२०८२ असोज ४ गते शनिवार / Sep 20 , 2025 , Saturday
२०८२ असोज ४ गते शनिवार
Ads

गणेशमानको नाम थाहा पाउन मंगलादेवीलाई चार वर्ष कुर्नुपर्‍यो

shivam cement
asmita
२०८२ असोज ४ गते ०६:१५
गणेशमानको नाम थाहा पाउन मंगलादेवीलाई चार वर्ष कुर्नुपर्‍यो

–चिनु पोखरेल 

नेपालमा महिलाको हक, हित र अधिकारबारे आवाज उठाउने र महिलाहरूलाई संगठित रूपमा अघि बढ्न प्रेरित गर्ने कामको थालनी गर्ने पहिलो महिला मंगलादेवी सिंह हुनुहुन्थ्यो । उहाँकै त्याग र संघर्षका कारण समाजमा नेपाली महिलाहरूको स्थान आजको अवस्थासम्म आइपुगेको हो । प्रस्तुत लेख मंगलादेवीको जीवन वृत्तसँग जोडिएको छ ।

स्वर्गीय मंगलादेवी सिंहको जन्म १९८२ साल मंसिर २५ गते बिहान १० बजे पिता बद्रीलाल श्रेष्ठ र माता पूर्णदेवी श्रेष्ठको कोखबाट भएको थियो । उहाँ परिवारको सबैभन्दा जेठो सन्तान हुनुहुन्थ्यो । मंगलादेवीको हजुरबुबा एक शिक्षित अभिभावक हुनुहुन्थ्यो । त्यसबेला पनि उहाँले कलकत्ताको क्विन्स कलेजमा आइएस्सी पढ्नुभएको थियो । आफू शिक्षित भएको कारण उहाँले मंगलादेवीको पिताजीलाई धनवादमा मेकानिकल कोर्स पढाउनुभएको थियो । त्यतिबेला कलकत्ता जानु र पढ्नु भनेको देशका लागि ठुलो सान र मान प्रतिष्ठाको विषय हुने गर्दथ्यो ।

हजुरबुबाको इलम त्यतिबेला बग्गी बनाउने थियो । उहाँको प्युखामा बग्गीखाना थियो । राणाहरू हजुरबुबाले बनाएको बग्गी चढेर ओहोरदोहोर गर्दथे । पछि मोटर चल्ने भएपछि बग्गीखाना मोटर मेकानिकल वर्कसपमा परिणत भयो । मोटरहरू धेरै भएकाले वर्कसपलाई फराकिलो स्थानको आवश्यकता परेकोले त्रिपुरेश्वरमा कारखाना सार्नुभएको थियो । त्यतिबेला नै थुप्रै कामदारले उहाँको कारखानामा रोजगारी पाएका थिए ।

समयसमयमा सबै सन्तानको हेरचाह गर्ने हजुरबुबा कुलबहादुर श्रेष्ठले मंगलादेवी श्रेष्ठलाई कलकत्ता घुमाउन लगिरहनुहुन्थ्यो । मंगलादेवी धेरैजसो मामाघरमा नै हुर्कनुभएको हो । मामाघर बस्दाखेरी त्यहाँका साथीहरूसँग साक्सला भाँच्ने खेल, लपेटो चक्का फाल्ने खेल खेल्नुहुन्थ्यो । जुन खेलमा नित्यनाथको गजुर कटाउनुपर्ने हुन्थ्यो र कटाउन सक्यो भने २५ रुपैयाँ पाउने भनेर बाजी राखिएको हुन्थ्यो । मंगलादवी पनि सो खेलमा सहभागी हुने गर्नुहुन्थ्यो । तर केटीमान्छे भएकाले धेरैले खेलाउन खोज्दैनथे । तर उहाँ केटा साथीहरूभन्दा कम हुनुहुँदैनथ्यो । उहाँले प्रायः खेल जित्नुहुन्थ्यो र जितेको पैसाले तिनै साथीहरूलाई खाजा खुवाउनुहुन्थ्यो । साथीभाइलाई खेलाउने खुवाउने उहाँको शोखले उहाँमा आत्मबल र महत्वकांक्षा बढाएको थियो । सानैदेखि उहाँमा नेतृत्व लिने क्षमता विकसित भएको थियो । 

मंगलादेवीलाई पहिलापहिला नेपाली भाषा बोल्नसमेत आउँदैनथ्यो । तर पछि बिस्तारै नेपाली भाषा बोल्न थाल्नुभयो । साथीहरूले नेवारकी छोरी भएर पनि कसरी नेपाली जानेको भनेर सोध्दा ठुलीआमाबाट सिकेको भन्नुहुन्थ्यो । उहाँ आफ्नो ठुली आमाको घर प्रायः गइरहनुहुन्थ्यो । त्यतिबेलाको समयमा पनि ठुलीआमाले ब्राह्मणसँग बिहे गर्नुभएको थियो । जाति प्रथाको कट्टरता भएको बेलामा पनि ब्राह्मणसँग बिहे गरेर क्रान्तिको बिगुल फुक्ने काम उहाँकै परिवारबाट सुरु भएको देखिन्छ ।

