एक हुल तिनीहरू
कसरी आत्मदाह गर्ने
छलफलमा व्यस्त छन् !
विष सेवन गर्ने कि
झुण्डिने ?
नदीमा फाल हाल्ने कि
योममायाले झैं ?
पासो लाउने कि
गर्ने हो हाराकिरी
अथवा युकियो मिशिमाले झैं
सुप्पुकू !
आफू मात्र मर्ने होइन
एकसाथ सबै मर्ने प्रणमा
सहिछाप गराउन
उद्यत् छन्
सबैलाई !
दुश्मनका घर घर पुगेका छन्
आत्म समर्पण मुद्रामा
यो पनि थाहा छ
एक दिन तिनले
अवश्य निमिट्यान्न तुल्याईदिनेछन्
उपयुक्त मौकामा !
आफ्नो घरमा आगो लगाएर
न्यानो खोज्न लागेका छन्
आत्महत्या
आत्मदाह
समाप्ति
यसकै घनघोर
नशामा अल्झेका छन् ।
अलि पर जीवन छ
तर उनीहरू
जीवनको विपक्षमा छन्
जीवनको विरूध्दमा छन्
तिनीहरू केवल
समाप्तिको उन्मादमा छन्
आहूतिमा होम्मिन
तम्तयार छन् !
अहो कस्ले फर्काउला तिनलाई
आत्मदाहबाट जीवनतिर !