
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा नै नयाँ नेपालको नेतृत्व भएको बताएका छन् ।
पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित ‘जेन–जीसँग नेकपा’ कार्यक्रममा उनले युवालाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा नयाँ नेपालको नेता बनाउनेबारे पार्टीभित्र घनिभूत छलफल भइरहेको बताए ।
‘मैले नयाँ पुस्तामा नवीन सपना देखिरहेको छु । अब युवालाई उत्तराधिकारी बनाउने र जिम्मेवारी सुम्पने सपना देख्नुपर्छ । युवालाई नयाँ नेपालको नेतृत्वका रूपमा तयार पार्नुपर्छ । त्यस विषयमा पार्टीले भूमिका खेल्नेछ,’ संयोजक प्रचण्डले भने ।
उनले पार्टी कमिटी र निर्वाचनमा धेरैभन्दा धेरै युवालाई प्राथमिकता दिइने बताए । ‘नयाँ पुस्ताको युवालाई बढीभन्दा बढी जिम्मेवारी सुम्पने वातावरण बनाउन हामी पुराना पुस्ताका क्रान्तिकारीहरूको दायित्व हो । अब हामी छिट्टै त्यो निर्णय पनि गर्दैछौं,’ उनले भने ।
संयोजक दाहालले मुलुकबाट भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न ‘जेनजी’ युवाले लिएको पहलले संसारभरका नेपालीमा नयाँ चेतना पैदा भएको बताएका छन् । उनले जेनजी आन्दोलनले सबैलाई आत्मालोचना गर्ने ठाउँमा पुर्याएको पनि धारणा राखे ।
आफ्नो पार्टीले लामो समयदेखि हामीले उठाउँदै आएका सुधारका विषय र जेनजीले राखेका माग समान रहेको भन्दै संयोजक दाहालले विगतमा भएका गल्ती, कमजोरी स्वीकार गर्ने र युवाको भावनाअनुसार आफूलाई बदल्ने नयाँ सङ्कल्प जेनजी आन्दोलनबाट प्राप्त भएको जिकिर गरे ।
नेकपाका नेता जगन्नाथ खतिवडाले ‘जेनजी’ पुस्ताको आवाज आफ्नो पार्टीले मात्रै सुन्ने र त्यसैअनुसार भूमिका निर्वाह गर्ने बताए । युवाको चाहना मुलुकबाट भ्रष्टाचार अन्त्य र सुशासन स्थापना रहेको भन्दै उनले यही संकल्प बोकेर नेकपा अघि बढिरहको बताए ।
त्यस अवसरमा जेनजी युवा माओवादीमा सहभागी भएको घोषणा गरिएको थियो ।