२०८२ भदौ २१ गते शनिवार / Sep 06 , 2025 , Saturday
२०८२ भदौ २१ गते शनिवार
Ads

काका, कहिले फर्किने गाउँ ?

shivam cement
२०८२ भदौ २१ गते ०६:१०
काका, कहिले फर्किने गाउँ ?

–खिमराज गिरी

सहरको रमझम, सुखसुविधा सम्झेर काका सहर पसेको पनि कयौं वर्ष भइसकेको छ । तर गाउँघरको प्राकृतिक सुन्दरता भने उस्तै छ । बिहानै गाइवस्तुको घण्टी बजेको आवाज, खानामा कोदो, मकै र फापरको परिकार, दही, मही, घिउको बेजोड स्वाद अहिले पनि उस्तै छ । गोठभरि वस्तुभाउ, टौवाभरी पराल, पखेराभरी घाँस, थाँक्राभरी मकै, भकारीभरी धान अनि मनभरी आनन्दको पहाड नै गाउँको विशेषता हो । तर सहरिया बन्ने रहरले काका हिँड्नुभएको पनि आज दसकौं भइसकेको छ । टलल टल्किने हिमाल, हरियाली पहाड, वस्तु चर्ने बाटुले चौर र पारीको वारीको बीचमा काकाको घर छ । जुन घर वर्षौंदेखि काकाको आगमनको पर्खाइमा बाटो रुमलिरहेको छ । काकाको घरको छानामा चिरायु, दुबो र गन्ने झारले अड्डा जमाएको छ । बार्तलीका काठका फलेकहरू सबैले ठाउँ छोडिसकेका छन् । बनमारा घाँसले आँगन भरिएको छ । बारीमा भएका घाँसपात पनि गाउँलेको रजाइँ भएको छ । अरू त के, गैह्री खेत पनि कसले कब्जा गरेको छ, काकालाई थाहा छैन । गाईवस्तु तथा बाख्रालाई कुँढो पकाउन बनाएको आँगनको ढुंगाको चुल्हो पनि भत्किएको छ । धन्सारको छानो पनि विछिप्त अवस्थामा रहेको छ । ढोकाको ताला जस्ताको तस्तै छ । तर काकाका लागि सधैं एउटा प्रश्न अगाडि तेर्सिन्छ, ‘काका, कहिले फर्किने गाउँ ?’

वास्तवमा आज गाउँका पहाडका बीच र टुप्पामा पनि पिच सडक बनिसकेका छन् । पहाडको सिरानमा गाडी कुँदेको दृश्य देख्दा साँच्चै लाग्छ, आज गाउँघर एउटा स्वर्गको टुक्रा हो । तर, गाउँको यथार्थ आज पृथक छालमा डुबुल्कि मारिरहेको छ । मानिसहरूको रहर सहर नै भएको छ । फराकिलो क्षेत्र, स्वच्छ हावापानी, मिलनसार मानिसहरूको जमघट, ताजा खाना, बोलीको मिठास, विविध सांस्कृतिक परिवेश छोडेर आज मानिस सहरको साँघुरो कोठामा गुम्सिएको छ । तैपनि मानिसमा घमण्डको बादलले छाएको छ । आज, गाउँमा सडक, बिजुली, खानेपानी, केही सानासाना अस्पताल, विद्यालय सबै पुगेकै छन् तर गाउँबस्ती टोल सबै खाली छ । विद्यालयमा बालबालिकाको हाँसो छ, स्वास्थ्यचौकीमा उपचारको व्यवस्था छ । साँझको झिमकिरीको आवाजसँगै बालिएको बत्ती, बिहानको शुद्ध हावाले वास्तवमा जीवनलाई जीवन्त बनाउँछ नै । तर सहरमा भीडभाड छ, धुलो र धुवाँको कारखाना नै हो सहर । तैपनि मानिसहरूको चाप भने किन हुन्छ सहरमा ? आज सहरमा वरिपरिका छिमेकीसँग चिनजान हराएको छ । सधैं मौनताको जीवन छ सहरमा । वरिपरि छिमेकीको घरमा के भइरहेको छ थाहा छैन । भनिन्छ नि ‘जिउँदाको जन्ती न मर्दाको मलामी’ तर सहरमा त्यही पनि हुँदैन । आखिर के औचित्य रह्यो र जीवनको ? तर गाउँमा त ती सुन्दर बगंैचा, जताततै हरियाली, छिमेकीमा भातृत्वको भावना, चाडबाडमा खचाखच मानिसको भीडले आँगन भरिन्छ । न त भड्किलो संस्कार न त कसैको चित्कार ! कति पवित्र मन अनि स्वच्छ भावना गाउँमा । तर सहरको त्यो क्रुरताले मानिसको हृदय नै कठोर बनिसकेको हुन्छ ।

