
काठमाडौंका हिउँदे बिहान उज्याला भएर पनि चिसा हुन्छन् । घाम झ्यालबाट भित्र पसिसकेको हुन्छ, तर कोठाका कुनामा जमेको चिसो त्यति सजिलै हराउँदैन् ।
पेप्सीकोलाको त्यो सानो घरमा पनि बिहान पस्दै थियो । उर्वशी भान्सामा चिया पकाउँदै थिइन् । एलिना भुइँमा बसेर अक्षर चिन्दै थिई ।
‘ए फर, एप्पल ।’ ‘बी फर बल ।’ ‘सी फर क्याट ।’ एलिना बिरालो सम्झेर हाँसी । ढोकाबाट उदयले सोधे, ‘डी फर ?’ एलिनाले फर्केर हेरी । ‘ड्याडी !’
उदयले उसलाई काखमा उचाल्यो । ‘ड्याडी भनेको के ?’
उदयले उर्वशीतिर हेर्दै भन्यो, ‘ड्याडी भनेको ममीलाई धेरै माया गर्ने मान्छे ।’
उर्वशी हाँसी । ‘अब छोरीलाई पनि प्रेमको परिभाषा सिकाउन थालिसक्यौ ?’
‘तिमीलाई त कलेजदेखि सिकाउँदै आएको ।’
उर्वशीले चिया ल्याइन् । त्यतिबेला उनीहरूलाई लाग्थ्यो, यही हो जीवन । बिहानको चिया । साँझको थकान । छोरीको हाँसो । एक–अर्काको काँध ।
धनगढीबाट काठमाडौं आएको उदय र इटहरीबाट आएकी उर्वशीको मित्रता कलेजमा प्रेममा बदलिएको थियो । अनि, प्रेम विवाहमा ।
उर्वशी बैंकमा काम गर्थिन् । उदय गौरव सहकारीको सोह्रखुट्टे शाखा व्यवस्थापक थियो ।
हरेक बिहान उनीहरू दुवै फरक दिशामा निस्कन्थे । उर्वशी कोटेश्वरतिर । उदय सोह्रखुट्टेतिर । साँझ फेरि एउटै घर । काठमाडौंको भिड उनीहरूलाई कहिलेकाहीँ झर्को लाग्थ्यो । तर घरको ढोकाभित्र पसिसकेपछि त्यो शान्तिमा बदलिन्थ्यो । उनीहरूलाई थाहा थिएन, संसार कुनबेला हातबाट एकैछिनमा फुत्किन्छ ।
त्यो साँझ सिमसिम पानी परिरहेको थियो । उदय घर आइपुगेन, आयो फोन । बानेश्वरनजिक उसको मोटरसाइकल दुर्घटना भएछ । उर्वशी अत्तालिई । एलिनालाई काखमा च्यापेर उनी हतारहतार अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पुगिन् । त्यही उनीहरूले झन्डै एक महिना बिताए । एक साँझ डाक्टरको भने, ‘उहाँको कम्मरमुनिको भागमा गम्भीर असर परेको छ ।’
उर्वशीले डाक्टरको अनुहार हेरिन् र सोधिन्, ‘हिँड्न त सक्नुहुन्छ नि ?’
‘अहिले निश्चित भन्न सकिँदैन ।’ डाक्टरको अनुहारले अर्कै कुरा भनिरहेको थियो । ‘उपचारपछि ?’ उर्वशीले फेरि सोधी ।
‘उपचार र रिह्याबिलेसनले कार्यक्षमता सुधार्न मद्दत गर्छ । तर रिजल्ट चोटको स्तर, क्षतिको प्रकृति र शरीरको प्रतिक्रियामा निर्भर हुन्छ,’ उनले कुरालाई गुजुल्ट्याएर भनेका थिए ।
डाक्टरले मेरुदण्डभित्रको स्पाइनल कर्डले मस्तिष्क र शरीरबीच सन्देश ओहोरदोहोर गराउने कामबारे सम्झाए । चोटपछि खुट्टातर्फ जाने मोटर संकेत र शरीरबाट मस्तिष्कतर्फ फर्किने संवेदना प्रभावित हुन सक्छ । नियन्त्रणमा समस्या आउन सक्छ । मांसपेशी कमजोर हुन सक्छ । जोर्नीमा स्टिभनेस आउन सक्छ । त्यसैले लामो रिह्याबिलेसन आवश्यक हुन्छ ।
उर्वशी सुनिरहिन् । उदय छत हेरिरह्यो । ‘डाक्टर साब,’ उसले बिस्तारै सोध्यो, ‘म अब के–के मात्र गर्न सक्छु ?’
