
जुबेल, साउदी अरब : साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूलाई राहदानी सेवा सहज बनाउन रियादस्थित नेपाली दूतावासको आयोजनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साउदी अरबको सहकार्यमा जुबेलको काफिरमा नोभेम्बर ७ र ८ मा आयोजित दुईदिने राहदानी सेवा शिविर सम्पन्न भएको छ ।
नेपाली राजदूतावासको द्वितीय सचिव अम्बरबहादुर नेपालीको नेतृत्वमा आयोजित शिविरमार्फत १ हजार २५ जना श्रमिकको इ-पासपोर्ट लाइभ इनरोलमेन्ट गरिएको छ भने ६३५ जना श्रमिकलाई नयाँ राहदानी वितरण गरिएको एनआरएनए साउदी अरबका अध्यक्ष उमेश भट्टराईले जानकारी दिए ।
अध्यक्ष भट्टराईका अनुसार साउदीको पूर्वी क्षेत्रमा कार्यरत श्रमिकहरूलाई दूतावासको सेवा कार्यास्थलमै उपलब्ध गराउन गरिएको यो पहल प्रभावकारी देखिएको छ ।
उनले भने, “श्रमिकको रेखदेख, राहदानी समस्या समाधान तथा कानुनी प्रक्रियामा सहजीकरण हाम्रो प्राथमिक लक्ष्य हो । यस्ता शिविरलाई निरन्तरता दिइनेछ ।”
शिविरमा राहदानी नवीकरण, राहदानी वितरण, केस परेका श्रमिकहरूको विवरण संकलन, कानुनी सल्लाह तथा नेपाल फर्किने प्रक्रियासम्बन्धी निःशुल्क सेवा प्रदान गरिएको दूतावासले जनाएको छ ।
शिविरमा जुबेल, दम्माम, खोबार, होफुफ, कतिफ, रैमाहलगायत क्षेत्रमा कार्यरत नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो । दूतावासले शिविर सफल बनाउन सहयोग गर्ने साउदी अरबमा सक्रिय संघसंस्था र स्वयंसेवकहरूलाई धन्यवाद व्यक्त गरेको छ ।