२०८२ कार्तिक ७ गते शुक्रवार / Oct 24 , 2025 , Friday
२०८२ कार्तिक ७ गते शुक्रवार
Ads

नवीन अभिलाषीका तीन कविता

shivam cement
नवीन अभिलाषी
२०८२ कार्तिक ७ गते १५:०५
नवीन अभिलाषीका तीन कविता

भेरी : अभिसप्त बगिरहेछ

थाहा छैन,
कति हजार वर्षदेखी यो सुसाईरहेछ यसरी । 

भेरीको यो भावुक सुसाई
कर्नालको दारुण रोदन जस्तो होईन
बैकिनीको आँसुले भिजेको
देउडाको विरह जस्तो पनि होईन 
र होईन, दुर्गम देउरालीमा 
भारी टेकाएका हटारुहरुको सुस्केरा जस्तो । 

यो, 
आदिम सुखको कष्टपूर्ण अवतरण हुनुपर्छ 
सुख्खा पाटनबाट अर्धजीवित 
यार्सासँगै उखेलिएको माँगलको मुर्छित आलाप हुनुपर्छ ।

पत्थरको कार्पेट भएर 
बगिरहने कुनै आदियोगीको अविराम तिर्थाटन जस्तो 
कसका आसुहरु हुन् यी कहिल्यै नसुक्ने !
माथी त्यो दुर्गम आकाशमुनी 
को हो त्यो सिंगो युगभर रोएर कहिल्यै नथाक्ने ?

भेरीकै औला छोपेर–रुँदै किनारै किनार 
छोरेट्टाहरुले गाउँ छोडे
छोरेट्टीहरुले छाउ छोडे  
देहात पुगे कि दिल्ली
कारगिल छिरे कि कालापहाड !

सरायँ नाँच्ने यी गहिरा छाल लहरहरु । 
घरदेशले पानीकै पन्नामा
अलिना आसुले लेखेको चिठ्ठी हुनुपर्छ यो ।

भोकमरीको भुग्रोबाट सल्किँदै सल्किँदै
भेरीको अङ्गालोमा हाम फालेका सुत्केरी आमाहरु,
लोग्नेले छोडेको 
बम्बैया बिमारले गलेका श्रीमतीहरु
वहावभित्रै ढुंगा भएर धस्सिएको हुनुपर्छ ।

माछाका भूरा छोप्दा छोप्दै किनारमा
पानीकै पासोले अठ्याएर 
पानीकै ओछ्यानमा निदाएका कुपोषित नानीहरु 
बग्दै बग्दै 
बालुवाकै विस्तारामा नर्कट भएर सडेको हुनुपर्छ । 

कहिलेकसो यो धमिलो बग्ने भेरी
भाका बस्ने सुन्दरीको 
अभिसप्त जीवनमा खसेको पर्यटक पहिरो हुनुपर्छ
कुहिएर पाठेघर,बगेको पीप हुनुपर्छ ।

सुनेको हुनुपर्छ धेरैले – भेरी रातो बगेको
सदियौँदेखि 
जात बोकेर अग्लिएका यी किनारहरु 
आपसमा टकराएर रगताम्मे भएको हुनुपर्छ समाज
सभ्यताकै उन्नत समयमा न्याय मरेको हुनुपर्छ
र बगेको हुनुपर्छ – मानवताको आलो लास । 

थाहा छैन,
कति हजार वर्षदेखी यो बगिरहेछ यसरी नै ।

चरक्क चिरेर सीमाना
विद्रुप बगेको भेरीका भयानक घाटहरुमा 
प्रेम बोकेर फेरीहरु नचलेका होईनन् । 
वार–पार नगरेका होईनन् – सम्बन्धका काठे डुंगाहरु ।

तुईनमा झुण्डिएरै पनि
आगो नसाटेका होईनन् मलामीले विपत्तीमा
झोलुङ्गे तरेर 
जन्ती ननाँचेका पनि होईनन् मानिसहरुले ।

तर,
आसुको भोक खाने बानी परेको भेरीलाई 
कहिलेसम्म चढाइरहनु 
क्षतिग्रस्त घडिका विषादमय पलाहरु 

यो भेरी, 
अब निख्खर सङ्लो भएर बगे हुँदैन ? 


