२०८२ कार्तिक २८ गते शुक्रवार / Nov 14 , 2025 , Friday
२०८२ कार्तिक २८ गते शुक्रवार
Ads

कविता : श्रद्धाञ्जली

shivam cement
प्रकाशचन्द्र खतिवडा
२०८२ असोज २५ गते ०६:००
Shares
कविता : श्रद्धाञ्जली

जितेर मात्रै जितिँदैन युद्ध 
देखेर मात्रै पूरा हुँदैन सपना
आशा पिएर बाँच्छ मान्छे 
दावानल जस्तो दन्किरहेछ देश 
म खण्डहरमा उभिएर चिच्च्याइ रहेछु 
देश पीडाले रुन्छ 
म देशको माया लागेर रुन्छु ।

म रगतको खोली तर्दै 
अज्ञात लासहरूको खोजीमा छु 
लासहरू सडकमा यत्रतत्र छरिएका छन्
सुन्दर सपना गुमाएर
आमाहरू मुर्छित छन्
सन्तान गुम्नुको पीडाले
काखहरू रित्तै भएका छन्
सरकारी दमन र ज्यादतीले ।

चोकहरू बले 
दरबारहरू जले 
चौकीहरू जले 
अदालत र मिसिलहरू जले
गोदाम रित्याइयो 
सुपर मार्केटहरू डढे
आन्दोलन नियन्त्रण बाहिर लगी
उपद्रव मच्चाउने को थिए ?
सजिलो छ जवाफ घुसपैठ भयो ।

घुसपैठले मात्रै देश पक्कै बल्दैन
जेन्जीहरूले जवाफ दिनु पर्ला 
देश बाल्ने योजनाकार को थिए ?
तिम्रा साथीहरूले शाहदत प्राप्त गरे
सरकार हत्यारो भयो भन्दैमा
आगजनी र तोडफोड नगर्दा हुन्थ्यो 
आन्दोलनका अनेक बाटाहरू थिए 

भवनहरू कब्जा गरी 
नियन्त्रणमा राख्दा हुन्थ्यो 
मन्त्रीमण्डल घोषणा गरी 
राज्य सत्ता हडप्दा हुन्थ्यो 
देश खरानी भएको छ 
विवेक र संयम गुमाउँदा ।

तिम्रो सपना सुशासन रहेछ 
भ्रष्टहरूलाई कठघरामा उभ्याउँदा हुन्थ्यो 
नेताहरू ऐश आराममा थिए 
टुँडिखेलमा नांगेझार पार्दा हुन्थ्यो 
अकुत सम्पत्ति आर्जन गर्नेहरूको
सम्पत्ति राष्ट्रियकरण गर्दा हुन्थ्यो 
सायद देश हार्ने थिएन 
तिमीहरूले धैर्यता नगुमाएको भए ।

मानवता रोए पछि 
म लज्जित छु
मेरो बुद्ध तरक्क रोएको छ
शान्ति बहाली नभए पछि ।

मलाई बोल्न मन छैन 
देश जलिरहेको बेला 
मृतक जेन्जीहरूलाई
श्रद्धाञ्जली दिनै छ 
फूलको थुंगा लिएर 
आर्यघाट नेरै
म शिर झुकाइ उभिएको छु ।

ADV

सम्बन्धित खबर