कुनै दिन आर्थिक अभावका कारण काका सहर हेलिनुभयो । तर सहरमा पनि सोचेजस्तो जिन्दगी कहाँ जिउन पाउनुभएको छ र काकाले । छोराछोरीको अध्ययनको सुविधाले गर्दा गाउँ छोड्नुभएको काकाले अहिले पनि यति व्यस्त जीवन जिउन बाध्य हुनुहुन्छ, एक कल फोन उठाउने फुर्सद पनि सायद मुस्किलले मात्र । काकाजस्ता हजारौं मनिस आज गाउँ छोडेर सहरीया बनेका छन् । त्यसैले त आज गाउँ बिरानो भएको छ ।

विगतलाई हेर्ने हो भने गाउँको वातावरण त्यति सहज थिएन । माओवादी द्वन्द्व चर्किएको थियो । गाउँमा दुईतर्फका सेनाले सताउँथ्यो । सरकारी सेना र प्रहरी अनि माओवादीका अर्धसैनिक बलले सधैं नै सर्वसाधारण जनतालाई हेयको दृष्टिकोणबाट हेर्ने गर्थे । स्वतन्त्र रूपमा बाटोमा हिँड्न पनि पाइँदैनथ्यो । सधैं शंकाको घेरामा जीवन जिउन बाध्य काकाजस्ता हजारौं योद्धा सहर र विदेश हेलिएका छन् । त्यसैले त आज गाउँ रित्तिन लागेको छ । जहाँ बसेर सधैं आर्थिक चरम अभाव तथा खेतीपातीमा मात्र जीवन धान्न बाध्य हुन्छ भने मानिसले अवश्य पनि विकल्प खोजेका हुन्छन् । हो, त्यसैको उपज हुन् काका पनि ।

यस्तै, बाध्यताको भुमरीमा फँसेर काकाले गाउँ छोड्नुभयो । आज अवसरको खोजीमा मानिसले गाउँ छोड्न बाध्य भएका छन् । नजिकैका दुई छिमेकी भारत र चीनका गाउँहरू आज नेपालका जस्ता छैनन् । उनीहरूको त गाउँमा बस्ने वातावरण छ । किनकि गाउँका फाँटहरूमा लगाइएको खेतीबालीको जिम्मा स्थानीय सरकारले लिन्छ र किसानले उब्जाएको खेतीबाली खेर जाँदैन, साथै, उचित मूल्य पनि पाउँछन् । किसानी कामबाट मनग्य आम्दानी हुन्छ । र पो गाउँ छोड्न मान्दैनन् त्यहाँका मानिसहरू । तर नेपालमा भने प्रजातन्त्र आएदेखि नै प्रायः सरकारको आयु एक वर्षभन्दा माथि गएको दृष्टान्त छैन । जहाँ राजनीतिक अस्थिरता हुन्छ, त्यहाँ सामाजिक सद्भाव खल्बलिन्छ र आर्थिक अभावका कारण मानिस सहर र विदेश पलायन हुन बाध्य हुन्छन् । त्यसैको उदाहरण काका पनि हुन् । जो वर्षौंदेखि घर छोडेर सहरिया भएका छन् तर गाउँलाई अझै पनि सम्झिन सकेका छैनन् ।

