२०८३ असोज १७ गते शनिवार / Oct 03 , 2026 , Saturday
२०८३ असोज १७ गते शनिवार

हार्मोनियमभित्र सुर खोज्दै विमल

Nada
भावना पाठक
२०८३ असोज १७ गते ०६:०५
Shares
हार्मोनियमभित्र सुर खोज्दै विमल

कहिलेकाहीँ जीवनको यात्रा कुनै ठुलो सपनाबाट होइन, एउटा सानो उत्सुकताबाट सुरु हुन्छ । सर्लाहीको श्रीनगरमा जन्मिएका विमल साह सोनारको जीवनमा पनि त्यस्तै भयो । सुरुमा हार्मोनियमलाई आफ्नो भविष्य बनाउँछु भनेर उनले सायदै सोचेका थिए । 

ncell

तर एउटा हार्मोनियम पसलमा काम गर्ने क्रममा देखेका कलाकार, सुनेका सुर र वाद्ययन्त्रभित्र लुकेको प्रविधिप्रतिको जिज्ञासाले अन्ततः उनलाई यही क्षेत्रमा स्थापित गरायो । आज उनी हार्मोनियम निर्माण, सुर मिलाउने, मर्मत तथा पुनस्र्थापनाको क्षेत्रमा परिचित नाम बनेका छन् । 

अहिले उनी आफ्नै नाममा हार्मोनियमको ब्रान्ड र कम्पनी सञ्चालन गरिरहेका छन् । नेपालका कलाकारदेखि भारतीय संगीत क्षेत्रका चर्चित कलाकारसँग काम गरेको अनुभव उनीसँग छ । डिजिटल प्रविधिको प्रयोगबाट हार्मोनियमको सुर मिलाउने कामलाई थप व्यवस्थित बनाउने प्रयासका कारण उनको व्यावसायिक परिचयको दायरा नेपालबाहिर पनि फैलिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरसँग जोडिएको उनको बाल्यकाल सामान्य ग्रामीण परिवेशमा बित्यो । त्यहाँबाट राजधानी काठमाडौंसम्मको यात्रा सहज थिएन । अवसर खोज्दै अघि बढ्नुपर्ने अवस्था थियो । तर सिक्ने इच्छा र कामप्रतिको लगावले उनलाई निरन्तर अघि बढाइरह्यो ।

२०६२ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी काठमाडौं आए । गाउँबाट राजधानी आउँदा उनको उद्देश्य पढाइभन्दा पनि रोजगारी थियो । ‘त्यतिबेला घरबाट काठमाडौं पढ्न भन्दा पनि पैसा कमाउन पठाउने चलन थियो,’ उनी सम्झन्छन्, ‘म पनि काठमाडौं पैसा कमाउनकै लागि आएको थिएँ, पैसा कमाउनकै लागि हार्मोनियम पसलमा काम गरेको थिएँ ।’

त्यतिबेला उनलाई कहाँ पुगिन्छ भन्ने थाहा थिएन । एउटा सामान्य रोजगारीका रूपमा सुरु भएको कामले नै भविष्यमा उनको परिचय बनाउँछ भन्ने कल्पना पनि थिएन । 

केही समय काठमाडौंमा काम गरेपछि उनी रोजगारीको सिलसिलामा भारतको कलकत्ता पुगे । त्यही यात्रा उनको जीवनको निर्णायक मोड बन्न पुग्यो । कलकत्तामा उनले एउटा हार्मोनियम पसलमा काम गर्ने अवसर पाए । सुरुमा त्यो उनका लागि रोजगारी थियो । हार्मोनियम उनको पेसाको विषय बनेको थिएन । 

कलकत्ताको पसलमा हार्मोनियम बेचिन्थ्यो, मर्मत गरिन्थ्यो र सुर मिलाइन्थ्यो । पसलमा विभिन्न कलाकार र संगीतकर्मी आउँथे । विमल उनीहरूलाई ध्यानपूर्वक नियाल्थे ।
कलाकारका लागि हार्मोनियम केवल एउटा बाजा थिएन । त्यसको एउटा सानो सुर बिग्रिँदा पनि त्यसले गायनमा प्रभाव पार्न सक्थ्यो । कुनै कलाकारले आफ्नो स्वर र शैलीअनुसार हार्मोनियम मिलाउन लगाउँथे । कसैले ध्वनिको गुणस्तरमा ध्यान दिन्थे ।