‘धेरै कुरा गर्न सकिन्छ । नआत्तिनुस् ।’
‘हिँड्न ?’
डाक्टर केहीबेर रोकिए । ‘अहिले हामी ‘हिँड्ने कि नहिँड्ने’ भन्दा ‘आफ्नो जीवन कसरी फेरि चलाउने’ भन्नेमा केन्द्रित हुन्छौं ।’
उदयले आँखा बन्द गर्यो । त्यो रात उसले पहिलोपटक बुझ्यो, ‘जीवन चल्नु भनेको खुट्टा चल्नु मात्र रहेनछ ।’
अन्ततः उदय डिस्चार्ज भए । घर फर्किंदा उनको जीवन पूरै बदलिएको थियो । उनीहरू माथिल्लो तलाबाट भुइँतलामा सरे ।
पहिले उदयलाई भर्याङ मात्र भर्याङ लाग्थ्यो । अब त्यो उसको अगाडि उभिएको पर्खाल थियो । बाथरुममा टेक्ने ठाउँ मिलेन । ढोकाको चौडाइ अप्ठ्यारो भयो । सडकको पेटी अग्लो भयो ।
काठमाडौं उही थियो । तर उदयका लागि सहर बदलिएको थियो ।
एक दिन उसले झ्यालबाट बाहिर हेरिरहेको थियो । एकजना ह्विलचेयरमा सडक पार गर्न खोज्दै थियो । उदयले केहीबेरसम्म हेरिरह्यो । ‘पहिले म यस्तो मान्छेलाई देखेर केही सोच्दिनथेँ,’ उसले भन्यो ।
उर्वशीले चिया राख्दै सोधिन्, ‘अहिले ?’
‘अहिले धेरै सोच्न थालेको छु,’ उनले भन्यो ।
दुर्घटनाले उदयको खुट्टा रोक्यो । सँगै, उर्वशीको जीवन पनि अर्कै ढंगले रोकियो । बैंक, घर र उदयको हेरचाह । एलिनालाई पढाउने । औषधि मिलाउने । फिजियोथेरापीको समय सम्झाउने । उनको उमेर भर्खर २६ वर्ष चल्दै थियो । शरीरमा उमेरको ताजगी थियो । मनमा अझै थुप्रै अधुरा सपना थिए । तर जीवनले अब उनीसँग अर्कै हिसाब मागेको थियो ।
कहिलेकाहीँ राति सबै सुतेपछि उनी झ्यालछेउमा उभिएर बाहिर हेर्थिन् । काठमाडौंको सडकबाट धुलो मिसिएको हावा आउँथ्यो । टाढा मोटरसाइकलको आवाज सुनिन्थ्यो । कुनै घरमा गीत बजिरहेको हुन्थ्यो । उनी सोच्थिन्, ‘मेरो जीवन यतिमै हो ?’
मनैले जवाफ दिन्थ्यो, ‘यतिमै भनेको के ?’
उनी आफैंसँग डराउँथिन् । थाकेकी थिइन् । आफ्नो समय हराएकी थिइन् । शरीरको सहज जीवन हराएको थियो । विवाहका सुरुवाती वर्षमा निकटता उनीहरूको प्रेमको एउटा भाषा थियो । दुर्घटनापछि त्यो भाषा मौन भयो । तर त्यो मौनता उनले कसैलाई सुनाउन चाहिनन् । न उदयलाई । न आफूलाई ।
बाहिरको संसारले भने उनको जीवनका खाली ठाउँहरू देख्न थालिसकेको थियो । ‘तिमी अझै जवान नै छौ ।’ ‘जिन्दगी सधैं यसरी कहाँ चल्छ र ?’
