–राधा कणेल
जोजो थे बहुतै धनी जगतमा, झन्झन्, धनी ती भए
जोजो थे बहुतै विपन्न जगमा, झन्झन् विपन्नै रहे
छर्दै ज्ञान र शान्ति, न्याय समता देऊ तिमीले अनि
आऊ बुद्ध तिमी यही जगतको आशा भरोसा बनी ।
मान्छेका मनभित्र लालच बढ्यो बढ्दै छ लोभीपन
अत्याचार बढ्यो झनै दिनदिनै बढ्दै छ पापी मन
के यो न्याय भयो र ? यो जगतमा अन्याय बढ्दै छ नि
आऊ बुद्ध तिमी यहाँ मनुजको आशा भरोसा बनी ।
साझा विश्व छ यो विशाल तर के जित्ने भनी होडमा
उस्तै मानव लड्छ आज किन हो भिन्नै बनी व्यर्थमा ?
रातो नै बहनेछ रक्त सबको काटेर हेर्यौं भने
आऊ बुद्ध तिमी दुखी सकलको आशा भरोसा बनी ।
कोही धर्म बचाउने विषयमा लड्दै गरेका यहाँ
यौटै ईश्वरका अनेक मुख छन्, बुझ्दैन मान्छे जहाँ
साँच्चै शान्ति कता गयो भन कता ? आशा गरौँ तैपनि
आऊ बुद्ध तिमी चराचरभरी आशा भरोसा बनी ।
आऊ विश्व सखाप बन्न नदिने बाचा पुर्याऊ अब
फर्की शान्ति, दया र प्रेम, करुणाको गीत गाऊ अब
घन्काऊ मनमा बसेर सबको झंकार नौलो अनि
आऊ बुद्ध तिमी यही जगतको आशा भरोसा बनी ।