यिनै दृश्यले विमलको मनमा प्रश्न जन्माउन थाले– कलाकारले एउटा वाद्ययन्त्रलाई यति धेरै महत्त्व किन दिन्छन् ? एउटा सुर बिग्रिँदा त्यसले कति ठुलो फरक पार्छ ? कलाकारको आवश्यकताअनुसार हार्मोनियमको ध्वनि कसरी परिवर्तन गर्न सकिन्छ ? जिज्ञासा बढ्दै गएपछि उनले हार्मोनियमलाई बाहिरबाट मात्र हेर्न छाडे । भित्र पस्न थाले ।

उनले हार्मोनियमको बाहिरी स्वरूप मात्र होइन, त्यसको भित्री संरचना बुझ्न थाले । हार्मोनियमभित्र प्रयोग हुने ध्वनि–पट्टिका, हावाको प्रवाह, आवाज उत्पादन हुने प्रक्रिया, सुरको उचाइ, ध्वनि र सुर मिलाउने विभिन्न पक्षबारे उनले व्यवहारमै सिक्दै गए । कुनै भाग बिग्रिँदा फेर्ने मात्र होइन, त्यसको कारण पत्ता लगाउने र समस्या समाधान गर्ने अभ्यास गर्न थाले । बर्सौंको अभ्यासपछि उनी हार्मोनियम खोल्न, त्यसको भित्री संरचना जाँच गर्न, खराबी पहिचान गर्न, मर्मत गर्न र पुनः प्रयोगयोग्य अवस्थामा ल्याउन सक्ने दक्षता हासिल गर्ने तहमा पुगे । 

ध्वनि–पट्टिका, हावाको प्रवाह, आवाज उत्पादन हुने प्रक्रिया, सुरको उचाइ र ध्वनिको सन्तुलनबारे उनले काम गर्दै सिके । कुनै भाग बिग्रिएपछि फेर्नेमात्र होइन, त्यो किन बिग्रियो भन्ने कारण खोज्न थाले । 

हार्मोनियम खोल्ने, प्रत्येक भाग जाँच्ने, समस्या पहिचान गर्ने, मर्मत गर्ने र पुनः प्रयोगयोग्य बनाउने काम उनको दैनिक अभ्यास बन्दै गयो । ‘हार्मोनियम मर्मत गर्नु भनेको बिग्रिएको एउटा भाग फेर्नु मात्र होइन,’ उनी भन्छन्, ‘त्यसको समग्र संरचना र ध्वनि प्रणालीलाई बुझेर काम गर्नुपर्छ ।’

बर्सौंको अभ्यासपछि हार्मोनियमको ‘चिरफार’ गरेर समस्या पत्ता लगाउने र पुनः व्यवस्थित गर्ने सीप उनको विशेषता बन्यो । उनले एउटा महत्त्वपूर्ण कुरा पनि बुझे–सबै कलाकारका लागि एउटै प्रकारको हार्मोनियम उपयुक्त हुँदैन । गायकको स्वर दायरा, गायन शैली, अभ्यास र प्रस्तुति आवश्यकताअनुसार हार्मोनियमको टोन र सुरमा फरक आवश्यक पर्न सक्छ । ‘गायकको स्वरअनुसार हार्मोनियम फरक–फरक हुन्छ,’ उनी भन्छन्, ‘टोन मिलाउनुपर्ने हुन्छ । त्यसलाई डिजिटल प्रविधिसँग जोडेर काम गर्दा नतिजा राम्रो आउँछ ।’ 

उनका अनुसार गीतको प्रकृतिले पनि हार्मोनियमको टोन निर्धारण गर्छ । ‘भजनका लागि प्रयोग भएको हार्मोनियमको टोन लोकदोहोरीमा प्रयोग हुन सक्दैन,’ उनी भन्छन्, ‘आधुनिक, लोक, लोकदोहोरी र शास्त्रीय संगीत सबैका लागि फरक–फरक टोन आवश्यक हुन्छ ।’ यही आवश्यकता बुझ्दै उनले आफ्नै तरिकाले टोन विकास गर्ने अभ्यास अघि बढाए ।