‘उदय त अब...’ ती वाक्यहरू पूरा हुँदैनथे । तर अधुरा वाक्यले पनि पूरा अर्थ बोकेर आउँथे । कसैले सहानुभूतिको नाममा नजिकिन खोज्थ्यो । कसैले पुरानो चिनजानको बहाना बनाउँथ्यो । कसैले गोप्य सम्बन्धको प्रस्तावसमेत राख्यो । ‘तिमीलाई पनि त आफ्नो जीवन चाहिन्छ ।’ उर्वशीले ती सुन्थिन् मात्र । ती कुराले उनको मनमा कुनै ठुलो हलचल ल्याएन । न आकर्षण । न उत्सुकता । न विकल्प खोज्ने इच्छा । उनले प्रस्ताव ठाडै अस्वीकार गर्थिन् । तर त्यही रात उनले आफैंलाई कठिन प्रश्न गरिन्, ‘म किन अस्वीकार गर्दै छु ?’
डरले ? समाजले ? छोरीका कारण ? उदयका कारण ? वा साँच्चै मेरो मनले अब त्यस्तो जीवन खोज्न छाडिसकेको हो ? मनबाट कुनै जवाफ आएन ।
त्यो रात पानी परिरहेको थियो । झ्यालबाहिर वर्षात्को धुन थियो । उर्वशी निदाउन सकिनन् । उदय निदाइसकेको थियो । उनी उठिन् । ऐनाअगाडि उभिइन् । छब्बीस वर्ष । अझै जवान शरीर । तर त्यो रात उनले पहिलोपटक आफ्नो शरीरलाई बाहिरबाट होइन, भित्रबाट हेर्न खोजिन् । उनले आफैंलाई सोधिन्, ‘शरीर के चाहन्छ ?’
उत्तर आयो, ‘जीवन ।’ कस्तो जीवन ? मौन ।
फेरि सोधिन्, ‘कामना कहाँ जान्छ ?’
फेरि मौन । उनलाई लाग्यो, मानिसले शरीरलाई आफ्नो सम्पूर्ण सत्य ठान्छ । तर शरीरको हरेक चाहना पूरा गर्नैपर्ने नियम त छैन । इच्छा आउनु स्वाभाविक हुन सक्छ । तर इच्छा आउँदैमा त्यसको पछाडि हिँड्नैपर्छ भन्ने हुँदैन । त्यो रात उनले पहिलोपटक आफ्नो कामनालाई शत्रु नबनाई हेर्ने प्रयास गरिन् । कामना आउँछ । त्यसलाई मान्नैपर्छ भन्ने छैन । यो विचारले उनलाई अनौठो शान्ति दियो । भोलिपल्ट उदयले सोध्यो, ‘राति निदाएनौ ?’
‘निदाएँ ।’
‘झुट ।’
उर्वशी हाँसिन् । ‘तिमीलाई कसरी थाहा भयो ?’
‘तिमी झुट बोल्दा आँखा तल हेर्छौ ।’
‘अहिले त तिमी धेरै बुझ्ने भयौ ।’
‘पहिले पनि बुझ्थेँ ।’
‘कहाँ ?’
‘तिमीलाई ।’ उर्वशी चुप भइन् । उदयले बिस्तारै भन्यो, ‘तिमी खुसी छैनौ भने मलाई भन्नू ।’
उर्वशीले उसको आँखामा हेरी । ‘खुसीको परिभाषा बदलिएको छ ।’
‘मलाई थाहा छ ।’
‘तिमीलाई थाहा छ ?’
