काठमाडौं : नेकपा एमालेको मुख्यालय च्यासलमा शुक्रबार संविधान दिवस मनाउँदा फरक दृश्य देखियो । सेनाको ब्यारेकबाट फर्किए पनि पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यक्रममा अनुपस्थित रहे । पार्टी अध्यक्ष नहुँदा वरिष्ठ उपाध्यक्षले स्वतः नेतृत्व लिनुपर्ने हो । तर ईश्वर पोखरेललाई पाखा लगाएर उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई अघि सारियो । शाक्यको नेतृत्व झल्किने गरी पहिलो औपचारिक कार्यक्रम गरेर पार्टी संस्थापनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहलाई प्रस्ट सन्देश दिएको छ ।
संस्थापन पक्षले ईश्वर पोखरेललाई पाखा लगाएर उनको अस्तित्व स्वीकार नचाहेको सन्देश दिएको स्थायी कमिटी सदस्य कर्ण थापा बताउँछन् । ‘पार्टीलाई नियमानुसार अघि बढाउन नखोजेको देखियो,’ उनले मध्यान्हसँग भने, ‘यो स्थिति आइसक्दासमेत मूल नेतृत्वको वरिपरि घुम्नेहरूले वैधानिक हिसाबमा आउने वरिष्ठ उपाध्यक्षलाई निषेध गर्न खोजेको छ ।’
अध्यक्ष ओली अनुपस्थित हुनु र वरीयता मिचेर शाक्यको अध्यक्षतामा कार्यक्रम गरेर एमाले संस्थापनले अघोषित रूपमा परिआए विकल्पमा शाक्यलाई अघि सार्ने सन्देश दिएको छ । तर तत्कालै नेतृत्व हस्तान्तरण भने गर्ने मुडमा ओली देखिँदैनन् ।
ओली मात्र होइन, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि पनि नेतृत्व हस्तान्तरणको दबाब बढेको छ । यी तीनै नेताहरू भरसक नछाड्ने छाड्नै परे आफूअनुकूलका नेता अघि सार्ने तयारीमा देखिन्छन् । मुख्य दलका यी नेताहरू अहिले घरबारविहीन बनेका छन् । एमाले अध्यक्ष ओली सैनिक ब्यारेकबाट गुन्डुमा डेरा सरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले पनि खुमलटार छाडिसकेका छन् भने कांग्रेस सभापति देउवा अस्पतालमै छन् । जेनजी आन्दोलनका क्रममा प्रर्दशनकारीको आक्रमणबाट उनको टाउकोमा १२ वटा टाँका लगाउनुपर्नेगरी चोट लागेको छ । उनी अहिले पनि अस्पतालमै छन् ।
१० दिनसम्म सेनाको ब्यारेकमा बसेर निस्किएका नेताहरूले विस्तारै राजनीतिक गतिविधिमा सक्रिय हुन थालेका हुन् । ओली र प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट सुरु गर्दै पार्टीमा नेतृत्व जोगाउन कसरत सुरु गरिसकेका छन् । ११औं संविधान दिवसमा तीनवटै दलले आआफ्नै कार्यालयमा कार्यक्रम राखेर नेताहरूलाई मैदानमा उतारेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र र बाहिर समन्वयको भूमिकामा देखिएका छन् । शुक्रबार पार्टीको कार्यसम्पादन समितिको बैठक उपसभापति खड्काकै नेतृत्वमा बसेको छ । ‘पार्टी नेतृत्वको विकल्पबारे सुझबुझपूर्ण ढंगबाट अघि बढ्नुपर्ने अहिलेको परिस्थितिलाई सबै नेता साथीहरूले अत्यन्तै संवेदनशील बन्नुपर्छ,’ उनले मध्यान्हसँग भने, ‘अहिले पार्टी मात्रै होइन, सिंगो देशमा संकट छ । यसबेला सबैले एक भएर पार्टी र मुलुकलाई बचाउनु छ । सभापति उपचारमा रहेकाले उहाँको स्वास्थ्य ठिक भएपछि मात्र हामी बृहत् छलफल गरेर पार्टीलाई रूपान्तरण र पुनर्संरचित गर्नेछौं ।’
खड्काको यो भनाइले कांग्रेसमा तत्काल पार्टी सभापतिको विकल्प खोज्ने सम्भावना देखिँदैन । तर पार्टीको अघोषित कार्यभार उपसभापति खड्काले नै सम्हालेका छन् । खड्कालाई औपचारिक रूपमा कार्यवाहक सभापतिको भूमिका भने दिइएको छैन । गुटका हिसाबले मात्र होइन, वरिष्ठताका हिसाबले खड्का देउवापछिका नेता हुन् ।
