यतिका दिनपछि आज
तिमी यता फर्किछ्यौ र तिम्रो चिठी आयो
तिमी जुन दिशातिर गएकी थियौ
म त सधैँ त्यतै फर्किएर उभिएको थिएँ
तिमीले फेरेको श्वास
हावाले उडाएर यतै ल्याउँछ कि भनी
तिमीलाई छोइआएको बतास चिन्न पो सकिन्छ कि भनी
तिम्रो टाउकाबाट चुँडिई झरेको केश
उडेर यता आइपुग्छ कि भनी
तर केही नआएरै बित्यो यति लामो समय
आज यति लामो समयपछि तिमीले
केही लेखी पठायौ
तिम्रा आफ्नै औँलाले कोरेका अक्षरहरू
यत्रो भिड छिचोलेर
मकहाँ आइपुगे
उडिरहेको बतासको हात समाई हिँडेकी तिमीलाई
खै, कुन ताकतले हो यता फर्काएछ
यो चिठी म खोलूँ या नखोलूँको
दोसाँधमा छु
यसमा खुर्सानीको धुलो जस्ता पिरा शब्दहरू पनि हुन सक्छन्
या दुधमलाई जस्ता गुलिया वाक्यहरू
यसमा टुक्रिएको आशा जोड्ने रसायन पनि हुन सक्छ
या मनलाई अभैm धेरै टुक्रा पार्ने छिनो
चिठी आउनु नै अहिले जीवन भएको छ
यतिका वर्षपछि तिम्रा परेलाहरू यता मोडिए
मलाई सम्झिएर तिम्रो मनका ओठहरू चले
र एउटा फूलको थुँगा जसरी आयो
यो चिठी मकहाँ
त्यसैले मैले खोलेको छैन यसलाई
केवल स्पर्श मात्र गरिरहेछु ।