२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पर्दाका लागि कृष्टिको संघर्ष

Nada
प्रकाश सायमी
२०८३ असोज १० गते ०६:०५
Shares
पर्दाका लागि कृष्टिको संघर्ष

नेपाली सिनेमाको पर्दामा नायिकाका रूपमा स्थापित हुन सबैभन्दा बढी संघर्ष गर्ने अभिनेत्री हुन्, कृष्टि केसी (हाल कृष्टि मैनाली) ।

ncell

सिनेमामा आउनुअघि उनले रंगमञ्चमा निकै अभिनय गरिन् । नाटक ‘दुई बाउकी एक्ली छोरी’मा उनको अभिनयको निकै चर्चा भयो । उनले जेएएको ‘ह्याम्स सिल्ड’ लघु नाटकबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । पछि उनी ‘हिकोला कलर ल्याब’को फोटो एल्बमको कभर गर्लका रूपमा पनि देखिइन् ।

त्यसअघि उनले फिल्म ‘कान्छी’को ‘भैलेनी’ गीतमा टोलीकी एक सदस्यका रूपमा अभिनय गरेकी थिइन् । त्यसैगरी ‘के घर के डेरा’मा हास्यकलाकार गोपालराज मैनालीको जोडी बनेर कुमार बस्नेत र ज्ञानु राणाको लोकगीत ‘भीमेश्वरको मेला भेट भएको बेला...’मा नाचिन् । तर पनि उनी मुख्य नायिका बन्न सकिनन् । 

पछि प्रकाश थापा निर्देशित फिल्म ‘सन्तान’मा गणेश उप्रेतीको जोडी बनेर अभिनय गरिन् । तर पनि उनको करिअरले गति लिन सकेन । बिएस थापा, प्रकाश थापा र प्रदीप रिमालजस्ता दिग्गज निर्देशकका फिल्ममा काम गर्दा पनि उनी नायिका बन्न सकिरहेकी थिइनन् । उनका समकालीन साथीहरू गौरी मल्ल, करिश्मा मानन्धर, मौसमी मल्ल र नवीना श्रेष्ठ नायिका भइसकेका थिए । तर कृष्टि निराश भइनन्, अभिनयमा निरन्तर लागिरहिन् ।

‘हिकोला कलर ल्याब’को फोटो एल्बम सार्वजनिक भएपछि भने उनको ‘स्टारडम’को ढोका खुल्यो । त्यसपछि दीपक रायमाझी निर्देशित फिल्म ‘भाग्यरेखा’मा नयाँ नायक राजेश हमालको जोडीका रूपमा उनी अनुबन्धित भइन् । ‘भाग्यरेखा’को मुहूर्तमा नायिका करिश्मा केसी थिइन्, तर पारिश्रमिक र छायांकनको तालिका नमिल्दा उनले छाडिन् । त्यसपछि कृष्टिको प्रवेश भएको थियो ।

कृष्टी र राजेश हमाल छायांकनका लागि नारायणगढ प्रस्थान गरे । तर केही दिनको कामपछि नै नायक–नायिका दुवै फिल्मबाट अचानक आउट भए र काठमाडौं फर्किए । यी दुईलाई किन हटाइयो । यसबारे निर्देशक दीपक रायमाझी, क्यामेरामेन जाबेद शाह र घटनाका प्रत्यक्षदर्शी सहायक निर्देशक मदन घिमिरेका आ–आफैं तर्क थिए । पछि राजेशको ठाउँमा रवीन्द्र खड्का र कृष्टिको ठाउँमा मौसमी मल्लले प्रवेश पाए । भागिरथी श्रेष्ठको कथा, अशेष मल्लको संवाद र नोर्बु छिरिङको संगीत रहेको दीपक रायमाझीको यो पहिलो निर्देशन ‘भाग्यरेखा’ बन्यो र हलमा चल्यो । तर नायक राजेश र नायिका कृष्टि केही समय पर्दाबाट ओझेल परे । 

कृष्टिमा अद्भुत साहस, सौम्यता र अभिनय क्षमता थियो । उनी सिनेमाकै लागि बनेकी थिइन् । म उनलाई नाटकमा आउनुअघि देखि नै चिन्थेँ । एकपटक मैले उनलाई एउटा नाटकको भूमिका प्रस्ताव गर्दै स्क्रिप्ट सुन्न जमलस्थित क्याफेमा बोलाएको थिएँ । उनी ‘खत्री लाइभस्टक’को भ्यानमा आएकी थिइन् । परिवारका सदस्य उनलाई मीना भनेर बोलाउँथे, म पनि ‘मीनू’ नै भन्थेँ । उनको पूरा नाम मीना खत्री नै हो जस्तो लाग्छ ।