यति मात्र होइन कि जब चाडबाड आउँछ तब गाउँले परिवेशले लोभ्याउँछ । तिजको रौनक, दसैंमा टीका थाप्ने परम्परा, तिहारको भाइटीका, १५ पुसमा खाइने परिकार, माघे संक्रान्तिमा खाइने तिल र चाकुको स्वाद, होलीमा खेल्ने रंगको रौनक आदि चाडबाडले गाउँले परिवेशमा लोभ्याएको हुन्छ । गाउँका मानिसमा आत्मीयताको भावना हुन्छ । सहरको जस्तो बन्द कोठामा सीमित हुँदैनन् । त्यसैले त गाउँघरमा मनाउने चाडबाड सम्झेर काकाको पनि सम्झना आउँछ र भन्न मन लाग्छ, ‘काका कहिले फर्किने गाउँ ?’

अब त गाउँघरमा पनि नयाँनयाँ प्रविधिले छोएको छ । हर्के र कुञ्जना पनि नयाँ डिजिटल प्रविधिको प्रयोग गरेर मोबाइलबाट नै व्यापार गर्न सक्षम भएका छन् । इन्टरनेटको भरमग्दुर प्रयोग गरिएको छ गाउँमा । गाउँ पनि अब सहरभन्दा कम छैन । गाउँहरू अब प्रायः सुखसुविधा सम्पन्न भइसकेका छन् तर मानवबस्ती पातालिएर उजाड र सुनसान देखिन्छन् । जसरी अब्राहम लिंकनले भनेका छन्, ‘जीवन भनेको मृत्यु नआएसम्मको अवसर हो र मृत्यु भनेको त्यस अवसरको पूर्णता हो ।’ वास्तवमा जीवन भनेको सहरको भीडभाडमा उकुसमुकुस हुनुभन्दा गाउँको स्वच्छ वातावरणमा रमाउन सिक्नु हो । हरेक दिन सुख र शान्तिसँग बाँच्न सिक्नु नै जीवनको कर्म हो । एउटा सत्य मृत्यु हो र त्यो जीवनमा एकपटक मात्र आउँछ, तर हरेकपटक प्राप्त गरेर पनि हामीले त्यसलाई बेवास्ता गर्छाैं त्यो अवसर हो ।

त्यसैले हरेक मानिसले खोजेको अवसर सहर र विदेशमा मात्र सीमित छैन । त्यो अवसर आज गाउँमा पनि पुगेको छ र त्यसलाई कसरी प्रयोगमा ल्याउने भन्ने प्रविधि पत्ता लगाउन मात्र बाँकी हो । आज मानिसहरू ३०औं वर्ष अमेरिका बसेर फर्किएका छन् । अनि कयौं दशक सहरको रमझम भनेर बसेका मानिसहरू पनि गाउँ फर्किने तरखरमा छन् । धेरै मानिसहरूले गाउँमा अनेक व्यापार व्यवसाय सञ्चालन गरेर प्रशस्त आम्दानी गरेका छन् । विदेशबाट सिप सिकेर स्वदेश फर्किएपछि गाउँमा साना उद्योग खोलेर रोजगारी सिर्जना गरिरहेका छन् कयौं युवाले । त्यसैले काका सहरीया मात्र नबनी गाउँको विकासको लागि तपाईं कहिले गाउँ फर्किने ? यो प्रश्नले सधैं मनमा कौतुहलता छाइरहेकोले जिज्ञासा राखेको हुँ । आशा छ, काका गाउँ फर्केर एकोहोरो टोलाइरहेको त्यो पारीको एकान्तमा रहेको घरलाई जीवन्तता दिनुहुनेछ र काका फर्किनुभएपछि अन्य गाउँप्रेमी युवा पनि पलायन हुनेछैनन् र गाउँको विकासका लागि अवश्य टेवा पुग्नेछ । यही आशा बोक्दै फेरि पनि प्रश्न सोध्छु, ‘काका कहिले फकिने गाउँ ?’

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise