
काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले मलेसिया सिन्डिकेटविरुद्ध सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । मलेसियाको एफडब्लुसिएमएसमा नाम समावेश भएपछि रामप्रसाद गैरेलाई अध्यक्षको जिम्मेवारीबाट निलम्बन गरी उनीसहित २३० सूचीमा नाम समावेश भएका अन्य व्यवसायीलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधेको छ ।
अध्यक्ष गैरेको नाम सिन्डिकेटमा आएपछि प्रथम उपाध्यक्ष सुवर्ण लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको महासचिव सुमनराज पाण्डेले बताए । एसोसिएसनले एफडब्लुसिएमएसको पहिलो २५ सूचीमा रहेका सदस्यहरू निलकुमारी घले, मोहम्मद जुनेद, जुबेर खान, किशोरकुमार हमाल शर्मा र सुरज केसीलाई साधारण सदस्यतासमेत नरहने गरी निष्कासनको कारबाही गरिएको जनाएको छ ।
एसोसिएसनले संस्थाको विधान तथा प्रचलित कानुनी व्यवस्था, विषयको गम्भीरता, संस्थाको उद्देश्य, व्यवसायीहरूको पेसागत स्वतन्त्रता तथा संस्थाको मर्यादा कायम नगरेको ठहर्याएको बताएको छ ।
एसोसिएसनले मलेसिया सिन्डिकेटलाई कुनै पनि अवस्थामा पराजित गरेर इजाजतप्राप्त सबै व्यवसायीको पेसा–व्यवसायको अधिकार संरक्षण गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सञ्चालन गर्ने सबै कार्यक्रममा ऐक्यबद्धताका साथ सहभागिता जनाउने निर्णयसमेत गरेको महासचिव पाण्डेले जानकारी दिए ।
गैरेले आफ्नो संलग्नता नभए पनि स्वार्थ समूहले एफडब्लुसिएमएसमा आफ्नो कम्पनीको नाम समावेश गरेका कारण नैतिकताको आधारमा विषयबस्तुको आधिकारिक रूपमा टुंगो नलाग्दासम्म अध्यक्षको जिम्मेवारी छाडेको बताए ।