‘तिम्रो जीवन पनि मेरो दुर्घटनासँगै बदलियो ।’ उर्वशीले उसको हात समातिन् । ‘तिम्रो शरीरमा चोट लागेको हो, उदय । मेरो जीवनमा होइन ।’
उदय केहीबेर चुप रह्यो ।
‘दुवैमा लागेको छ ।’
त्यो वाक्य उर्वशीको मनमा धेरै दिनसम्म बसिरह्यो । एक रात उदयले फेरि भन्यो, ‘तिमी अर्को बिहे गर ।’ यसपटक उर्वशी रिसाइनन् । ‘यदि मेरो ठाउँमा तिमी भएको भए पनि यसै भन्थ्यौं ?’
उदय चुप भयो ।
धेरैबेरपछि उसले भन्यो, ‘सायद... मलाई पनि थाहा छैन ।’
उर्वशीले उसको हात छोडिनन् । ‘त्यही हो ।’
‘के ?’
‘हामीले आफूलाई अर्को मान्छेको ठाउँमा राखेर सजिलै निर्णय गर्न सक्दैनौँ ।’ उदयले टाउको झुकायो ।
‘तर समाजले निर्णय गरिदिन्छ ।’
‘समाजले पुरुषका लागि एउटा र महिलाका लागि अर्को कुरा गर्छ ।’ ‘तिमीलाई लाग्छ म त्यस्तो हुन्थेँ ?’
उर्वशीले सीधा उत्तर दिइनन् । ‘मलाई थाहा छैन ।’
प्रेमको अर्थ अर्को मान्छे कहिल्यै कमजोर नहोस् भन्ने होइन रहेछ । सायद प्रेमको अर्थ, उसको कमजोरी देखेर पनि उसलाई मान्छेकै रूपमा देखिरहनु रहेछ ।
त्यसपछि उर्वशीले गीता पढ्न थालिन् । विषयमा मन अडिरहँदा आसक्ति जन्मिन्छ । आसक्तिबाट कामना । कामनाबाट क्रोध । अनि मनको विवेकमै असर पर्न सक्छ । कृष्णले अर्जुनलाई सम्झाएको त्यो क्रम उनले पढिन् ।
उर्वशी किताब बन्द गरेर लामो समय मौन बसिन् । कामना आफैं दोष होइन । उनले सोचिन् । कामनासँग मेरो सम्बन्ध के हो, त्यो महत्त्वपूर्ण रहेछ ।
पछि उनले बुद्धका शिक्षाबारे पढिन् । तृष्णा दुःखसँग जोडिन्छ । उनले आफूलाई फेरि सोधिन्, तृष्णा भनेको शरीरले केही चाहनु मात्र हो ?
होइन । मलाई यही जीवन नै चाहिन्छ । मेरो शरीर यस्तै हुनुपर्छ । यो सम्बन्ध कहिल्यै बदलिनु हुँदैन । चाहेजस्तै भविष्य बन्नुपर्छ । यी सबै मनमा बाँधिएर बस्नु पनि त तृष्णा हो । त्यहाँ उनले गीता र बुद्धलाई एउटै बनाउने प्रयास गरिनन् ।
गीताले शरीरभन्दा परको आत्माको नाशरहितताको कुरा गर्छ । बौद्ध दर्शनले स्थायी, अपरिवर्तनशील आत्माको धारणालाई स्वीकार गर्दैन र अनित्यताको बोधतिर लैजान्छ । दुवै एउटै कुरा होइनन् ।
तर उर्वशीले त्यहाँ एउटा साझा प्रश्न भेटिन्– जसलाई समातेका छौं, त्यसलाई एकपटक प्रश्न गर्न सकिन्छ कि सकिँदैन ?
त्यसपछि ध्यान उनको जीवनमा आयो । पहिलो दिन पाँच मिनेट बस्न पनि कठिन भयो । मन भागिरह्यो । भोलिको काम । उदयको औषधि । बैंकको जागिर । एलिना । पुराना स्मृति । अधुरा रहर । शरीर । कामना । भय । उनले मनलाई रोक्न खोजिनन् ।
मात्र हेर्न थालिन् । विचार आयो । गयो ।
इच्छा आयो । गयो । दुःख आयो । कहिलेकाहीँ धेरै बेर बस्यो । त्यसलाई पनि उनले हेर्न सिकिन् । बिस्तारै उनले बुझिन्,– मनमा उठेको हरेक कुरा आफू हुँदैन रहेछ ।
एक दिन उदयले उनलाई ध्यान गरिरहेको देख्यो । ‘के खोज्दै छौ ?’
