फेला परेका छन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार अक्टोबर २४, शनिबार दिउँसो काम्पुङ ओराङ अस्ली सुंगाई टोङगाङस्थित नदी किनारमा डुबेका दुई पुरुषको उद्धारका लागि आपत्कालीन सहयोग माग गरिएको थियो ।
पेराक अग्नि तथा उद्धार विभागका सहायक सञ्चालन निर्देशक साबारोज्दी नोर अहमदका अनुसार दिउँसो २ बजेर ५५ मिनेटमा घटनाबारे सूचना प्राप्त भएको थियो । त्यसपछि ताम्बुन अग्नि तथा उद्धार केन्द्रबाट खटिएको टोली दिउँसो ३ बजेर २८ मिनेटमा घटनास्थल पुगेको थियो ।
उद्धार टोलीले घना जङ्गलको बाटो हुँदै करिब ६०० मिटर पैदल यात्रा गरेर घटनास्थलमा पुग्नुपरेको थियो । नदी किनारमा ४२ र ५० वर्ष उमेरका दुई पुरुष अचेत अवस्थामा फेला परेका थिए ।
नदीको अर्को किनारमा रहेका उनीहरूलाई उद्धारकर्मीले स्ट्रेचरको सहायताले बाहिर निकालेका थिए । त्यसपछि दुवै जनालाई स्वास्थ्य मन्त्रालयका कर्मचारीको जिम्मा लगाइएको थियो । स्वास्थ्यकर्मीले परीक्षणपछि उनीहरूको मृत्यु भइसकेको पुष्टि गरेका थिए ।
मृतकका शवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीको जिम्मा लगाइएको सहायक सञ्चालन निर्देशक अहमदले जानकारी दिएका छन् ।
उक्त उद्धार कार्यमा आठ जना अग्नि तथा उद्धारकर्मी सहभागी थिए । उनीहरूलाई पाँच जना प्रहरी कर्मचारी र स्वास्थ्य मन्त्रालयका छ जना कर्मचारीले सहयोग गरेका थिए । उद्धार अभियान साँझ ५ बजेर ५ मिनेटमा सम्पन्न भएको थियो ।
मृतकको नाम, राष्ट्रियता तथा नदीमा डुब्नुको वास्तविक कारण खुलाइएको छैन । उनीहरू नेपाली नागरिक हुन् वा अन्य देशका नागरिक भन्नेबारे पनि आधिकारिक जानकारी सार्वजनिक भएको छैन ।