२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

दक्षिण कोरियाको रासायनिक कारखानामा आगलागी, सात हजार कामदार बाहिर निकालिए

Nada
२०८३ असोज २८ गते १८:२७
Shares
दक्षिण कोरियाको रासायनिक कारखानामा आगलागी, सात हजार कामदार बाहिर निकालिए

एजेन्सी : दक्षिण कोरियाको दक्षिण पूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माण स्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको योन्हाप समाचार एजेन्सीले जनाएको छ ।

ncell

सियोलबाट करिब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको कारखानामा स्थानीय समयअनुसार बिहान ९:४१ बजे आगो लागेको थियो । कारखानामा कार्यरत सबै १२ जना कर्मचारी सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

अत्यधिक ज्वलनशील पदार्थ टोल्युइन भण्डारण गरिएको बाहिरी ट्यांकीबाट आगो सुरु भएको अधिकारीहरूले बताएका छन् । उक्त ट्यांकीमा आठ हजार लिटर टोल्युइन रहेको थियो । आगोबाट उडेका झिल्काहरू नजिकैको अर्को क्षेत्रमा खस्दा त्यहाँ पनि आगलागी भएको थियो । आगो छेउछाउका रासायनिक भण्डारण ट्यांकीमा फैलिन सक्ने जोखिमसमेत देखिएको थियो ।

आगलागीपछि बाक्लो कालो धुवाँ र विषाक्त गन्ध फैलिएपछि आसपासको क्षेत्र खाली गराइएको थियो । सम्भावित जोखिमबाट जोगाउन नजिकैको पेट्रोकेमिकल कारखानाको निर्माण स्थलमा कार्यरत करिब सात हजार कामदारलाई बाहिर निकालिएको थियो । अन्य नजिकका उद्योग तथा व्यवसायका कर्मचारीलाई पनि सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको थियो ।

आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रण अधिकारीहरूले राष्ट्रिय स्तरको आपत्कालीन परिचालन आदेश जारी गरेका थिए । त्यसपछि विशेष अग्नि नियन्त्रण सवारीसाधन, हेलिकप्टर र आसपासका सहर तथा क्षेत्रबाट दुई सयभन्दा बढी अग्नि नियन्त्रक परिचालन गरिएको थियो ।

अधिकारीहरूका अनुसार दिउँसो १:३४ बजे आगो नियन्त्रणमा लिइएको थियो भने १:५० बजे पूर्ण रूपमा निभाइएको थियो । घटनाको वास्तविक कारण र त्यसबाट भएको क्षतिको विवरण पत्ता लगाउन अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन् ।

ताजा खबर

सम्बन्धित खबर