काठमाडौंको जाडो छल्न ठुलीआमाकोमा जाँदा उहाँले नेपाली भाषा राम्रोसँग सिक्नुभएको थियो । उहाँले नेपाली भाषा जानेपछि ठहिटीका साथीहरूलाई पढाउने लेखाउने काम पनि गराउनुभयो । घरमा छोराहरूलाई स्कुल पठाउने तर छोरीलाई नपठाउने, आमाले पनि भाइहरूलाई पहिला खाना खुवाउने र आफूलाई पछि खाना दिने क्रम चलाउनुभएकोमा उहाँले विद्रोह गर्नुभयो । उहाँले बारम्बार म पनि स्कुल जान्छु, म पनि पहिला खाना खान्छु भनेर विद्रोह गरेपछि आमाले अनेक तरिकाले सम्झाउनुभयो तर आफ्नो अडान नछाडी आमासँग विद्रोह नै गरिरहनुभयो ।

मंगलादेवी जन्मेको समयमा राणाहरूको जहानियाँ शासन चलेको थियो । राणाहरूको चकचकी र पढेलेखेका मान्छेहरूको धाक देखेर सबै छक्क पर्दथे । ती पढेलेखेका र जागिर खाएका मान्छेहरूलाई देखेर उहाँले पनि आफ्नै घरबाट विद्रोह सुरु गरेर आफूले पनि भाइसरह पढ्न र सँगै बसेर खाना खान पाउनुपर्छ भनेर जिद्दी गर्नुहुन्थ्यो । फलस्वरूप उहाँले आफूलाई अब्बल बनाउँदै अगाडि बढ्नुभयो ।

बुबा बद्रीलाल श्रेष्ठ कलकत्ताबाट बिदामा घर आउँदा भाइ र काकाहरूलाई पढाउने कुरा हुँदा आफूलाई पनि पढाउनुपर्छ भन्दै विद्रोह सुरु गरेपछि आमाले ‘म तिमीलाई किताब किनिदिन्छु र घरैमा पढाउँछु’ भनेर भन्नुभएको थियो । तर उहाँले त्यो कुरा अस्वीकार गरी स्कुलमा नै गएर पढ्ने अडान लिएपछि उहाँको पढाइ सुरु भएको थियो । त्यसपछि बुबा धनवादबाट फर्कंदा घरमा उहाँलाई खेलौनाहरू ल्याइदिने, पढ्न सिकाउने सबै कार्यको सुरुवात भयो । उहाँ पढ्नमै व्यस्त हुनुभयो । उहाँलाई पहिलेपहिले पढेर के हुन्छ भनेर साथीहरूले जिस्क्याउँथे । तैपनि उहाँ आफ्नो लक्ष्य सम्हालेर अगाडि बढ्नुभयो । 

नेवारी संस्कार र परम्पराअनुसार छोरीलाई पाँच वर्ष पूरा भएपछि बिहे गर्ने वा गुफा राख्ने चलन थियो । सोही समयमा उहाँको बुबा पढ्न जानुभएकाले अलि ढिलो इही अर्थात् बेल विवाह भएको थियो । इही भनेको नेवार सम्प्रदायमा एक कर्म गर्ने प्रचलन हो, जुन सबैको गर्नुपर्छ । त्यसपछि हरेक कर्मकाण्डका बाटा फुक्ने चलन भएकाले उहाँको १० वर्षपछि मात्र इही गरिएको थियो भन्ने सुन्न पाइन्छ । उहाँले आफ्नो चार कक्षासम्मको पढाइ घरमा नै पूरा गर्नुभएको थियो ।

त्यति पढाइ पूरा गरेको समयमा उहाँको विवाहको कुराकानी चल्न सुरु भएको थियो । विवाहको कुरा चल्दा उहाँ १२–१३ वर्षकी हुनुहुन्थ्यो । गाउँघरतिर छोरी बुढी बनायो तर विवाह गर्नेबेला पनि हतार गर्दैन भन्नेजस्ता कुरा उहाँका बुबालाई आइरहन्थ्यो । उहाँलाई विवाहको प्रस्ताव राखी जन्म कुण्डली र खुट्टाको नाप गणेशमान सिंहसँग मिलाउनका लागि लगिएको थियो । तर गणेशमान सिंहको घरबाट लामो समयसम्म जन्म कुण्डली र खुट्टाको नाप फिर्ता नआएपछि अन्य माग्न आउने मान्छेहरू त्यत्तिकै निराश भएर फर्कने गरेका थिए । 

