२०८२ कार्तिक १५ गते शनिवार / Nov 01 , 2025 , Saturday
२०८२ कार्तिक १५ गते शनिवार
Ads

नेपालको चित्र : ‘बूढो समय’

shivam cement
तुलसी गौतम
२०८२ कार्तिक १५ गते ०६:१५
नेपालको चित्र : ‘बूढो समय’

आकाश कालो लाग्छ
बादलका चाँदनी घेरा देखिँदैन
घाम चिसा छन्
धर्ती मलिन छन्
सम्बन्धहरू तुवाँलाले ढाक्दै छन्
बिहान; बिहान जस्तै लाग्दैन
रात; रात जस्तै लाग्दैन
एक्लिएर सम्झनाका ताँतीहरू एकोहोरो खनिइरहन्छन्
मायालुहरूले
मानसपटलमा काउकुती लगाइरहन्छ 
अपसोच !
सपनाहरू खडेरीमा छन्
बिपनाहरू विश्राममा छन्
भविष्यहरू बेठेगानमा छन्
बिचरो बूढो समय !

बाबुराम श्रेष्ठ ‘यात्री’ नेपाली साहित्यका क्षेत्रमा सुनिरहेको नाम हो । तर, अहिले उनले ‘निरूपम श्रेष्ठ’को नामबाट साहित्यका विविध विधामा विचरण गरिरहेको तथ्य नेपाली साहित्यका पाठकलाई थाहा छ । उनी साठी र सत्तरीको दशकमा सक्रिय भएका सशक्त नेपाली कवि हुन् । पेसाले शिक्षक रहेका उनले सामाजिक यथार्थ, समयको रूपान्तरण र मानवीय मूल्यहरूको क्षयजस्ता विषयहरूलाई आफ्नो कवितामा संवेदनशीलतापूर्वक अभिव्यक्त गरेका छन् । उनका कविता संग्रहहरू ‘देश स्वप्न’ (२०६३) र ‘बूढो समय’ (२०७९) प्रकाशित छन् । उनी यथार्थवादी दृष्टिकोणका कवि हुन् जसले समय, समाज र जनजीवनका अन्तरद्वन्द्वलाई कलात्मक ढङ्गले उजागर गर्छन् ।

कविता ‘बूढो समय’ले नेपालको सामाजिक, आर्थिक र नैतिक अधोगतिको यथार्थलाई समयको प्रतीक प्रयोग गरेर चित्रण गरेको छ । यहाँ ‘बूढो समय’ एक पुस्तक मात्रै होइन, देशकै चित्रण हो, जुन कहिले सगरमाथा समान गर्विलो, साहसी र स्वाभिमानी थियो, तर आज थकित, घाइते र अपमानित बनेको छ । कवि भन्न चाहन्छन्– हिजोको समयमा देश आत्मनिर्भर, श्रम र सदाचारले भरिएको थियो; तर आज स्वार्थ, भ्रष्टाचार, विदेश प्रेम र असमानताले भरिएको छ । यसरी ‘बूढो समय’ नेपालको विगतको गौरव र वर्तमानको पतनबिचको अन्तरद्वन्द्व हो ।

कविताको मुख्य सन्देश देशभक्तिपूर्ण र चेतनामूलक छ । कविले नेपाली समाजमा फैलिएको बेथिति, बेरोजगारी, स्वार्थ र नीतिहीन राजनीतिप्रति रोष प्रकट गरेका छन् । पसिना, इमान र उमेर खाडीमा बेचिनु नेपाली युवाको विडम्बना हो । देशभित्रका खेत बाँझा छन्, पाका पुस्ता र बालबालिका मात्र बाँकी छन्, जुन सामाजिक विघटनको प्रतिविम्ब हो । मानवीय मूल्य, सदाचार र श्रमको सम्मान हराएको समाजमा ‘समय’ नै बूढो बन्न बाध्य भएको छ । यसरी कविले नेपालको अहिलेको अवस्थामाथि व्यङ्ग्य गर्दै सचेत गराएका छन्– देशको गौरव पुनर्जीवित गर्न जनचेतना, इमान र श्रमको पुनस्र्थापना अपरिहार्य छ ।

कवितामा हिजो र आजबिचको तीव्र भिन्नता स्पष्ट छ । हिजोको नेपाल आत्मनिर्भर, श्रमशील, स्वाभिमानी, भावनात्मक र निःस्वार्थ थियो । मानिसहरू बिच सम्बन्ध र मायाको तातोपन थियो । सगरमाथा पैताला मुनि हुने गर्व, अरुणका गल्छी वारपार गर्ने साहस र लेकका गुराँस बटुल्ने हर्षले भरिएको समाज थियो । आजको नेपाल बेरोजगारी, बेथिति र विदेशमुखी बनिसकेको छ । युवा वर्ग श्रम बेच्न खाडी मुलुक जान बाध्य छन्, देशका खेत बाँझा छन्, घरमा बूढा र बालबालिका मात्र छन् । सहर र गाउँबिचको दूरी बढ्दै गएको छ, समाजमा असन्तुलन र स्वार्थको जाल फैलिएको छ । यसरी, कविले नेपालको विगतको गौरव र वर्तमानको विकृतिबिचको विरोधाभासलाई मार्मिक रूपमा प्रस्तुत गरेका छन् ।