पुनश्चः प्रायश्चित

इतिहासले हामीलाई
बुद्धको गर्भस्थानमा रगतका फूल रोप्नुपर्ने बनायो । 
  
पहाडको तानाशाह पैतालामुनी
अढाई हजार वर्ष लामो – घाटुको अर्धचेत जस्तो
यातनाले लठ्ठिनुपर्ने बनायो । 
पर्खिनुपर्ने बनायो, आफ्नै भूमीमा भूकम्प  
आफ्नै जीवनमा ज्वालामूखीको प्रतीक्षा गर्नुपर्ने बनायो ।

आफ्नै पसीनाको उर्वर भूगोलमा 
हामी अनन्त दुःखका असली उपभोक्ता मात्र बन्यौँ
आगो छुटेको प्रमिथस जस्तो 
कालो कुवाभित्र कैद गरिएका दास जस्तो भयौँ ।

ढुङ्गा भएर देउरालीमा 
सम्पूर्ण यात्रा थुपारेर 
हामीलाई शान्त बस्न स्वीकार भएन । 

नाघेर पनि नाघ्न नसकिने
बहिस्करणका ग्रेटवाल भित्रै – इतिहासमा बिझेका
देवदत्तका काँणहरु निकाल्र्दै, 
उमार्दै दुई कोखिलाबाट विचारका पखेटा 
अन्ततः
हामीले आगोलाई सडकमा नाँच्ने बनायौँ ।

हो, इतिहासले हामीलाई
बुद्धको चिवरभित्र बन्दुकहरु लुकाउनुपर्ने बनायो । 

हुन सक्छन्,
गुम्बाकै आँगनमा सपनाका समाधीहरु 

किनकी 
विवेक नहुने रहेछ पहिराको, 
हाँस्दै गरेका आलो शिशुहरुमाथी नखस्नुपर्ने थियो । 
चेतना नहुने रहेछ आँधिको,
नव दुलहीको उदाउँदो सिउँदो भएर नहिँड्नुपर्ने थियो । 
होस–हिसाव नहुने रहेछ युद्धको...

त्यसैले,
आसु सुक्दै गरेको यो मौसममा
दुःख लुक्दै गरेको यो तन्त्रमा
झिकेर प्राकृतिक न्यायको तराजु 
उभिऔँ आआफ्नो पल्लामा र बेहिसाव हिसाव नापौँ । 

यो प्रायश्चितको पटाङ्गिनीमा 
अधर्म अन्त्यको सर्त राखेर म त कैद छु...

र मैले भन्नेछु 
अबको हजार हजार वर्षसम्म पनि
बुद्धानु भावेन ।
धम्मानु भावेन ।
संघानु भावेन ।
भवतु सब्ब मंगलम्


मलाई जानुपर्ने भयो

मलाई जानुपर्ने भयो, अचानक ।

यहाँसम्म सँगै आउँदा ठेस लागेका घाउहरु सम्हाल्दै
फर्किनुपर्ने भयो अचानक उहि बाटो । 
मलाई जानुपर्ने भयो । 

नदिले खनेको बगरै बगर भएर, 
समाएर हुरीको कान्छी औँला, 
चट्याङ्ग परिरहेको यो कालो मध्यरात 
मलाई एक्लै एक्लै फर्किनुपर्ने भयो ।

म त रुन्छु भनेको थिए यतै
आफ्नै आसुको मुहान पनि सुकेर गयो – आखैअघि । 
म त दुख्छु भनेको थिए तिमीसँगै 
दुखकै दरबार पनि भत्केर गयो । 

म त हिँड्छु भनेको थिएँ पहिरै पहिरो
पहिरोमाथि पनि खसिरह्यो पहिरो
मलाई अब पहिरै भएर खस्नुपर्ने भयो ।

भरिएपछि तिम्रो मनको आँगन
मलाई निस्किनुपर्ने भयो अब सडकमा 
बेहुली छोड्न आएको लोकन्ती जस्तो 
सम्बन्धको स्मृति मात्रै बोकेर – बाटो लाग्नुपर्ने भयो । 

गुलाव जस्तो तिम्रो रंगीन हाँसो मुन्तिर
म त बाँच्छु भनेको थिए, काँडैको जुनी ।  
तर शरदको यो साँझ
अचानक पहेँलो पात जस्तो भएर खस्नुपर्ने भयो ।

आसुको चस्मा लगाएर ।
चक्कुको चप्पल ओछ्याएर । 
मलाई हिँड्नुपर्ने भयो – छोडेर तिम्रा भुवाका हातहरु । 
अचानक अब विदा माग्नुपर्ने भयो । 

यस्तो पनि के जीवन हुन्छ ? 
यो जीवन होईन
होईन, यहि नै जीवन हो ।
यस्तै यस्तै भनेर आफैले आफैलाई सम्झाउनुपर्ने भयो । 

प्रेमले पुजा गरेको 
आस्थाले सजाएको मानिस नै 
आधा बाटोमै लास भएपछि 
घाटबाट फर्किएको मलामी जस्तो फर्किनुपर्ने भयो । 

मलाई अब जानुपर्ने भयो । 
 

ADV

सम्बन्धित खबर

Advertise