
लिस्बन : विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि पोर्चुगलको फारोबाट एक सय बढी नेपालीको राहदानी आवेदन संकलन गरिएको छ ।
लिस्बनस्थित नेपाली दूतावासको टोलीले अल्गार्भको फारोमा सञ्चालन गरेको राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण (कन्सुलर सेवा)सम्बन्धी दुई दिने घुम्ती शिविरबाट १ सय २० जना नेपालीको विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन संकलन गरेको हो ।
शिविरबाट १ सय २० जनाको राहदानी नवीकरण, २८ वटा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) र ३६ वटा अन्य कागजात प्रमाणीकरण गरी झन्डै २ सय नेपालीलाई सेवा प्रदान गरिएको टोली प्रमुख एवं लिस्बनस्थित नेपाली दूतावासका प्रथम सचिव रामबाबु नेपालले जानकारी दिए ।
उनका अनुसार शिविरबाट १८ हजार ५ सय १५ युरो अर्थात् ३० लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ । अल्गार्भ क्षेत्रमा देखिएको राहदानीलगायतका कागजातसम्बन्धी समस्यालाई सम्बोधन गर्ने योजनाअनुरूप पहिलोपटक सञ्चालन गरिएको शिविरबाट नेपाली सेवाग्राही लाभान्वित भएको उनले बताए ।
घुम्ती शिविरमार्फत फारोमै दूतावासको सेवा पाउँदा राहत मिलेको भन्दै सेवाग्राहीले खुशी व्यक्त गरेको नेपालले बताए ।
शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा राहदानीको म्याद सकिएका, राहदानीको म्याद एक वर्षभन्दा कम भएका, क्षति भएका, हराएका र बालबालिकाको विद्युतीय राहदानीका लागि आवेदन संकलन गरिएको थियो भने प्रहरी ‘रिपोर्ट’ लगायतका कागजात प्रमाणीकरणसम्बन्धी सेवा प्रदान गरिएको थियो ।
शिविरमा लागोस, फारो, अल्बुफेइरा, पोर्टिमाओ, भिलामौरा, ताभिरालगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीले सेवा लिएको दूतावासले जनाएको छ ।
शिविरमा दूतावासका प्रथम सचिव नेपाल, तृतीय सचिव अनिल राना र स्थानीय कर्मचारीको टोली खटिएको थियो ।
राहदानी नवीकरण तथा प्रहरी रिपोर्टलगायतका कागजात प्रमाणीकरणको समस्या भोगिरहेका अल्गार्भ क्षेत्रका नेपालीहरूको सहजताका लागि घुम्ती शिविरमार्फत सेवा प्रदान गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले बताए ।
आगामी दिनमा पनि लिस्बन बाहिरका विभिन्न क्षेत्रमा रहेका नेपालीहरूको सहजताका लागि आवश्यकताअनुसार घुम्ती शिविर सञ्चालन गरी सेवा प्रवाह गर्ने दूतावासको योजना रहेको राजदूत पौडेलले बताए ।