
लिस्बन : वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको सडक दुर्घटनामा परी निधन भएको छ ।
विगत साढे दुई वर्षदेखि पोर्चुगल बस्दै आएका सुनसरीको इटहरी उपमहानगरपालिका-५ पिपलचोकका ४१ वर्षीय नागेन्द्र चौधरीको भिसेउ साटाओस्थित ट्राभेन्सेलामा भएको सडक दुर्घटनामा परी निधन भएको हो । बजारबाट सामान किनमेल गरी इलेक्ट्रिक साइकलमा घर फर्कँदै गरेका उनलाई तीव्र गतिमा आएको कारले पछाडिबाट ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको उनका साथी राजाराम श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार गत आइतबार साँझ चौधरीसहित अन्य तीन नेपाली इलेक्ट्रिक साइकलमा बजार गएका थिए । बजारबाट फर्कने क्रममा कारले एक्कासी ठक्कर दिएपछि चौधरी सडकमै अचेत भएर ढलेका थिए । दुर्घटनालगत्तै आएको प्रहरी र एम्बुलेन्ससहितको चिकित्सकको टोलीले चौधरीलाई घटनास्थलमै मृत घोषित गरेको थियो ।
चौधरीको दुर्घटनामा परी ज्यान गएको घटनाबारे घरपरिवारलाई जानकारी गराइएको र परिवारले उनको शव नेपाल पठाइदिन आग्रह गरेको श्रेष्ठले बताए । घरपरिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर रहेको र शव पठाउनसमेत खर्चिलो हुने भएकाले आर्थिक सहयोग संकलन सुरु गरिएको बताउँदै श्रेष्ठले सो अभियानमा सहयोग गर्न पोर्चुगलवासी नेपाली समुदायसँग विशेष आग्रह गरे। यस्तै घटनका विषयमा लिस्बनस्थित नेपाली दूतावासलाई जानकारी गराइएको र आवश्यक सहयोगका लागि आग्रह गरिएको उनले बताए ।
मृतक चौधरीका वृद्ध बुबाआमा, श्रीमती र छोराछोरी नेपालमा रहेका छन् । उनी भिसेउको साटाओ ट्राभेन्सेलास्थित एक कृषि कम्पनीमा कार्यरत थिए । चौधरीको शव भिसेउ अस्पतालको शव गृहमा राखिएको छ । रोजगारीकै सिलसिलामा क्रोएसिया हुँदै साढे दुई वर्षअघि पोर्चुगल आएका चौधरी पूर्व नेपाली सेनासमेत हुन् ।