‘केही होइन ।’
‘त्यसो भए किन बसिरहेकी ?’
‘केही नखोजी बस्न सिक्दै छु ।’ उदय हाँस्यो ।
‘त्यो पनि सिक्नुपर्ने रहेछ ?’
‘हामी सधैं केही न केही खोजिरहेका हुन्छौं ।’
‘तिमी के खोज्थ्यौ ?’
उर्वशीले उसको आँखामा हेरी । ‘पहिले सुख ।’
‘अहिले ?’
‘शान्ति ।’
समय बित्दै गयो ।
उदयले ह्विलचेयर चलाउन सिक्यो ।
आफ्नो शरीरलाई नयाँ ढंगले प्रयोग गर्न सिक्यो । दैनिक काममा आत्मनिर्भर हुँदै गयो । फिजियोथेरापी जीवनको नियमित हिस्सा बन्यो । एक दिन उसले भन्यो, ‘म अफिस जान्छु ।’
उर्वशी डराइन् । ‘सक्छौ ?’
‘सक्छु । मैले कोटेश्वरमै सरुवा मागेको छु ।’
‘बाटो ?’
‘बाटो म हेर्छु ।’
‘मान्छे ?’ उदय मुस्कुरायो ।
‘मान्छेलाई पनि ।’
ऊ अफिस फर्कियो ।
त्यहाँ पुगेपछि उसको नजर बदलिएको थियो ।
नयाँ अफिस ह्विलचियर मैत्री थियो । पुरानो अफिसमा झैं भर्याङ, साँघुरा ढोका, असहज बाथरुम र अग्ला पेटी थिएनन् ।
त्यहीँबाट उदयको अर्को जीवन सुरु भयो ।
उर्वशीको शरीरमा पनि समयले आफ्नो काम गरिरहेको थियो । उनको मनमा केही पुरिएको थियो । पहिले शरीरको निकटता प्रेमको प्रमाणजस्तो लाग्थ्यो । अब त्यो प्रेमको एउटा रूप मात्र लाग्न थाल्यो । पूरै अर्थ होइन । उनीहरू एउटै ओछ्यानमा सुत्थे । कहिलेकाहीँ हात समातेर । कहिलेकाहीँ एक–अर्कातिर फर्केर । कहिलेकाहीँ लामो मौनतामा । त्यहाँ कुनै अपूर्णताको चिच्याहट थिएन । एउटा शान्त निकटता थियो ।
उर्वशीले आफूभित्रको परिवर्तनलाई डराएर हेर्न छाडिसकेकी थिइन् । उनले यौनलाई जीवनको अनिवार्य केन्द्र ठान्न छाडेकी थिइन् । त्यो कुनै कुण्ठा थिएन । दमन पनि होइन । कसैको डर पनि होइन । यो आफ्नो मनसँग गरिएको एउटा इमानदार सम्झौता थियो । उनले बुझेकी थिइन्, ‘चाहना हुनु र चाहनाको दास हुनु एउटै कुरा होइन ।’
कहिलेकाहीँ इच्छा मानिसमाथि शासन गर्छ । कहिलेकाहीँ मानिसले त्यसलाई हेरेर भन्न सक्छ, ‘तिमी छौ ।’ तर तिमी नै मेरो मालिक होइनौ । त्यहाँ उनले एउटा स्वतन्त्रता भेटिन् । एक साँझ उदयले सोध्यो, ‘तिमीलाई कहिल्यै लाग्दैन– हामीले केही गुमायौं ?’
‘लाग्छ ।’
‘के ?’
‘धेरै ।’
‘शरीरको जीवन पनि ?’
