काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले देश छाडेको दाबी गरेको भोलिपल्टै पूर्व ऊर्जामन्त्री दीपक खड्का काठमाडौंमै सार्वजनिक भएका छन् ।
जेनजी आन्दोलनका क्रममा जलाइएको बूढानीलकण्ठस्थित आफ्नै निवासको प्रांगणमा सोमबार बिहान उनले पत्रकारहरूसँग भेट गर्दै आफू स्वदेशमै रहेको र सरकारको दाबी निराधार भएको बताएका हुन् ।
खड्काले आफू कुनै पनि अनुसन्धान वा कानुनी प्रक्रियाबाट नडराएको स्पष्ट पारे । ‘सरकारले वारेन्ट काटेको छ र? बाहिर जान रोक लगाएको छ र? म भागे भन्ने आधार के हो?’ उनले प्रश्न गर्दै भने, ‘यस्ता झिनामसिना कुरा देखेर म डराउँदिनँ, सबै कुरा सामना गर्न तयार छु ।’
गृहमन्त्री अर्यालले नयाँ पत्रिकासँगको अन्तर्वार्तामा “तत्कालीन ऊर्जामन्त्री देश छाडेर भागेका छन्, अरू पनि भाग्न खोज्दै छन्” भन्ने अभिव्यक्ति दिएका थिए । तर, खड्का भने त्यसको भोलिपल्टै सार्वजनिक हुँदै आफू यतै रहेको प्रमाणसहित प्रस्तुत भएका छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा आफू र परिवार घरमै रहेको खड्काले बताए । ‘त्यो दिन म खाना खाँदै थिएँ, ढोका ढ्याङ–ढ्याङ भयो । बच्चालाई पनि खाना खुवाउन पाइनँ । पछि सुरक्षाकर्मीहरूले बाहिर निकाले,’ उनले सम्झिए ।
त्यस रात छिमेकीकोमा बसेपछि सेनाले सुरक्षित स्थानमा राखेको र केही दिनपछि उपचारका लागि भारत गएको खड्काको भनाइ छ । ‘डेँगु भएछ, त्यसकै उपचारका लागि भारत गएको थिएँ,’ उनले भने ।
त्यो क्रममा खड्काको घरबाट पैसा उडाइएको भिडियो सार्वजनिक भएको थियो । त्यसबारे पत्रकारहरूको प्रश्नमा उनले दसैंका लागि राखिएका २० र ५० रूपैयाँका नयाँ नोट प्रदर्शनकारीहरूले उडाएको दाबी गरे ।
‘मैले दसैंका लागि ल्याएको पैसा थियो, त्यो उडाएर फोटो खिच्ने काम योजनाबद्ध रूपमा गरिएको थियो,’ उनले आरोप लगाए ।
खड्काले आफ्नो व्यवसायिक पृष्ठभूमिका कारण घरमा केही रकम हुनु अस्वाभाविक नभएको पनि स्पष्ट पारे । ‘मन्त्री हुनु अघि नै मेरो व्यवसायिक संरचना तयार भइसकेको थियो,’ उनले भने ।
पत्रकार सम्मेलनमा उनले सरकारका कदमप्रति टिप्पणी गर्न अस्वीकार गर्दै भने, ‘अहिले सरकारको जिम्मा निर्वाचन सम्पन्न गर्नु हो, त्यसैले टिकाटिप्पणी गर्नु उचित ठान्दिनँ ।’