समय बित्दै जाँदा उनको कामप्रतिको आत्मविश्वास बढ्यो । हार्मोनियम निर्माण, मर्मत, सुर मिलाउने र पुनस्र्थापनाको कामलाई उनले निरन्तरता दिए । उनको व्यावसायिक यात्रामा नेपालका विभिन्न गायक तथा संगीतकर्मीदेखि भारतीय संगीत क्षेत्रका चर्चित कलाकारसम्मसँग काम गरेको अनुभव जोडिएको छ ।

भारतीय संगीत क्षेत्रमा उनले उदितनारायण झा, कुमार सानु, गुलाम अली, अनुप जलोटा, सोनु निगम, सुरेश वाडकर, अनुराधा पौडवाल, आशा भोसले, कैलाश खेर, अनु मलिक र अरिजित सिंहलगायत कलाकारसँग काम गरेको बताउँछन् । ‘बलिउडमा काम गर्नु धेरै मानिसको सपना हुन्छ, मैले त्यो पूरा गरेँ,’ उनी भन्छन् ।

नेपाली संगीत क्षेत्रमा पनि उनले दीप श्रेष्ठ, प्रमोद खरेल, शिव परियार, राजेशपायल राई, सत्यराज आचार्य, अञ्जु पन्त, रामकृष्ण ढकाल, राज सिग्देल, आनन्द कार्की र मिलन अमात्यलगायत कलाकारसँग सहकार्य गरेका छन् । यस्ता कामले कलाकारको आवश्यकताअनुसार वाद्ययन्त्र तयार गर्ने र प्राविधिक समस्या समाधान गर्ने अवसर दिएको उनी बताउँछन् ।

हार्मोनियमप्रतिको उनको लगाव यतिमै रोकिएन । परम्परागत रूपमा सुर मिलाउने पद्धतिसँगै उनले आधुनिक प्रविधिको प्रयोगमा पनि चासो दिए । विद्युतीय उपकरणको सहयोगमा सुरको उचाइ जाँच गर्ने, ध्वनिको विश्लेषण गर्ने र सुर मिलाउने प्रक्रियालाई थप व्यवस्थित बनाउने अभ्यास उनले अघि बढाए । 

उनको दृष्टिमा विद्युतीय प्रविधि परम्परागत शिल्पकलाको विकल्प होइन, त्यसलाई सहयोग गर्ने माध्यम हो । अनुभवी शिल्पीको कान र हातको सीपसँग प्रविधि जोडिँदा सुर मिलाउने काममा अझ प्रभाकारी हुने उनको धारणा छ ।

यही कामका कारण उनको व्यावसायिक परिचयमा ‘हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञ’ भन्ने पहिचान जोडिएको छ । त्यतिमात्र हैन उनले लन्डनस्थित वल्र्ड बुक अफ रेकड्र्समा ‘विश्वकै पहिलो हार्मोनियम डिजिटल ट्युनिङ विशेषज्ञ’का रूपमा समेत आफ्नो नाम दर्ज गरेका छन् । 

बर्सौंसम्म अरूका हार्मोनियम बनाउने, मर्मत गर्ने र सुर मिलाउने क्रममा उनको मनमा आफ्नै ब्रान्ड बनाउने सोच पनि विकसित भयो । आफूले सिकेको सीपलाई आफ्नै उत्पादनसँग जोड्ने उद्देश्यले उनले ‘विमल ब्रान्ड हार्मोनियम’को अवधारणा अघि बढाए । 

अहिले काठमाडौंको सिनामंगल क्षेत्रमा सोनिया ग्रुप अफ कम्पनिज प्रालिअन्तर्गत विमल म्युजिक इन्स्ट्रुमेन्ट्समार्फत उनको व्यवसाय सञ्चालन भइरहेको छ । विमल म्युजिक इन्स्ट्रुमेन्ट्स हार्मोनियम निर्माण र प्राविधिक सेवामा केन्द्रित छ । यहाँ हार्मोनियम निर्माण, मर्मत, सुर मिलाउने, सर्भिसिङ, पुनस्र्थापना र कलाकारको आवश्यकता अनुसार विशेष हार्मोनियम तयार गर्ने काम हुँदै आएको छ । 