‘स्पार्क’ नामक अंग्रेजी पत्रिकाका लागि फोटोसुट गर्न म उनको घर जाँदा उनले छिमेकी कलाकार उत्तम नेपालीको घर लगेकी थिइन् । उत्तम नेपालीको सिंगो परिवारसँग म परिचित थिएँ । कृष्टिले मेरो एउटा नाटकमा पनि अभिनय गरिन्, पारिश्रमिकका मामिलामा उनी निकै कडा थिइन् । पछि उनी नायिका भएपछि हामीले ‘तृष्णा’ र ‘सपना’ गरी दुई फिल्ममा सँगै काम ग¥यौं । ‘तृष्णा’मा उनले विवाहित महिलाको भूमिका निर्वाह गरेकी थिइन् भने ‘सपना’मा ‘सुन्दरीको मनमा बस्ने को होला...’ गीतमा पाहुना कलाकारका रूपमा नाचेकी थिइन् ।

हाम्रो सम्बन्धपछि व्यावसायिक मात्र रहेन, पारिवारिक पनि बन्यो । उनले मेरा पुराना मित्र उज्ज्वल मैनालीसँग विवाह गरिन् । उज्ज्वल नेपाली चलचित्र जगत्का पुराना प्रोडक्सन कन्ट्रोलर गौरीकान्त मैनालीका सुपुत्र हुन् । उज्ज्वल चालिसको दशकमा गाईजात्रा महोत्सवमा हास्यगीत गाएर चर्चामा आइसकेका थिए । पञ्चायतकालमा पोखरामा बलात्कारपछि हत्या गरिएका दुई दिदीबहिनी नमिता र सुमिता भण्डारीको दर्दनाक घटनालाई लिएर उनले एउटा प्यारोडी गीत रचेका थिए—

रक एन्ड रोल, राँगाको मासु पोल
पोखराको बजारमा कति राम्रो सिन
सिन हेर्न गएका केटी अहिले कहाँ छिन् ? 

यो गीतमा उनीसँगै तैयब शाह र विजय शर्मा नाच्थे । उज्ज्वलको अर्को चर्चित गीत थियो– ‘मेरो घरको पल्लो छेउमा एउटी सान्नानी, हेर्छे मलाई आँखा तानी तानी... ।’ 

एकपटक सांस्कृतिक कार्यक्रमका लागि हामी दीप तुलाधर, भूपालमान सिंह, सुनिल उप्रेती, अनुराधा शाह, विज्ञान श्रेष्ठ, रोशन कुँवर, रवि खड्का र उज्ज्वलसहित इलाम पुग्यौं । इलामको आइतबारे, मूलबजारको जनभवन र झापाको बुधबारेमा कार्यक्रम गर्दा हामीले निकै दुःख पायौं, तर उज्ज्वल जहाँ पनि हिट हुन्थे ।

पछि उज्ज्वल जापान गए । जापानमा उनका केही उतारचढावपूर्ण घटना घटे । यसबारे मैले उनका बुबा वा भाइ प्रज्ज्वललाई कहिल्यै केही सोधिनँ । जापानबाट फर्किएपछि मैले उसलाई फिल्ममा हिरो खेल्न प्रस्ताव गरेँ, तर उसले मानेन । बरु पछि हिट हिरोइनसँगै विवाह गर्‍यो ।

कृष्टिले ‘युगदेखि युगसम्म’, ‘चिनो’, ‘अधिकार’, ‘गोपीकृष्ण’जस्ता कैयौं सफल फिल्महरूमा अभिनय गरिन् । संयोग कस्तो भने, ‘भाग्यरेखा’बाट निकालिएका राजेश हमाल र कृष्टि केसी ‘युगदेखि युगसम्म’बाट पुनः सँगै पर्दामा आए र अत्यन्तै सफल भए । पर्दामा उनीहरूको जोडीलाई निकै रुचाइए पनि उनीहरूबीच आपसमा कहिल्यै सुमधुर सम्बन्ध रहेन ।

चर्चाको शिखरमा छँदा नै कृष्टि अमेरिका गइन् र फर्केर आइनन् । अमेरिकामा उनीहरू निकै एकान्त र गोप्य जीवन बिताइरहेका छन् । केही वर्षअघि उज्ज्वल एक्लै काठमाडौं आउँदा अभिनेता किरण केसीसँग ठमेलको होटलमा बसेर मलाई फोन गरेका थिए, तर राति भएकाले म भेट्न जान सकिनँ । पछि पनि उनी एकपटक आएका थिए, तर भेट भएन । कृष्टि नेपाल आए÷नआएको मलाई थाहा भएन, तर मेरो पुस्तक ‘वर्षादी दिनहरू’ प्रकाशन हुँदा म्यासेन्जरमा शुभकामना पठाएकी थिइन् ।

नेपाली चलचित्र जगत्ले कृष्टिको अभाव अझै महसुस गर्छ । उनको शैलीमा अभिनय गर्ने नायिकाहरू अहिले पनि छन्, तर उनको जस्तो उचाइ र वाहवाही कसैले पाउन सकेका छैनन् । कृष्टि अभिनय र व्यवहार दुवैमा आफैंमा एउटा हीरा हुन् । 

सम्बन्धित खबर