उता उहाँको आमाले भने गणेशमानलाई छोरी दिन इच्छा नै राख्नुभएको थिएन । देश द्रोहको मुद्दा लागेको छ, जेल परेको छ, सजिलोसँग भेटघाट गर्न पाइँदैन । त्यस्तो केटालाई म छोरी दिन्न भन्नुहुन्थ्यो । तर बुबा र घरपरिवारले सबैको सरसल्लाहबाट राम्रै हुन्, सबै कुरो भएको, पढेलेखेको, धनीमानी, व्यापारी भनेर भनेपछि बुबाहरूको निर्णय नै मान्नुपथ्र्याे । त्यसपछि साथीहरूले सोध्थे– तिम्रो विवाह हिराकाजी (गणेशमान सिंह)सित गर्ने रे भनेर । उहाँलाई धेरै कुरा थाहा थिएन । सबैले ठुलो घरानामा जाँदै छ भनेर अब हामीलाई बिर्सन्छे भन्ने कुरा पनि उहाँका साथीहरूले गर्ने गर्दथे ।

त्यतिबेला गणेशमान सिंह कलकत्तामा पढ्न जानुभएको थियो । हजुरबुबा र उहाँको बुबाले कुरो चलाउनु भएकाले स्वयं उहाँलाई विवाह हुँदै छ भन्ने कुरा पनि थाहा थिएन । उहाँको पढाइले गर्दा जन्म कुण्डली फर्काउन पनि ढिला नै भएको थियो भन्ने सुनिन्छ ।

१९९७ साल वैशाख महिनामा मंगलादेवीको स्वयंवर गणेशमान सिंहसँग भएको थियो । बुबाका अगाडि बोल्न नसके पनि आमाको अगाडि विवाह गर्दिन भनेर विद्रोह गर्दा आमाले ध्यान नै नदिएर छोरीको विवाह बुबाले कलकत्तामा नै भेटेको केटा भएर सजिलैसँग मान्नुभयो । र, उति बेला पनि उहाँको विवाह धुमधामसँग भएको थियो । विवाहले हर्षोल्लास छायो । अल्लारे उमेरका बेहुला बेहुली भने न खुसी, न दुःखी । दुवै चुपचाप बसिरहनुभएको थियो । 

विवाह गरेको चार महिनापछि उहाँको घरमा ठुलो बज्रपात भयो । कारण थियो– गणेशमानलाई राजद्रोह र गद्दी ताकेको अपराधमा पक्राउ गरी नेल र हतकडी लगाएर सिंहदरबार खोरमा यातनापूर्वक राखिएको थियो ।

मंगलादेवीले विवाह भएको चार वर्षपछि मात्र आफ्नो बुढाको नाम ‘गणेशमान’ भएको थाहा पाउनु भएको रहेछ । त्यो पनि गंगालालले ‘गणेशमान’ भनेर बोलाउँदा उहाँले झ्यालबाट सुन्नुभएको रहेछ । ‘उहाँ घर हुनुहुन्न’ भनेपछि गंगालाल फर्कनुभएको रहेछ । अनि पछि गणेशमानलाई ‘के तिम्रो नाम गणेशमान हो ?’ भनेर सोध्नुभएछ । तर विडम्बना त्यतिबेला नै आठपहरिया आएर गणेशमानलाई आएर पक्रेर लगेछन् ।

त्यतिबेला मंगलादेवीलाई यी तीन कुराले त्रसित तुल्याएको थियो – पहिलो, देश द्रोहको रिस आफूमाथि आउला भन्ने आशंका, दोस्रो, घरमा श्रीमान् नभएपछि हेलामा परिएका भन्ने पिर अनि तेस्रो, श्रीमान् घरमा फर्केर सकुशल जीवन निर्वाह गर्न पाइन्छ पाइन्न भन्ने कुरा । यी तीन कुराले उहाँलाई दुःखी तुल्याएको थियो । उहाँलाई आफ्नो श्रीमानले यसरी राजनीति गर्नुभएको छ भन्ने कुनै कुराको पनि जानकारी थिएन । तैपनि विवाह गरेको केही महिनामै समातिँदाको पीडा भने जो कोहीले कल्पना गर्न नसक्ने कुरा रह्यो । 

राणाहरूको दरबारमा वडाकाजीको नातिले यति कठोर यातना भोग्नुपर्छ भन्ने कुराको कल्पनासमेत नगरेका अवस्थामा आमा चकारेर गाली गर्दै कोर्रा हान्दाको पीडा कस्तो भएको थियो । उहाँलाई प्रत्येक दिन खाना लगिदिने र धुनुपर्ने लुगा ल्याउनुपर्ने काममा दुई जना खटिएका थिए । वडाकाजीले ‘गणेशमान प्रजापरिषदको सदस्य हो वा होइन ?’ भनेर निक्र्याेल गर्न लगाएका थिए । गणेशमानजीले ‘हो’ भनेपछि वडाकाजी एक शब्द पनि नबोली बस्नुभएको अवस्था ‘म सम्झिरहन्छु’ भनेर मंगलादेवी भन्नुहुन्थ्यो । 

ADV

सम्बन्धित खबर

Advertise