विमलका लागि आफ्नै कम्पनी खोल्नु केवल व्यापार विस्तार गर्नु थिएन । उनले बर्सौं सिकेको शिल्पलाई आफ्नै नामको उत्पादनमा रूपान्तरण गर्ने प्रयास थियो । अरूको हार्मोनियम मर्मत गर्दै आएका उनी अब आफ्नै ब्रान्डको हार्मोनियम निर्माण र बजार विस्तारमा केन्द्रित छन् । ‘आज पनि कतिपय मानिसहरू हार्मोनियमलाई एक प्रकारको बाजाका रूपमा मात्र हेर्छन्,’ उनी भन्छन्, ‘तर हार्मोनियम त्यतिमात्र पनि होइन, संगीतको सुरुदेखि अन्त्यसम्म जे चाहिन्छ, त्यो हार्मोनियम हो ।’

उनको यात्राको अर्को पक्ष भनेको पुराना हार्मोनियमको पुनस्र्थापना हो । नयाँ वाद्ययन्त्र निर्माणसँगै पुराना र प्रयोग भइसकेका हार्मोनियमलाई पुनः उपयोगी बनाउने काममा पनि उनले ध्यान दिएका छन् । समयसँगै बिग्रिएका ध्वनि–पट्टिका, हावाको प्रणाली, काठका संरचना वा सुर मिलाउनेसम्बन्धी समस्या समाधान गरेर पुरानो वाद्ययन्त्रलाई पुनर्जीवन दिने काम उनले गर्दै आएका छन् ।

हार्मोनियमको प्रत्येक भागसँग परिचित हुनु नै उनको सीपको आधार हो । कुन ध्वनि–पट्टिकाको अवस्था कस्तो छ, कुन ठाउँमा हावा चुहावट भइरहेको छ, आवाज किन कमजोर भयो वा सुर किन असन्तुलित भयो भन्ने पहिचान गर्न लामो अनुभव आवश्यक हुन्छ । यही अनुभवले उनलाई हार्मोनियमको संरचनालाई गहिराइमा बुझ्ने शिल्पीका रूपमा स्थापित गरेको छ ।

दुई दशकभन्दा बढी समयको व्यावसायिक अनुभवपछि पनि उनको सिक्ने क्रम रोकिएको छैन । प्रविधि बदलिँदै जाँदा वाद्ययन्त्र निर्माण र सुर मिलाउने तरिका पनि परिवर्तन हुँदै जाने उनको बुझाइ छ । त्यसैले परम्परागत ज्ञानलाई जोगाउँदै आधुनिक प्रविधिसँग जोड्ने प्रयास उनको कामको मुख्य आधार बनेको छ ।

आज उनको व्यावसायिक पहिचान नेपालमा मात्र सीमित छैन । विमल ब्रान्ड हार्मोनियमलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उनको योजना छ । भारतदेखि संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया तथा खाडी क्षेत्रसम्म नेपाली शिल्पमा बनेका हार्मोनियम पुर्‍याउने लक्ष्य उनले राखेका छन् । अनलाइन माध्यम र अन्तर्राष्ट्रिय बजारमार्फत नेपाली उत्पादनलाई विश्वका संगीतकर्मीहरूसम्म पुर्‍याउने उनको योजना छ ।

उनी आफूलाई विश्वभर चिनिनेभन्दा पहिले नेपाली शिल्पीका रूपमा चिनाउन चाहन्छन् । जहाँ पुगे पनि नेपाली भएर चिनिनु र नेपालमा सिकेको सीपलाई विश्वसामु पुर्‍याउनु उनको प्राथमिकता हो ।

आज उनीसँग आफ्नो कामको परिचय छ, आफ्नै ब्रान्ड छ र अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने लक्ष्य पनि छ । विमल साह सोनारका लागि हार्मोनियम अब एउटा वाद्ययन्त्र मात्र रहेन । यही वाद्ययन्त्रले जीवनको परिचय निर्माण गरेको छ ।

सम्बन्धित खबर