बाबुराम श्रेष्ठ ‘यात्री’को लेखन शैली यथार्थवादी, प्रतीकात्मक र आलोचनात्मक छ । उनले ‘बूढो समय’ जस्तो शक्तिशाली रूपक प्रयोग गरेर देशकै अवस्थालाई समयसँग तुलना गरेका छन् । चित्रात्मकता र बिम्बात्मकता अत्यन्त प्रभावकारी छन् । ‘सगरमाथा पैताला मुनि’, ‘गौरव गर्छन् यसरी उडिरहँदा’, ‘ढुकुटी मुसाले खनिरहेछन्’, ‘बूढो समयको गाला पटपट फुटिरहेछ’ आदि दृश्य बिम्बहरूले कवितालाई जीवित बनाएका छन् । कविको भाषा सादा तर प्रभावशाली, भावना गहिरो तर सन्तुलित र वाणी विद्रोही छ । कवितामा आवेगात्मक र व्यङ्ग्यात्मक लय पनि पाइन्छ, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ ।

बाबुराम श्रेष्ठ ‘यात्री’को ‘बूढो समय’ कवितामा प्रयोग गरिएको ‘ऊ’ र ‘बूढो समय’ दुवै गहिरा प्रतीकात्मक सङ्केत हुन् । यी सामान्य व्यक्ति वा भौतिक समय होइनन्, देश र समाजकै चेतनाको रूपक हुन् । ‘ऊ’ को प्रतीकात्मक अर्थ– कवितामा ‘ऊ’ शब्द प्रयोग गरिएको छ, जस्तै– ‘ऊ पिच्छ थुक्छ आज भोलीहरूलाई...’

‘उसको साहसले हजारौँ पटक सगरमाथाहरू पैतालामा हुन्थे...’

यहाँ ‘ऊ’ कुनै व्यक्तिलाई होइन, नेपाल देशकै रूपमा व्यक्त गरिएको चेतनशील आत्मा हो । कवि ‘ऊ’ लाई मानवीय गुण दिँदै देशलाई एउटा बूढो, थकित र पीडित पात्रका रूपमा प्रस्तुत गर्छन् । ‘ऊ’ ले नेपालको आत्मा, जनताको सामूहिक चेतना, विगतको स्वाभिमान र आजको पीडाका साथै युगको थकान र विवशता जनाउँछ । यस अर्थमा ‘ऊ’ ले देशको त्यो आत्मबल जनाउँछ, जुन कहिले सगरमाथा पैतालामुनि राख्थ्यो, तर अहिले समय र परिस्थितिले निस्तेज बनाइदिएको छ ।

‘बूढो समय’ कविताको मुख्य रूपक हो । यो नेपालको वर्तमान युग वा अवस्थाको प्रतीक हो, जसमा देशको उमेर होइन, तर उसको उत्साह, साहस र स्वाभिमान बूढो बनेको जनाइएको छ, जस्तै ः ‘बिचरो बूढो समय !’ ‘हातखुट्टा बाँधेर लडाएका बूढो समय एक कुनामा घाइते छ ।’ यसले देखाउँछ– देशको वर्तमान अवस्था थकित, अन्यायग्रस्त र असहाय छ । मूल्य, नैतिकता र आदर्श बूढा भएका छन् । जनताका सपना, श्रम र सम्भावना निष्क्रिय बनेका छन् । अर्थात्, ‘बूढो समय’ : आजको नेपाली समाज र शासन प्रणालीको थकित मनोवस्था हो, जहाँ इमान, श्रम र देश प्रेम बूढा भइसकेका छन्, तर आत्मा अझै बाँकी छ, चेतना अझै बाँकी छ । त्यसैले कविले ‘ऊ’लाई अझै चेतनशील र प्रतिरोधी रूपमा देखाएका छन् । यसरी, ‘ऊ’ देशको आत्मा, चेतना, स्वाभिमान र जनताको सामूहिक रूप हो भने ‘बूढो समय’ नेपालको वर्तमान युग÷सामाजिक अवस्था, जहाँ मूल्य र आदर्श थकित छन् भन्ने हो ।

‘बूढो समय’ कवि बाबुराम श्रेष्ठ ‘यात्री’को एउटा गहिरो यथार्थवादी कविता हो, जसले नेपालको हिजोको गौरवशाली इतिहास र आजको पतित, स्वार्थी, विकृत सामाजिक अवस्थाबिचको भयानक दूरी चित्रित गर्छ । कविले देखाएका छन् कि समय आफैँ बूढो होइन, मानिसका चरित्र र सोच बूढा बनेका हुन् । यसरी, यो कविता नेपालको चेतनाको दर्पण हो । देशलाई फेरि युवा र स्वाभिमानी बनाउन सबै नेपालीले आत्म समीक्षा गर्नुपर्ने गहिरो सन्देश दिन्छ ।

ADV

सम्बन्धित खबर