
साउदी अरब : गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरब अन्तर्गतको क्षेत्रीय समन्वय समिति आभा–खमिस र हातेमालो प्रवासी नेपाली समूहको संयुक्त आयोजनामा राहदानी नवीकरण तथा श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
महावाणिज्य दूतावास, जेद्दाको प्राविधिक सहयोगमा २०२५ नोभेम्बर १४ (शुक्रबार) आयोजित कार्यक्रममा कुल २१९ जना नेपाली श्रमिकले प्रत्यक्ष सेवा प्राप्त गरेका छन् ।
दूरदराजका क्षेत्रबाट आएका नेपाली श्रमिकहरूले राहदानी नवीकरणका लागि फाराम दर्ता गराउने तथा आवश्यक परामर्श लिने अवसर पाएका थिए । साथै, साउदी अरबमा रोजगारीका क्रममा अपनाउनुपर्ने सावधानी, कानुनी प्रक्रिया र श्रमिकका हकहितसम्बन्धी विषयमा अन्तरक्रिया तथा सचेतनामूलक सत्र पनि सञ्चालन गरिएको थियो ।

यस कार्यक्रमका लागि महावाणिज्य दूतावास, जेद्दाबाट प्राविधिक टोली उपस्थित भइ प्रत्यक्ष सेवा प्रदान गरेको थियो। कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा क्षेत्रीय समन्वय समिति आभा–खमिस र हातेमालो प्रवासी नेपाली समूह सक्रिय रूपमा संलग्न रहेका थिए ।
शिविर सफल बनाउन विभिन्न संघसंस्थाका पदाधिकारी तथा स्वयंसेवकहरूले गरेको प्रत्यक्ष–अप्रत्यक्ष योगदानप्रति गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साउदी अरबले धन्यवाद ज्ञापन गरेको छ । संघले आगामी दिनमा पनि समुदायमुखी सेवामूलक कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्ने विश्वास व्यक्त गरेको छ ।