उर्वशी केहीबेर मौन भइन् । ‘हो ।’
‘दुःख लाग्छ ?’
‘पहिले लाग्थ्यो ।’
‘अहिले ?’
‘अहिले त्यसलाई जीवनको एउटा हराएको कोठाजस्तो सम्झिन्छु ।’
‘फेरि खोल्न मन लाग्दैन ?’
उर्वशी मुस्कुराइन् । ‘हरेक बन्द ढोका खोल्नैपर्छ भन्ने हुँदैन ।’
उदय चुप भयो । ‘तर,’ उर्वशीले थपिन्, ‘त्यो ढोका बन्द छ भनेर घर नै अधुरो हुन्छ भन्ने पनि होइन ।’ उदयले उनको हात समात्यो । त्यो रात उनीहरू धेरैबेर बोलेनन् । कहिलेकाहीँ उर्वशीको मनमा एउटा प्रश्न आउँथ्यो, ‘यदि म दुर्घटनामा परेको भए ?’ उनी कल्पना गर्थिन् । आफ्नो खुट्टा नचल्ने । बैंक जान नसक्ने । घरमा निर्भर हुने । आफ्नो शरीरमाथिको नियन्त्रण घट्ने । अनि उदय ?
के ऊ यति नै धैर्यवान् हुन्थ्यो ? के ऊ अर्को बिहे गथ्र्यो ? के उसले समाजको दबाब स्विकाथ्र्यो ? उनी उत्तर खोज्थिन् । तर अन्ततः आफैंलाई रोक्थिन् । उदयलाई उसको नभएको परीक्षामा किन दोषी बनाउने ? उनले सोचिन् ।
वर्षहरू बिते । एलिना ठुली हुँदै गई । उदयको ह्विलचेयर घरको दुःखद वस्तु रहेन । त्यो एउटा साधन भयो । कुर्सीजस्तै । टेबलजस्तै । चस्माजस्तै । जीवनले मागेको अर्को उपकरणजस्तै । उर्वशीले पनि आफ्नो जीवनलाई त्यही ढंगले हेर्न सिकिन् ।
एक दिन एलिनाले सोधी, ‘ममी, बाबा किन ह्विलचेयरमा हिँड्नुहुन्छ ?’
‘फेरि हिँड्नुहुन्छ ?’
उर्वशीले बाबातिर हेरिन् । उदय मुस्कुरायो, ‘म त हिँडिरहेकै छु ।’
एलिना हाँसी । उदयले छोरीलाई काखमा तान्यो ।
त्यो रात काठमाडौंमा असोजको हावा चलिरहेको थियो । दिनभरको तातो हटिसकेको थियो । झ्याल खुला थियो ।
टाढा कतै कुकुर भुकेको आवाज आइरहेको थियो । उर्वशीले बत्ती निभाइन् । उदय निदाइसकेको थियो । उनी उसको छेउमा पल्टिइन् । धेरै वर्षअघि उनले सोचेकी थिइन्, प्रेम भनेको दुई शरीरको निकटता हो । पछि बुझिन्– त्योभन्दा धेरै रहेछ । प्रेम भनेको कसैलाई आफ्नो इच्छाअनुसार बनाउनु होइन । उसको बदलिएको शरीरभित्र पनि त्यही मान्छेलाई देखिरहनु हो । प्रेम भनेको जीवनको रोडम्याप च्यातिँदा पनि नयाँ पाना खोल्न सक्नु रहेछ ।
उदय निद्रामा अलि चलमलायो । उसले ओछ्यानमा उर्वशीको हात खोज्दै आयो । उर्वशीले हात थामिन् । उसले निद्रामै सोध्यो, ‘उर्वशी’
‘यहीँ छु ।’
बाहिर काठमाडौंको रात बिस्तारै फिक्का हुँदै थियो । पूर्वतिर कतै उज्यालो जन्मिँदै थियो । उर्वशीले झ्यालबाट उषाका कलिला किरणहरू कोठातर्फ आइरहेको देखिन् ।
(हालः भैरहवा)