काठमाडौं : वैदेशिक रोजगारीका लागि अवैधानिक रूपमा भारतको बाटो हुँदै युद्धग्रस्त मुलुक युक्रेन पुगेका दुई जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को पहल र जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सहजीकरणमा युक्रेनस्थित सैन्य क्याम्पमा रहेका उनीहरूलाई स्वदेश फर्काइएको हो ।
रौतहटका २८ वर्षीय जयप्रकाश शाह र बागलुङका २३ वर्षीय सन्देश केसीलाई उद्धार गरिएको हो । उनीहरू विगत १४ महिनादेखि सैन्य क्याम्पमा रहेका थिए ।
लामो समयसम्म सैन्य क्याम्पमा बस्न बाध्य उनीहरूले केही समयअघि एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई सम्पर्क गरी उद्धारका लागि पहल गर्न आग्रह गरेका थिए । त्यसपछि संघले आवश्यक सहजीकरणका लागि दूतावाससँग समन्वय गर्दै आएको बताएको छ । युक्रेनबाट मल्दोवा र भारतको नयाँ दिल्ली हुँदै शुक्रबार दिउँसो १ बजे उनीहरू दुवै जना काठमाडौं आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई संघको सचिवालयबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र कनिष्ठ अधिकृत निरोज महर्जनले स्वागत गरेका थिए । उनीहरू दुवै जनाले दुःखका बेलामा गैरआवासीय नेपाली संघ र जर्मनीस्थित नेपाली दूतावासले पुर्याएको समन्वय, सहयोग र सहजीकरणका लागि धन्यवाद दिएका छन् ।
परराष्ट्र मन्त्रालयले उद्धार कार्यमा सहयोग गर्ने युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ जर्मनी र यस कार्यमा सहयोगी अन्य निकाय, व्यक्ति तथा सरोकारवालाहरूलाई धन्यवाद दिएको छ ।
परराष्ट्र मन्त्रालयले विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्नुपर्ने भन्दै सम्बन्धित मुलुकको कानुनको उल्लंघन, अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यानसमेत जोखिममा पर्नसक्ने बताएको छ ।
अवैधानिक रूपमा गइ पक्राउ परेकाहरूको उद्धार प्रक्रिया पनि सहज नहुने भन्दै परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन र यस प्रकारको कुनैपनि कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ । रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका ७३ नेपालीको मृत्यु भइसकेको छ ।