
काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठानले १६ असोजमा आयोजना गरेको 'मोती-लय' को तयारी पूरा भएको जनाएको छ ।
१६ असोज शुक्रबार दिउँसो २ बजे १६१औं मोतीजयन्तीका अवसरमा प्रतिष्ठानको मुख्य प्रेक्षालयमा कार्यक्रम हुनेछ । उक्त अवसरमा गजल गायन, ११ चित्रकारका मोतीराममाथिका प्रत्यक्ष चित्रकला, मोतीरामका गजलमा अभिनय प्रस्तुत गरिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसरी नै कार्यक्रममा सातै प्रदेशबाट ३/३ जनाका दरले २१ जना नयाँ पुस्ताका गजलकारले गजल वाचन गर्नेछन् भने करिब एक दर्जन अग्रज गजलकारका गजल पनि वाचन हुनेछन् ।
नेपाली साहित्यमा गजललेखनको व्यापकतासँगै परिष्कार पनि आइरहेका सन्दर्भमा गजलको विकास र विस्तारमा थप टेवा पुगोस् साथै आदिगजलकार मोतीराम भट्टप्रति सम्मान पनि होस् भन्ने हेतु 'राष्ट्रिय गजल दिवस'को निर्णय गरिएको र सोहीअनुसार पहिलो औपचारिक कार्यक्रम नै 'मोती-लय' आयोजना गरिएको काव्य, संस्कृति एवं डिजिटलाइजेसन विभाग प्रमुख दीपक सापकोटाले बताए ।
आदिगजलकार मोतीराम भट्टको जन्मजयन्ती (कुशे औंसी)लाई 'राष्ट्रिय गजल दिवस'का रूपमा मनाउने निर्णय नेपाल प्रज्ञाप्रतिष्ठानको गत साउन २८ को पहिलो बैठककले गरेको थियो। उक्त निर्णयअनुसार २६ भदौमा आयोजना गर्ने भनिएको 'मोती-लय' भोटेकोशी बाढीका कारण १६ असोजका लागि सरेको थियो ।
प्रतिष्ठानले १६ असोजमा हुने 'मोती-लय'मा सादर उपस्थितिका लागि सबैमा अनुरोध पनि गरेको छ ।