ओलीमा नेतृत्व हस्तान्तरण पेचिलो बनेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा फर्किन रोक्ने निर्णयपछि संस्थापन र इतर समूहहरू एकअर्काविरुद्ध उत्रिएको बेला परिस्थिति ओलीको प्रतिकूल गएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य कर्ण थापालगायत नेताहरूले पार्टीका हरेक बैठकमा फरक मत राख्दै आएका थिए । गत भदौ २०–२२ मा भएको विधान महाधिवेशनमा नेता थापाले सो समूहका तर्फबाट फरक प्रस्ताव पेस गरेका थिए । विधान महाधिवेशनले आगामी नेतृत्वका लागि ओलीलाई नै निर्विकल्प बनाउने तयारी गरे पनि जेनजी आन्दोलनले सो योजनालाई धक्का दिएको छ । आन्दोलनपश्चात् सार्वजनिक कार्यक्रममा नदेखिएका ओलीले संक्रमणकालीन अवस्थासम्म उपाध्यक्ष शाक्यलाई अघोषित कार्यभार दिएर जाने संकेत गरेको एमालेका पोलिटब्युरो सदस्य विशाल भट्टराई बताउँछन् । तर त्यस्तो अवस्थामा पार्टीभित्र थप समस्या उत्पन्न हुने एमाले संस्थापन इतरका नेताहरूले बताएका छन् । जेनजी आन्दोलनका घाइते भेट्न पूर्वराष्ट्रपति भण्डारीको दौडधुप बढ्दै जाँदा ओलीमाथि तत्काल नेतृत्व छाड्न दबाब बढ्ने कतिपय नेताहरूले दाबी छ । तर स्थायी र केन्द्रीय कमिटीमा प्रस्ट बहुमत रहेकाले ओलीको इच्छाबिना भण्डारी समूहले नेतृत्व हस्तान्तरण गराउन नसक्ने नेताहरू बताउँछन् ।
माओवादी केन्द्रमा पनि उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डको राजीनामा मागेपछि नयाँ हलचल आएको छ । नेतृत्व परिवर्तनको बहसले व्यापकता पाउन थालेपछि प्रचण्डले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पाखा लगाएर उपाध्यक्ष पम्फा भुसाललाई छाया नेतृत्व तयार गर्दै छन् । त्यो रणनीतिले पार्टीमा खैलाबैला हुने अवस्था आएको छ भने भुसालभन्दा प्रचण्डबाटै पार्टी सम्हालिन्छ भनेर अभियान चलाउन लगाइएको छ । त्यसले यसपटक पनि उपमहासचिव जनार्दन शर्मालाई नै ब्याकफायर हुने स्थिति छ ।
गगन–विश्वको विशेष महाधिवेशनको प्रस्ताव तुहियो
सबै दलका युवा नेताहरूका लागि यो समय शीर्ष नेतृत्वको विकल्प खोज्ने यो नै उत्तम समय बनेको छ । जेनजी आन्दोलनको रापले तातेकैबेला पार्टी नेतृत्वको विकल्पलाई मूल एजेन्डा बनाएका दोस्रो र तेस्रो पुस्ताका नेताहरूले विशेष महाधिवेशनबाट पार्टीमा पुनर्संरचनाको बहस सुरु गरेका छन् ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू चन्द्र भण्डारी, जीवन परियार, प्रदीप पौडेल, रञ्जित कर्ण, गुरुराज घिमिरे, नैनसिंह महर, प्रतिमा गौतम, भूपेन्द्रजंग शाहीसहितका नेताहरूले सभापति देउवाले पार्टी नेतृत्वबाट बिदा लिनपर्ने सुझाव दिएका छन् । कांग्रेसमा १५औं महाधिवेशनको समय कम्तीमा एक वर्षपछि धकेल्ने र देउवा छैटौंपटक प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने तयारी थियो । तर जेनजी आन्दोलनले उनका दुवै सपना चकनाचुर पारिदिएको छ । पुराना राजनीतिक दल र पुराना नेताहरूप्रति आक्रोशित युवाले नरुचाएका नेताहरूले फेरि टाउको उठाउने आशंका पार्टीभित्र कायमै छ ।
आगामी मंसिरमा कार्यकाल समय सकिने भएकाले यो तीन महिनाको समयभित्रै नियमित माहधिवेशन गर्ने गरी अघि बढ्नुर्ने नेता प्रदीप पौडेलले बताउँछन् । उनले मध्यान्हसँग भने ‘कांग्रेसको नियमित महाधिवेशनको समय आइसकेको छ । तीन महिनामा महाधिवेशन गर्न सकिन्छ । आम निर्वाचनअघि महाधिवेशनमा जानुपर्छ र अधिवेशनबाटै पार्टीको नीति, नेतृत्वसहित सबै छिनोफानो गरौं भन्ने मेरो धारणा हो । पार्टीप्रति जनविश्वास बढाउने यो भन्दा अर्को विकल्पमा जानु हुँदैन ।’
कतिपय नेताहरूले पार्टीको विशेष महाधिवेशन भने पनि सबै पदाधिकारीको कार्यकाल मंसिरभित्रै सकिने हुँदा यसलाई नियमित महाधिवेशनकै रूपमा लिनुपर्ने पौडेलले बताए । तर, शुक्रबार कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्ताव राखे पनि त्यसमा अधिकांश नेताहरूको समर्थन पाउन सकेनन् । कांग्रेसका सञ्चार तथा प्रचारविभाग प्रमुख मीन विश्वकर्माले तत्कालका लागि कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र पार्टीको विशेष महाधिवेशन पनि नबोलाउने कार्यसम्पादन समितिको निर्णय भएको उनले बताए । कांग्रेसले राजनीतिक परिस्थिति हेरेर चाँडै केन्द्रीय समिति बैठक आह्वान गर्ने तयारी गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र र रास्वपामा समेत पार्टी पूर्नसंरचनाको बहस भइरहँदा पार्टीको आगामी नीति र नेतृत्वको खोजी हुने गरेको नेताहरूले बताएका छन् ।