यो कस्तो घाउ हो,
जस्को कुनै मलहम छैन
औषधी छैन, डक्टर छैन !
उपचार छैन,
उनीहरू सुख देख्न
आफ्नो जिन्दगी खर्चियौ, बन्धक बनायौ
ऊनीहरू उज्यालो र खुसी देख्न,
कैंयौं दिन पनि अॅध्यारोमा काट्यौ
दशैंले बर्षौं नभेटिएकाहरूलाई पनि
भेट गराउंछ - भन्थ्ये
खै , यो बर्षको दशैंले त
हिजो सांझ संगै भान्सामा खाना खाएको छोरा - छोरी
आज बिहान गए पछि
फर्केर आएनन्
कहिल्यै नआउने गरि ,
नफर्किने गरि टपक्क टिपेर लग्यो !
दुष्मनहरूसित त म ढुक्क थिएं र संधै विजयी रहें
थाहा थियो , कहिल्यै हित गर्दैनन्
र सतर्क थिएं, हुन्थें,
तर आफ्नैले पनि धोका र षडयन्त्र गर्लान् , रच्लान्, सोच्न सकिएन, बुझ्न पनि सकिएन !
यो बाढीले त सबै कुरा बगाएछ, पखालेछ !
तर मेरो मनको वेदना र दु:खको
बिस्कुन भने ओभानै छ !
मेरो दु:ख किन पखाल्दैन!
किन बगाउंदैन !
यो बाढीले काठमाण्डौ शहर डुवाउंदा पनि
मेरो मनको आगो
किन निभाउन सकेन,
सकिरहेको छैन !
जनताका भावनालाई कैदी बनाएर,
बन्दी बनाएर
तिमी कस्तो स्वतन्त्रताको विगुल फुकिरहेका छौ !
युवा जति
विदेश लखटेर,
स्कूले बालकलाई बलि चढाएर
तिमी,
कुन भगवानलाई
खुसी बनाउन खोजीरहेका छौ, थियौ !
कस्तो, कस्तो शासन रोजीरहेका छौ वा
रोजाईमा छौ !
म प्रश्न गर्छु, तिमीसित !
के, तिमी हावालाई
बहन बाट रोक्न सक्छौ ?
पानीलाई,
बग्नवाट रोक्न सक्छौ ?
के सूर्यलाई
उज्यालो हुनुबाट रोक्न
छेक्न सक्छौ ?
पचहत्तर जनाको बलिदानले,
पचहत्तर लाख
विचारहरू जन्मिसकेका छन्
अब तिमी,
संझ, सोच र बुझ
तिनीहरू, विशाल पहाडले पनि नछेकिने
खुला आकाश हुन् ,
कुनै आंधी - बेहरी र प्रचण्ड
तापमा पनि नरोकिने,
स्वतन्त्र वहने हावा हुन्
अनि तिनीहरू,
एउटा-एउटा सिङ्गो सूर्य हुन् ,
जेन्जी हुन् !